कला

सोचेजस्तो होइन जीवन

नियात्रा

डा. दामोदर पुडासैनी ‘किशोर’

आकस्मिकताहरू नियमित चलुञ्जेल रहिरहँदो रहेछ जिन्दगी। सामना गर्न सकुञ्जेल आकस्मिकताहरूको, उर्वर बनिरहँदोरहेछ जिन्दगी।

हुम्ला, तिमीलाई भेटेर फर्केपछि अलि फरक बनेको छु। फरक सोचाइमा परिरहेछ। फरक व्यवहारमा परिरहेछ। एउटा भेटले परिवर्तन ल्याउनसक्छ धेरै कुराहरू। तिमीलाई पाउने उत्कण्ठाको प्यास मेटेपछि कयौं प्रश्नहरू तरबर्र उम्रिरहेछन् मेरा बाटाहरूमा।

प्रकृतिबाट प्रकृति चलेको हेर्न चाहन्थें म। कृतिबाट प्रकृति नमासेको हेर्न चाहन्थे म। तिम्रो माया हिउँजस्तै सेतो होस्, विनादाग र विनास्वार्थको। मान्छेहरू मान्छेजस्तै होऊन्। जीव र वनस्पतिहरू जस्तो हुनुपर्ने त्यस्तै होऊन्। हावा, पानी, माटो, घाम, आगो, आकाश सबैसबै स्वरूपमै होऊन्। अरूअरू त बिटुलिसके सबैैतिर। तिमी भने निक्खार तिमी मात्र भेटुँ — यही अभिप्राय थियो तिमीतिर अघि बढ्दा।

सोझी तर साङ्लामा बाँधिइरहेकी भेटें मैले तिमीलाई। एक्ली तर युगौंयुगदेखिका लेउले ढाकिइरहेकी भेटें मैले तिमीलाई। भोकको ज्वालाले बेसरी रन्थनेकी रहिछौ तिमी। तर, जात र भातका, उच र निचका, रङ र ठाउँका, धर्म र जन्मका झ्याउ र घुसनघासनले अल्झाइरहेका रहेछन् बेसरी, ज्ञानको बिउ छर्नुको सट्टा, विज्ञानको रङ कोर्नुको सट्टा किन तिमीलाई रूढ र रङहीन बनाए समयमा उभिएका सिलिङमिलिङहरूले आफ्नै स्वार्थका भकारी भर्न कुकल्पनाका बिउ छर्नेहरूले किन ठाडो पारिरहे टाउको-म बेसरी भाउन्डिएँ तिम्रो स्पर्शमा।

समय अघि पनि थियो पछि पनि रहनेछ। समयका सारथिहरूले कुविचारको बिस्कुन सुकाइरहे भने कति नराम्ररी अल्झन्छन् वस्तु र बिउँझाइ, तिमीलाई भेटेपछि बुझ्दै छु म।

तिम्रा अंगअंगमा अन्धविश्वास थोपरिदिए केही मान्छेले, तिमीसम्म पुग्नै छोडेर टाढैबाट कहालीलाग्दो र दुर्गम संज्ञा भिराइदिए परत्रका स्वघोषित ठालूहरूले। निस्सङ्गको, आरोप लगाए। निस्पन्दको पगरी भिराए। निस्याइलो र निस्सारको कथा बुनिदिए तिमीमाथि। मोति झिक्ने प्रयास नै नगरी अस्मेल समुद्रको आंकलन गरिदिनु कत्रो न्याय? सम्भावनाका खानी खनिजको खोज नै नगरी अजंग पहाडको डङ्का फिँजाइदिनु कस्तो बिसिद्धिपन। तिम्रो नीलाम्बर भेषको स्पर्श पाउँदा उनीहरूप्रति थाम्नै नसक्ने टीठ पलाइरहेछ ममा।

‘सोचेजस्तो हुन्न जीवन

सम्झेजस्तो हुन्न जीवन

जस्तो भोग्यो उस्तै हुन्छ

देखेजस्तो हुन्न जीवन’ 

बिहान हुमाने खोलाको झरनासँग तरगिंत भइरहेको बेला तारादेवीको आवाजले झरनालाई बोल्न बाध्य पारिरहेथ्यो। जीवन सोचेजस्तो पनि होइन, सम्झेजस्तो पनि होइन र देखेजस्तो पनि होइन बरु भोगेजस्तो पो हो भन्ने निष्कर्ष थियो गीतको तर भोगेर पनि कहाँ ठम्याउन सकिंदो रहेछ र जीवनलाई। तिमी नभेटुञ्जेल बेग्लै अड्कलमा चिन्न खोजेंथें मैले। भेटेपछि चिन्नुको खुलदुली चढिरहेछ। रूप, रङ, लहर, गति स्पर्श, अनुभूति जेजेको माध्यमबाट खुट्याउन खोजें तिमीलाई, तिमीलाई चिन्न अझ धेरै बाँकी हुँदोरहेछ।

मान्छेको जिन्दगी जति मूर्त हुँदोरहेछ, त्योभन्दा बढी अमूर्त हुँदोरहेछ। मूर्त र अमूर्तको दोसाँधमा तिमीलाई नियाल्ने मेरो अभियान जारी छ। जिन्दगीको मजा जिन्दगी भेट्नेलाई मात्र थाहा हुन्छ भन्ने तथ्य तिम्रो काखमा जिन्दगीका न्याना र कठ्याङ्ग्रिदा अनुभूति भेटेपछि मात्र बुझ्दैछु म।

रसायन र रागले फतक्क गलेको शरीरलाई आयातित वस्त्रले ढपक्क ढाक्छ मेरो प्रदेश। पीर नै पीरको तापले मरिचझैं चाउरिएको अनुहारमा नानाथरीका लोसनले टल्काउँछ मेरो प्रदेश। तिम्रो आङमा कपडा होइन कपडाका नाममा जीर्णताको प्रदर्शन छ, पेटमा अन्न होइन, अन्न नामको नमूना यदाकदा ओर्लिरहेछ। तैपनि, निखार हिमाल र तिम्रो शरीर दर्शन उस्तैउस्तै लाग्दैछ, तिम्रो मुस्कानको सामु लज्जाउँदै छन् घाम र जूनहरू। सुखी नै खुशी होइन रहेछ, आफ्नै धरातलमा ‘आफू’ भएर बाँच्न पाउनुजस्तो खुशी अरू केही रहेनछ।

मैले सोचेथें–अप्ठ्यारो, पीडा र अन्योलको अर्को नाम हो जिन्दगी। तिमीलाई भेटेपछि लाग्यो– सरलसँग बाँच्न खोज्ने हो भने जिन्दगी जत्तिको आनन्दी अरू केही छैन।

‘म तिमीलाई मेरो दिमागबाट बाहिरिन दिन्न’  भन्ने गीतमा धेरैपटक उफ्रिएको देखे मैले काइली मिनोगलाई। ‘प्रेमका लागि मरिरहत्ते गर्छु’  भनेर सम्पूर्ण शरीर कम्पायनमान् बनाइरहेकी वियोन्सेको अनुहारलाई कैयौ पटक नियालें मैले। गीतार र ड्रमसेटका तामझाममा कयौं रात चिच्याइरहेका छन् पश्चिमतिर पिङ्क ल्फोइड ब्याण्डका हस्तीहरू। ब्लुज, पप, रक, रक एण्ड रोल, हिप हपले डङ्का पिंmजाइरहेछन् यतिखेर संसारभरि। तिमी एक्लै देउडा गाइरहिछ्यौ, देउडा नाचिरहिछ्यौ। जिन्दगीका अनेकौ पाटाहरू, भीरहरू, काला बादलहरू, कञ्चन झरनाहरू समवेत स्वर बनेर उठेका छन् देउडामा। जीवन स्वप्निल, सम्मोहक र स्पृहा बनेर उभिएको छ तिम्रो देउडा र नृत्यमा तर हल्लाखोरबाट टाढै रहनु केही नहुनु हो भनिरहेछ परतिरको संसार। च्यानल सर्फिङको चक्करभित्र नघुस्नेहरूलाई केही हुनुको गणनाभित्र नपार्न लागिपरिरहेछन् एकथरी।

हिउँ नै हिउँको हुससुस्साइभित्र बैंस हल्काइरहेकी भेटें मैले एकदिन मस्कोलाई। हिउँकै हंगामाभित्र तातो जिन्दगी जुर्मुराइरहेकी भेटें मैले एक रात जर्मनीका बर्लिन र म्यूनिखका मनहरूलाई। हिमवर्षाकै कपासे तरभित्र छमछम नाचेझैं साँझबिहान केही नभनी टोकियो, ओशाका, साइतामा र नारिताका कुनाकुनामा तातो स्पर्श दिँदै हिंडिरहे मसँग युकी, मोचिदा र सचिको सुनेकावाहरू। हिउँले ढाकिएको घरभित्र मुसुमुसु मुस्काइरहेकी भेटेंथें एक मध्यान्हमा मोनालिसालाई।

‘तिनीहरू जस्तै त होउली तिमी पनि’-सोचेथें मैले। तिमी त नीलो हावाको कोरस धूनमा कम्मर मर्काइरहेकी रहिछ्यौ। चकमन्नता रहेछ तिम्रो वरिपरि तर एकनासले बजिरहँदो रहेछ नूपुरध्वनि।

आकृतिबिना मार्चपास गरिरहँदो रहेछ हावाले। हावाकै उन्मत्तता छोप्न खुर्मुरिदो रहेछ हिउँ र हिउँकै भँड्खालाहरूबाट छिर्दो रहेछ ज्वालामुखी बोकेको घाम। खन्दै भत्किदै, भत्किदै खन्दै गरिएका गोरेटाहरू हिमवर्षाले पुरिएको बेला चौंरी, भेडा र मान्छेहरूको पदचापले चुरुमचुरुम गर्दा विटल्सका गीतहरू र मोत्सार्टका संगीतहरू पनि फिकाफिका लाग्दा रहेछन्। बारी, वन, विरुवा, भीर, नदी, घर, चरन, उकालो, ओरालो जतासुकै हिउँको श्वेतरंगले शोभित बनाउँदो रहेछ जिन्दगीलाई र बिस्तारै शान्त पार्दोरहेछ भोक, शोक र रोगलाई। चिसोभित्र तातो बचाइरहनु र तातोभित्र चिसो सँगालिरहनुमा सार्थकता रहँदो रहेछ जिन्दगीको।

हिउँ हर्ष हो रहेछ। हिउँ घाउ, दुर्घटना र असमञ्जस पनि हो रहेछ तर धेरैबेर टिकिरहँदोरहेनछ हिमपीडा। हिउँले उधुम मच्चाएकोे बेला टाक्सिंदो रहेछ गति। हिउँसँगै पौठेजोरी खोज्दै घाम छिरेपछि फेरि पलाउन थाल्दोरहेछ जिन्दगीको ज्योति। हिउँबाट नै गति र ज्योति निकाल्न सक्नेहरू मात्र बाँच्न सक्तारहेछन् सूर्यमूखी जिन्दगी।

धेरै मान्छे आराक, निगार र झिङ्गिन टिको मातमा जिन्दगीलाई गिजोलिरहेछन्। मैले घोडमच्चा चियाको सुर्कीसँगै घरिघरि भेटिरहेछु नवीन तरंग। इन्द्रेनी हावामा जाग्रत बनोस् गति यही अभियानमा छु म तिम्रो संसर्गमा।

लोलाउन बाध्य छु म तिम्रा स्पन्दनहरूमा। हिमकणयुक्त हावाको गतिमा आवेग मिसाइरहेछु मैले।

तिम्रा ओठ, आँखा र निधारको स्पर्शमा फराकफराक बन्दैछ क्षितिजको परिधि। हिउँ, आँधी, हुरी, भोक सबैैलाई सहज लिने मान्छेहरूसँग सम्पृक्त हुँदा छुरो अन्धकारमा पनि हाँसिरहेका हिमालहरुभैंm पाउँछु म आपूmलाई।

जे हो भन्यो त्यो मात्र होइन जीवन। जे होइन भन्यो त्यो मात्र पनि होइन रहेछ जीवन-त्यो तिमीसँगको चुम्बनपछि बुझेको मैले। अरूले बनाएका दर्शनले केही त सघाउँछन् पाइलाहरूलाई। जिन्दगी हरेकको आआफ्नै ढंगको हुन्छ। त्यसैले हरेकले छुट्टै जीवन दर्शन नबनाई सुखै छैन। आफ्नै जीवन आफ्नै दर्शन हुन्छ भने अरूभन्दा ठूलो सानको के अर्थ ? अरूभन्दा नजिक टाढाको के अर्थ?

खोजेजस्तो होइन जीवन। भेटेजस्तो होइन जीवन।

संसार डरले काँपिरहेछ। डरहरू कर्णालीसँगै बगाएपछि बढ्ने नै भयो आत्मसन्तोषको उज्यालो। तिमीमा भोक छ, रोग छ, अभाव छ भनिरहेछौ हामी, तिमी तिनीहरूसँग नडराउँदै ठमठमती अघि बढिरहेछौ। अब्राहम मास्लोको आवश्यकतासम्बन्धी सिद्धान्ले मात्र घेरामा पार्न  सक्दैन तिम्रा आवश्यकताहरूलाई। तिम्रा आवश्यकता र पूर्तिका सिद्धान्तहरू तिमीले नै बनाउन जरुरी भैसक्यो। अरूले बनाएर हुन सक्तैन केही।

थोमस माल्थसले जनसंख्या ज्यामितीय र खाद्यान्न अंकगणितीय ढंगमा बढ्छ। त्यसैले जनसंख्या वृद्धिमा पर्खाल लगाइहाल्न सुझाव दिए झण्डै अढाई सय वर्षअघि। तिम्रा अंगअंगमा पुटुपुटु पोटाइरहेका पर्यटनका सम्भावना, जडीबुटीका सम्भावना र जलराशिको सम्भावनालाई सल्बलाउन दिने हो भने असफल हुन्छ माल्थसको कहावत। बरु झिकाउनुपर्छ असंख्य जनराशि दूरदराजका प्रदेशहरूबाट।

तिमी मेरी प्रेयशी हौ हुम्ला। जिन्दगीमा चरम तृप्ति कहिल्यै हुनु हुँदैन, चरम तृप्तिको लक्ष्यमा अघि बढिरहनु मात्र पर्छ भन्छु म। जिन्दगीका डरहरूबाट मुक्ति पाउने अभिप्रायले धर्म, वाद र रीति निर्माण गरिरहेछ मान्छेले। तिनै धर्म, वाद र रीति भयङ्कर बनेर माखेसाङ्लोमा पारिरहेछन् समाजलाई।

साम्यवाद, समाजवाद, धर्म, ईश्वर सबै मान्छेलाई सुगम बाटोमा हिंडाउन उभिएको दावी गर्दछन् तर ती सबैबाट भयभित छन् मान्छेहरू। मान्छे नडराउन प्रकृतिको काखमा केवल मान्छे बनेर बाँच्न र बढ्न पाउनुपर्छ मान्छेले। केन्द्र भत्किएको, हाइरार्की तोडिएको र सबै घटना घट्दा विनिर्माण हुने ज्याक डेरिडाका घोषणा होस् वा ईश्वर मरिसकेको नित्सेको घोषणा होस् अथवा वर्गसंघर्षबिना उपलब्धि हासिल गर्न गाह्रो पर्ने माक्र्सको दर्शन नै किन नहोस् इँटा बनाउने साँचोमा माटो राखेझैं ठ्याक्कै मिल्न सक्तैन तिमीलाई। त्यसैले तिमीले नै जन्माउनुपर्छ आफ्नै गर्भबाट नयाँ गान्धी, माक्र्स, बुद्ध, थोमस हब्स, थोमस ब्राउन, आइन्सटाइन, जेम्सबौट, लुइस पास्चर, ब्लाइज पास्कल, अल्फ्रेड नोवेल, आर्कमिडिज, ग्यालिलियो र न्यूटनहरू।

तिमीले फाल्न सक्नुपर्छ ईश्वरको नाममा मान्छे नै मान्छेभन्दा ठूलो सानो बनाइरहेको संस्कारलाई। फाल्न सक्नुपर्छ मान्छेले मान्छेलाई नै छुन नहुने, मान्छे मान्छेकै धारा, पँधेरा, घट्ट, ढिकी जाँतो  बाटोघाटोको फरक रीतलाई। सबै मान्छे हृदयदेखि नै चरा र पुतलीजस्तै  फुर्फुराएर कुममा कुम जोडेर हिंड्न पाएको दिन र फूलजस्तै सँगै बसेर मुस्कुराउन सकेको दिन साँच्चै कमनीय सौन्दर्य भरिन्छ तिम्रो अनुहार र मनभरि।

आफैले सम्भालेको र अघि बढाएको जिन्दगी जत्तिको भरिलो अरू केही हुन सक्तैन। तिमी आफ्नै खुट्टामा उभिएको क्षण समयको सुसेलीसँगै जुर्मुराइरहेका पाउनेछु म तिम्रा अंगअंगमा।

नीलो आकाश, नीला पहाडहरू, नीलो नदीहरू, नीला झरना, नीलो कुहिरो, नीला साँझ बिहान र नीला घाम जूनले तिमीभित्र उदे्रक देख्छु म। तिनीहरू उद्यत छन् जिन्दगीको सम्भावनाका नीला मार्गचित्रहरू कोर्नमा।

तिमीलाई बुझ्दै नबुझी तिम्रो बद्ख्वाइँ गर्नेहरुसँग रुष्ट छु म, जसरी जिन्दगीको मर्म नै नबुझी जिन्दगीलाई निस्सारको पोखरीमा धकेल्न खोज्नेहरूप्रति जाइलाग्छ मेरो चेतना। समाजका टाठाबाठा भनौदाहरू स्वघोषित नेताहरू र धमिलो पानीमा माछा मार्न चम्कने कर्मचारीहरूबाट पनि टाढै रहनुपर्छ भन्छु म तिमीलाई। तिम्रै सोझो र सरलपनको फाइदा लिएर तिमीलाई नै सधैं कालकोठरीमा कोच्न उद्यत छन् तिनीहरू। किराका टोकाइहरूबाट बच्न नसके, काँडा, डाँडा र खोंचहरू नाघ्न नसके जिन्दगीको पनि के अर्थ।

जिन्दगीको सबैैभन्दा ठूलो दुर्घटना मृत्यु हो। यो अन्तिम शत्रु पनि हो जिन्दगीको। मृत्यु नहुने हो भने बेकार बन्थ्यो जीवन। मृत्युको सम्पृक्ततामा सुन्दर जीवन खोज्नुपर्छ तिमीले अब। मायामा घृणा पलाउन सक्छ, घृणाबाट माया फैलाउनुपर्छ तिमीले अब। म तिमीबाट झरेका, खसेका र लडेका  मृत्युजन्य अन्वितिहरूबाट पनि जीवनका सुन्दर पानाहरू कोर्ने अभियानमा उचालिइरहेछु।

ओ, मेरी प्रेयसी! ओ मेरी आशाकी स्रोतस्विनी!! तिमीसँगको प्रेममा एउटा मादकता फैलेको छ मेरो मनभरि। तिमीलाई पाउँदा धेरै कुरा पाएको ठान्दैछु म। तिमीलाई पाएपछि मलाई कुनै स्वर्गको आवश्यकता छैन, कुनै अर्को सुख र खुशीको पनि जरुरत छैन। तिम्रो पवित्रतामा कसैको गिद्धे दृष्टि नपरोस्, तिम्रो माया गर्ने तौरतरिका सधैं यस्तै रहोस् पवित्र अग्र्यानिक। तिमीलाई भेटेपछि कयौं कितावका ज्ञानभन्दा बढी खुल्दैछन् रहस्यहरू। म तिम्रा रहस्यहरूमा जीवनको अर्थ र परिभाषा केलाइरहेछु।

साँच्चै विषको हरक नपरेको प्रेम जत्तिको मीठो अरू केही हुनै सक्तो रहेनछ। तिमीलाई छोडेर हिंडेपछि उदीतनारायणको स्वर सापट लिएर एउटा गीत गाइरहेछु

‘तिमीलाई देखेर आँखा त्यहीं छोडी हिंडे म

त्यही छोडी हिंडे म

तिमीलाई देखेर आँखा त्यही छोडी हिंडे म’

तिमीसँग भेट हुँदा र हाम्रो प्रेमको गाँठो कसिंदै जाँदा झन् – झन् फरक र चाखलाग्दी पाउँदै आएको छु तिमीलाई । क्षणक्षणमा नौलो बनिरह्यो भने क्षणक्षणमा मीठो र कौतूहलपूर्ण बनिरह्यो भने स्वप्निल बनिरहँदोरहेछ जिन्दगी र प्रेम। हरेक क्षण रूप, रंग र ढंगमा फरकपन भेटिरहेछु मैले तिम्रा आनीबानीमा। तिम्रा रंगढंगका फरक लहरहरूलाई लोभिंदै मीठो र मायालु बन्दै गइरहेछ मेरो जीवन। तिमीभित्रको रहस्य मेरो बाँच्ने अर्थ बन्दैछ अब।

आखिर, सोचेजस्तै होइन रहेछ जीवन।

प्रकाशित: १७ मंसिर २०७८ ०७:२३ शुक्रबार

अक्षर