कला

इटहरीमा तीन दिने ‘साधना सङ्गीत उत्सव’

सङ्गीतको अध्ययन–अध्यापन, अनुसन्धान र अन्वेषणको काम गर्ने उद्देश्य राखेर स्थापना गरिएको सङ्गीत साधना प्रतिष्ठान नेपाल इटहरीले तीन दिने ‘साधना सङ्गीत उत्सव’ गर्ने भएको छ।

प्रतिष्ठानको २८ औं वार्षिक उत्सवको अवसरमा मङ्सिर २१, २२ र २३ गते साधना सङ्गीत उत्सव गर्न लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। कार्यक्रमको पहिलो दिन मङ्सिर २१ गते दिनको ११ बजेदेखि विद्यालय तथा कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुका निम्ति अन्नपूर्ण च्याम्बर वाद्यवादन प्रस्तुत गर्ने कार्यक्रम छ। सो क्रममा नारायणगोपाल सङ्गीत कोष काठमाडौंका ३५ जना वाद्यवादक सङ्गीतकर्मीहरूबाट अर्केस्ट्रा प्रस्तुति गरिने प्रतिष्ठानका महासचिव राजु केसीले बताए। ‘यस अवसरमा गीतका धुनमात्र बजाइनेछ,’ उनले भने, ‘विद्यार्थीलाई म्यूजिक र शिक्षाको महत्वबारे जानकारी लिन धुनमात्र प्रस्तुत गरिनेछ।’

कार्यक्रमको दोस्रो दिन मङ्सिर २२ गते बिहान ११ बजे देखि १ बजेसम्म साहित्य उत्सव आयोजना गरिनेछ। यस अवसरमा नाम चलेका श्रष्टाले कविता वाचन गर्नेछन्। सोही दिन ४ः३० बजे देखि ७ः३० बजे सम्म सङ्गीतकर्मी, साहित्यकर्मी, विशिष्ट व्यक्तित्वको उपस्थितिमा साङ्गितीक कार्यक्रम प्रस्तुत गरिनेछ।

कार्यक्रमअन्तर्गत तेस्रो दिन मङ्सिर २३ अपरान्ह ४ः३० देखि ८ बजेसम्म नारायण गोपाल साङ्गीतिक साँझको आयोजना गरिने भएको छ। स्वर सम्राट नारायणगोपालको ३१ औँ पुण्य तिथिको उपलक्ष्यमा साङ्गितिक साँझ गर्न लागिएको हो।

यस क्रममा नाम चलेका गायकगायिका यम बराल, भीषण मुकारुङ, राज सागर, जिना रसाइलीलगायतको प्रस्तुति रहनेछ। कार्यक्रम गर्न कूल १६ लाख हाराहारी खर्च हुनेछ। खर्च स्थानीय दाताबाटै संकलन गरिने आयोजक संस्थाले जनायो।

प्रकाशित: १९ मंसिर २०७८ १२:५७ आइतबार

प्रतिष्ठान नारायणगोपाल