सुगम गौतम
सुरुमा त पत्याउँदै पत्याएनन्। पत्याऊ न पनि कसरी? २२ बर्से युवकले किताब लेख्छ भनेर झट्टै पत्याउन गाह्रो हुने रहेछ। अझ नेपाली युवकले अंग्रेजीमा पुस्तक लेख्नु झन् पत्यारलाग्दो भएन मान्छेलाई।
किताब लेख्ने बेलादेखि छापिने बेलासम्म खेपेको असंख्य कष्ट शब्दमा उतार्न सक्दिन होला।
अझ भनूँ, त्यतिको कवि–लेखक भैसकेको छैन। मानिसहरूमाझ किताब पुगिसकेपछि मैल खेपेका आलोचनाको पनि एउटा छुट्टै कथा छ। अहो कथाभित्र पनि कथा।
मेरो उपन्यास ‘लोफर’ ले मलाई चिनाउनका साथसाथै थुप्रैका लागि एउटा प्रेरणादायक पुस्तक बन्न पुग्यो।
‘यस्तो बेकार पनि पुस्तक हुन्छ। त्यस्तो पनि लेखक हुन्छ।’ यी कुराहरू पनि नसुनेको होइन। किन लेखिन्छ, भनिन्छ जिन्दगी यात्रा हो। जिन्दगी ससाना खोलाहरू मिसिएर बनेको अविरल नदी हो। जिन्दगी अनभुवहरूको सँगालो हो। जिन्दगी चार माना खरानी हो।
जिन्दगीप्रतिको बुझाइ मानिसअनुसार फरक हुन्छ। जसले जे बुझ्यो त्यही हो जिन्दगी। यो मेरो बुझाइ! जिन्दगी एउटा भोगाइ हो।
हो,जिन्दगीमा सही–गलत मापन गर्नुपर्छ। हरेक गल्तीलाई अनुभव मानेर अगाडि बढ्नुपर्छ। हरेक गलत भोगाइलाई पनि जिन्दगीको सकारात्मक पक्ष सम्झेर अघि बढ्ने मेरो एउटा राम्रो बानी। कतिका लागि यहीँ बानी गलत लाग्न सक्छ। सबै आफ्नो बुझाइमा भर पर्ने रहेछ। जब लाग्छ, आफ्नो बुझाइले समाज र समाजका एकदुई जना मान्छेको जीवन रूपान्तरण गर्न सक्छ, तब चल्छन् कलमहरू। म स्वभावले कम बोल्ने अनि हरेक वस्तु, घटना, मान्छेलाई नियाल्न चाख राख्ने मान्छे।
पछिल्ला केही वर्ष मैले रिसर्चमा समय खर्चिएँ। मौनताले धेरै कुरा सिकाउँछ भन्छन्। त्यो कुरा मैले पनि अनुभव गर्न पाएको छु। मेरो बुझाइका केही भाग कागजका पानामा छरेर एकदुई जनाको जीवनमा सकारात्मक परिवर्तन गर्न सकें भने आफूले गर्व गर्ने ठाउँ पाउनेछु। आफ्नो जीवन सार्थक भएको ठान्नेछु।
कुनै पनि कुरा ग्रहण गर्न जति मजा आउँछ, त्यत्ति उपहार दिन त्योभन्दा बढी मजा र सन्तोष मिल्छ।
प्रेरणा एउटा लेखकले दिन सक्ने सबभन्दा ठूलो उपहार हो। किन अंग्रेजीमा, नेपालीमा लेखेको भए हुन्थ्यो भन्ने सयौंको सुझाव पाएको थिएँ। नेपालीभन्दा अंग्रेजी भाषामा पोख्त भएकाले मैल अंग्रेजी भाषामा लेख्ने निर्णय गरेको थिएँ। तर, अहिले अंग्रेजी विश्वव्यापी भाषा भएकाले र यो किताब चारैतिर फैलिन पाउने भएकाले मैले अंग्रेजीमा लेखेर राम्रो गरेको रहेछु भन्ने लागेको छ।
नेपाली पाठकलाई ध्यान दिँदै लेखिएको हुनाले सरल भाषा शैली प्रयोग गरेको छु। सामान्य अंग्रेजी पढ्न सक्नेले पनि यो पुस्तक सजिलै बुझ्न सक्छन्। आफ्नो अंग्रेजी मजबुत बनाउन चाहने पाठकहरूका लागि त ‘लोफर’ वरदान नै हुनसक्छ। नेपालमा अंग्रेजी पठन सस्ंकृतिको उत्थानमा पनि यो पुस्तकले एउटा छुट्टै आयाम सिर्जना गरेको छ। अझै गर्नेछ। यो कुरामा म ढुक्क छु।
के छ लोफरमा? ‘लोफर’ नामले नै कथाको विषयवस्तु के होला भन्ने आकलन गर्न सकिन्छ। एउटा ब्याचलर पढ्ने युवाले आफ्नो जिन्दगीमा गरेका गल्तीहरूलाई रोचक ढंगमा प्रस्तुत गर्ने कोसिस गरेको छु।
सानैमा बाबुआमा गुमाएको र दाजुदिदीको राम्रो हेरचाह नपाएको कारण उसले गल्तीमाथि गल्ती गर्दै गएको कुरा देखाइएको छ।
यसमा आजकलका युवा मुख्य काम पन्छाएर कसरी रक्सीको मातमा डुब्छन्,त्यो कुरालाई जोडेको छु।
साथसाथै युवा अवस्थामा विपरीत लिंगीप्रतिको आकर्षणले कार्य क्षेत्रमा हुने बाधालाई पनि जोड्ने प्रयास गरेको छु। भनिन्छ, ‘हरेक मान्छे र हरेक घटनाका सकारात्मक र नकारात्मक दुई पक्ष हुन्छन्।’
किताबको मुख्य पात्र श्यामको चरित्रमा पनि दुई पक्ष लुकेको पाइन्छ। एउटा कार्य क्षेत्रबाट ठक्कर खाए पनि अर्कोचोटि नयाँ जोस र उमंगसाथ ऊ मदौनमा उत्रिन्छ।
यो त लेखकको विचार भयो। पाठक अनुसार उनीहरूका बुझाइ फरक हुन्छन। कुनै पाठकले लेखकले भन्दा बढी अर्थ निकाल्न सक्छन् भने कुनै पाठक चौथोबाट पाँचौ पेज पल्टाउन असमर्थ रहन्छन्। कतै सुनेको थिएँ, ‘हरेक व्यक्तिले आफ्नो जिन्दगीमा एउटा न एउटा पुस्तक लेख्न सक्ने क्षमता राख्छ। तर,यसका लागि पहिले आफू पाठक हुनुपर्छ।
धेरैभन्दा धेरै पुस्तक पढिसकेपछि मात्र पुस्तक लेख्ने ज्ञान र शैली हासिल गर्न सकिन्छ। पछिल्लो समयमा नेपालमा पठन सस्ंकृतिको विकास भएको देख्दा हर्षित छु। पुस्तक पसलहरू बढ्दै गएको देखिन्छ।
पुस्तक पढ्नुका सयौं फाइदा छन्। कसैले मनोरञ्जन र कसैले व्यक्तित्व विकासका लागि पढ्ने गर्छन। पुस्तकहरू पढिसकेपछि कुनै पनि घटनालाई चौतर्फी ढंगमा सोच्ने बानीको विकास हुन्छ। दुनियाँका ठूलाठूला राजनेताहरूदेखि लिएर व्यापारीहरू दिनहुँ पुस्तक पढ्छन। अंग्रेजीमा पनि एउटा भनाइ छ, ‘द रिडर्स आर द लिडर्स्।’
त्यसैले हामी पढ्ने बानी बसालौं। पढौं, मजाले पढौं। दोस्रो कृति छिट्टै निकाल्ने कुरा अवगत गराउदै यहाँहरूलाई पढ्ने बानी बसाल्न प्रोत्साहित गराउन चाहन्छु।
प्रकाशित: २४ मंसिर २०७८ ०६:०९ शुक्रबार