कला

चम्चाको चर्तिकला

कविता

चम्चा!

सानो छ तर शक्तिमा बेजोड छ

कसैलाई रित्याउनु, सिध्याउनु,

चम्चालाई कुनै आइतबार कुर्नु परोइन।

कसैको सहयोग र सरसापटी,अर्मपर्म

खोज्दैन ऊ एक्लै काफी छ,हुन्छ र भइराखेको छ।

छिर्न, चिर्न, उघाउन जान्दछ चम्चा

जहाँ छिर्छ, त्यहाँ रित्याएरै छाड्छ,

जे छुन्छ त्यसलाई सिध्याएरै छाड्छ,

सानो छ तर विशाल भण्ङार

बिस्तारै उघाएर

खाली पुङमाङ बनाउँछ,

छिरेको, छोएको, उघाएको,रित्याएको, सिध्याएको

थाहै हुँदैन।

सुम्सुम्याएको भान हुने,

चम्चाको छुवाइ तिलस्मी छ,

सर्वव्यापी उपस्थिति रहन्छ,

हर्पेमा छिर्ने रिकापीमा नाच्ने

उसकै अधिकार छ,

बादशाहको व्यञ्जनदेखि, नन्दीको कँडोसम्म

शिवको सोमरसदेखि, तोङ्वाको तरसम्म

होटलको हलुवादेखि महाराजाका तलुवासम्म

चाखेको छ, चाटेको छ चम्चाले।

रिकापी रगड्ने, वल्लो–पल्लो टेबुलमा दगुर्ने,

जति भेटे पनि हसुर्ने उसका विशेषता हुन्,

कहिले बादशाहको बाहुलीमा र कहिले रामशाहको

भुजामा डुबुल्की मार्नु उसका कर्म हुन्,

चौरासी व्यञ्जनका स्वादमा रमाउने चम्चा,

छत्तिस कला र नौटङ्कीमा नखरा पार्न सिपालु छ

चम्चाको निगाहविना

उदर भूमिको जठराग्नी शान्त हुँदैन,

यो चम्चाको अलौकिक कला हो

परम प्रभुको अज्ञानताको प्रतिफल हो।

चम्चाको जात, थर, गोत्र, पाछा, वर्ग,आफन्त, पराई हुँदैन,

उसका लागि सबै उस्तै,  

यता रित्तिए उता,उता रित्तिए यता सरुवा भइदिन्छ

रित्याउन नसके जरुवा भइदिन्छ

ऊ जहाँ पस्छ, त्यहाँ रित्तिनुपर्छ

आफन्त होस् वा पराई, रिकापी होस् कि कराही,

वास्तवमा चम्चा समतावादी सेवक हो।

चम्चा!

भैसीको छोइला होस् कि, सुगुरको कोइला होस्

गोलभेँडाको चटनी होस् कि    

बाख्राको मटन होस्

गोरुको सुप होस् कि आरुको जुस होस्

चम्चाले चाटिदिन्छ, चटाईदिन्छ।

सर्वव्यापी चम्चा जहाँ पनि पुग्छ

जुठेल्नोदेखि भण्डार, चोटाकोठा, भान्सातक,

उसका खेलखोर हुन्छन्  

वेगमदेखि महामयिमतक

गायिकादेखि नायिका तक

नानीदेखि आनीतकका अधर चुम्बन गर्छ

उदर भर्छ चम्चाले।

चम्चाले कैयौ भण्डार  रित्यायो

सैयौ रिकापी थोत्र्यायो

लाखौ रामशाह गुल्ट्यायो

हजारौ बादसाह बौरायो

अनगिन्ती वेगमको हालबेहाल बनायो

तर,चम्चा उस्तै छ।

धेरै प्लेट र रिकापी रित्याओस्

कैयौ राम र हरामहरूको चोसोेमा चिप्लियोस्

हजारौ सीता र सरितासँग सम्बन्ध जोडोस्

चम्चा हरपल सफा, शुद्ध र सौम्य छ

सतर्क, सशक्त र  सप्रेम समर्पण छ चम्चासित  

किलकिलेसम्म पसोस्, अधरमा बसोस

चाहे नालीमा खसोस्

उसमा निखारता हुन्छ

निर्मलता हुन्छ।

भुजा हजम गर्ने, डिनर बुत्याउने

भान्सा हसुर्ने पहिलो हक छ चम्चाको

रामलाई हराम र हरामलाई राम बनाउने

दैवी क्षमता छ चम्चाको

कान्छीको भट्टी पसलदेखि च्याङ्वाको

तोङ्वा रेस्टुरेन्टसम्म

सिंहदरबारको चमेना हलदेखि

मैचाको  चिया पसलसम्म

शिवको सोम रसदेखि, जिससको जीवन रससमेत चम्चाले चाखेको छ।

बकिङ्घम दरबारदेखि मुसेको घरबारसमेत देखेको छ चम्चाले।

रामशाह अस्ताए, बादसाह बुतिए

अकबर किस्सा बने

हिटलर इतिहास भए,

मार्क्स दर्शन बने

व्यास बेथितिका मजाक भए

अल्लाहले हल्ला मच्चाए, बुद्ध  विस्मृतिको पन्नामा बेरिए

जिसस जिगमिषामा बरालिए

शिव सोमरसमा रत भए

तथापि यिनको अधर चुम्दै उदर भरिदिने

चम्चाको हाइदुहाई उस्तै देखिन्छ।

चम्चा! सर्वशक्तिमान्, सर्वकाल विजयी

नवौ चिरञ्जीवी

अजर, अमर, एकादशौ अवतारी

परम ईश्वर

युगानुकूल रूप धारण गर्ने

मायावी, अष्टसिद्धिमा पोख्त योगी

अनेकन् कला पारखी

चम्चा! निपुण कलाकार,

सदाबहार।

प्रकाशित: १६ मंसिर २०७८ ०१:४५ बिहीबार

अक्षर