कला

के खाजा?

लघुकथा

निरज कोइराला

–ओई, किशोर तिमीहरू के खाएर पाक्कलपुक्कल भएका हौ? मेरो म्याक्सम त कहिल्यै मोटाउँदैन त। तिमीभन्दा छ महिना जेठो हो म्याक्सन। कति ख्याउटे छ ऊ।’ रम्भाको छोराको शरीर देखेर छक्क पर्दै बोलिन् उर्वशी।

एकछिन घोरिएर बिस्तारै बोल्यो किशोर,‘हजुरले म्याक्सनलाई केके खाजा दिनुहुन्छ?’

‘खाजाको के कुरा गरेको! म दिनको सय रुपैयाँ दिन्छु। चाउचाउ, चिप्स, ललीपप, मम, चाउमिन, पास्ता। यसले जति खाएको छ नि त्यति त तिमीले देखेका छैनौ होला।’ झनक्क झर्किइन् उर्वशी।

–ठीक भन्नुभयो। मलाई बाआमाले दिनको बीस रुपैयाँ पनि दिनु हुन्न। हजुर नरिसाई हेर्नुहोस् न मेरो नास्ता तालिका। किशोरले भन्यो।

अलिक शान्त हुँदै उर्वशीले तालिका मागेर पढिन्।

तालिका

–पाँच बजे उठेर बिहान ६ बजे रातो चिया र दुई टुक्रा मात्रै पाउरोटी सधैं।

–नौ बजे बिहान दालभात र तरकारी सधैं। तरकारीमा साग अनिवार्य।

–सधैं बेलुकी सुक्खा रोटी, तरकारी र दूध अनिवार्य।

दिउँसो

आइतबार–जाउली

सोमबार–चाम्रे, गुन्दुकको अचार

मंगलबार–पुरी, तरकारी

बुधबार–समोसा, तरकारी

बिहीबार– भुजा तरकारी

शुक्रबार–फलफूल

शनिबार–खिर र ढिँडो आलोपालो

सुत्ने समय बेलुकी नौ बजे अनिवार्य

पढिसकेर भनिन्, ‘बाबु, मलाई माफ गर। बजारे खानाले छोराछोरी बलियो बनाउन खोज्ने कस्ती ग्वाङ्ग्री?’

प्रकाशित: २३ मंसिर २०७८ ०६:११ बिहीबार

अक्षर