कला

पानीका बुँदहरू

कविता

कृष्णबहादुर बुढाथोकी

 

पानीका अनेकन बुँदहरू बर्सिरहेछन्

माथि आकाशबाट धरतीतिर

झरझर, रिमिझम लगातार, पोखिरहेछन्

उन्मत्त बादलले घुम्टामा लुटुक्क सुताइएका

पानीका बुँदहरूलाई खटाएर, ठटाएर

अलिकति माया गरेर हुत्याइदिन्छ तलतिर।

बादलको खटनपटनमा बतासिन्छन् बुँदहरू

बर्सिन्छन् , पछारिन्छन् र बेपर्वाह बग्छन्

गन्तव्यहीन, लक्ष्यहीन बुँदहरू

असरल्ल छरिन्छन्, थोपा बनेर।

कति बुँदहरू हावाको लपेटाइमा लतपतिन्छन्

वायुमण्डलमा बिलाउँछन्, हराउँछन्

कुनै पत्थरको पाषणतामा पछारिदै

छिटामा परिणत हुन्छन् 

सूर्य किरणको सुमसुम्याइमा सुक्छन्

अस्तित्वहीन, शून्यतामा।

अनगिन्ती बुँदहरू पखेरुमा पँजिन्छन्

खोल्सीहरूमा भँजिन्छन्

अविरल बग्दै जादा किनारहरूमा फिँजिन्छन्

लहरमा लहरिएर छहराहरूमा छर्छरिदै

घुम्तीहरूमा फन्को मार्दै

सागरसित सान्निद्य गर्न, चरण धुली पखाल्न

हामफाल्छन्

निरूद्देश्य, निरीह पानीका बुँदहरू।

बटारिदै, हतारिदै  

ठेल्दै, धकेल्दै र दगुर्ने बुँदहरू 

गन्तव्य नपुग्दै घाघीमा अल्मलिन्छन्

विष्टामा मुछिन्छन्,हिलोमा हेलिएर

बालुवाको बगरमा विलय हुन्छन्

सागरको शरण नपाई बेहाल

पानीका बुँदहरू।

गन्धहीन, रङ्गहीन

निराकार पानीका बुँदहरू

अन्ततः

शून्य सगरमा बाफ भएर हराउँछन्

बतासको वेगमा रुमलिएर

अन्तिरक्षमा बेखबर हुन्छन्।

सागर चुम्ने, धरती धस्काउने

सगरलाई सागरमा मिलाउने,

अहं साँचेर, हामफालेका बुदहरू

गन्तव्यहीन मार्गमा विलीन हुन्छन्

धरतीको काखमा हराउँछन्

न सागरमा पुग्छन् न सगरमा फर्किन्छन्

असंख्य बुँदहरू गुमनाम हुन्छन्

अस्मान धर्ती छुन नपाई  

सगर सागर भेट्न नपाई पानीका बुँदहरू।

सागर छुने सपना हिले आहालमा सीमित हुन्छ

सफेद निल सागरमा ह्वेल खेलाउने कल्पना

हिलाम्मे भैंसी र सुँगुर नुहाएर चित्त बुझाउनुपर्छ

धर्ती सफेद बनाउन कसिएका बुँदहरू

स्वयं दुर्गन्धित फोहोरको चाङ हुन्छन्

अन्ततः ‘चुचे ढुङ्गो उहीँ टुङ्गो’ हिले आहाल भएर

सकिन्छन् निर्देशित बुँदहरू

अपमानित भएर

स्खलित भएर

सुकेर, झुकेर

शून्यतामा विलीन हुन्छन्  

घोर अपमानको पात्र बनेर।

प्रकाशित: २३ मंसिर २०७८ ०५:४८ बिहीबार

अक्षर