कला

अक्षरका बीउहरू ले उमारेका भाववृक्षहरू

समीक्षा

खेमराज पोखरेल

संयोग

एउटा कुनै दिन स्रष्टा साँझ अमेरिकाले डालस क्षेत्रलाई मुकाम बनाउनु भएका कवि वैकुण्ठराज आचार्य र कवि भगवती पौडेलको कविताकृतिमाथि समीक्षात्मक कार्यक्रम चलाएको थियो।

म कवि वैकुण्ठराज आचार्यको कविताकृति ‘आज फेरि ...’ लको समीक्षकको दायित्वमा उभिएको थिएँ भने अर्का कवि भगवती पौडेलको कृति ‘अक्षरका बीउहरू’को नाम तथा समीक्षा त्यही दिन सुने पनि पढ्न पाएको थिइनँ। तर संयोग यस्तो भयो कि म पारिवारिक कारणले अमेरिकाको डालस क्षेत्र पुगेँ। स्रस्टा साँझका सञ्चालकसँगको भेटघाटका क्रममा कवि भगवती पौडेलसँग छोटो समयका लागि गफिएँ। ‘अक्षरका बीउ’ कोसेली पाएँ।

अहिले आफ्नो मुकाम सानमार्कोसमा पुगेर कोसेली फुकाएर चाख्दै छु। कोसेलीको स्वाद पाठकसमक्ष पनि पुर्याऊँ भन्ने इच्छा जागृत भएका कारणले यो समीक्षाको दुःस्साहस गरेको छु।

कलेवर–

पुस्तकको आवरणमा बीउबिम्बमा विविध रङ समेटिएको वसन्तराज अज्ञातको कलाकृत्यमा उर्वर भूमिफलक छ। स्रस्टा साँझ अमेरिकाले प्रकाशन गरेको यो पुस्तकको पश्चभागमा कवि भगवती पौडेलको तस्बिर र त्यसमुनि परिचय छ। स्रस्टा साँझ अमेरिकाले प्रकाशकीय लेखेको छ भने प्रा. पुरुषोत्तम दाहाल तथा श्रीहरि फुयालको प्राज्ञिक भूमिका छ। त्यसपछि कविको ‘मेरो भनाइ’ शीर्षकमा कृतिको रचनागर्भ छ। मातापितामा समर्पण गरिएको छ। त्यसपछि ४२ वटा कविताको सूची छ।

शीर्षकीकरण –

मलाई असाध्य धेरै मन परेको विषय भनेको कृतिको शीर्षक चयन हो। शीर्षक सिद्धान्तले भन्छ कि शीर्षकले पूरै पुस्तकको सारको प्रतिनिधित्व गर्न सक्नुपर्छ। कविता भन्नु भावको प्रक्षेपण हो। प्रक्षेपणको माध्यम अक्षर हो। त्यही अक्षरको वाचन पनि हो।

पुरानो युगमा यस्ता कविताहरू श्रुति परम्परामा याने कि एक पुस्ताले कण्ठ पारेको कविता अर्को पुस्तालाई कण्ठ पार्न लगाएर संरक्षण गरिन्थ्यो तर अक्षरको आविष्कार भएपछि भने अक्षरफलक नै विचार सम्प्रेषणको सशक्त माध्यम हो। अक्षरले रोपेका कविताका भावरूपी बीउहरू खासमा कविको विचारको सङ्केतन हो। बीउ भन्नु वृक्षको साङ्केतिक र संस्लेषित रूप हो।

कविका ती विचार वा भाव अक्षर नबन्नुञ्जेल व्यैक्तिक हुन्छन्। तर जब ती अक्षर बन्छन् अनि समाजको सम्पत्ति बन्न पुग्छ। कवितामा ती अक्षरका बीउलाई पाठक तथा समीक्षकले विसङ्केतन गरेर भाववृक्ष बनाउने हो। त्यसकारण यो कविताकृतिको शीर्षकको सार्थकता तथा तादात्म्य ज्यादै सार्थक छ। यद्यपि बीउ मात्र पनि बहुवचन हो कि जस्तो पनि लागेको छ। सायद बिउ छर्ने हो, बीउहरू छर्ने होइन कि। विज्ञ पण्डितले जानून्। तर पनि यो शीर्षकीकरणको व्यवस्थापनले नै कविको काव्यप्रवाह चेत भने प्रकटीकरण हुन्छ।

भाववृक्ष

यो कृतिमा प्रयुक्त गरिएका भाववृक्षलाई केलाउनु भन्दा पहिले कविको भौगोलिक, मानसिक तथा सामाजिक अवस्थाबारे केही सैद्धान्तिक अवधारणा बनाउनुपर्ने हुन्छ। कवि मान्छे हो र मान्छेलाई ऊ बाँचेको समाजले प्रभावित पारेको हुन्छ। कविले देखेको, सुनेको, पढेको, भोगेको वा अनुभूत गरेको विषय निजात्मक त हुन्छ तर त्यसले ऊ बाँचेको वर्तमानलाई खर्लप्पै उतारेको हुन्छ।

कवि पनि सामाजिक प्राणी भएकाले समाजभित्र बसेका मान्छेका चेतमा आउने आरोह/अवरोह, आशा/निराशा, सफलता/असफलता, आग्रह/विग्रह लगायत काम, क्रोध, लोभ, मोह जस्ता मदको बाटोबाट गुज्रिनुपर्ने हुन्छ। ती मदले मान्छेको जीवनमा अनेकन् सकारात्मक/नकारात्मक प्रभाव पार्ने कुरा निर्विवाद हो र त्यही प्रभाव कविले अक्षरलाई सुनाउने हो।

यसो भएकाले कविका कृतिमा भावका हिसाबमा विविध पक्ष समेटिएका छन्। त्यसकारण भाववृक्षको रङ एकनासे छैन। विविध छन्। विविध भावको प्रस्तुति कृतिको भाववृक्ष हो।

आशावादी स्वर–

आशावादी जीवन कविताको भाववृक्षको एक शाखा रहेको छ। किनभने मान्छेको जीवनलाई डोर्याउने त्यान्द्रो भन्नु नै आशावादी सोच हो। जीवनसँग गरिएको आशाले नै मान्छेलाई जीवन बाँच्न तानिरहन्छ। यही भावभूमिमा कविका कविताका अक्षरहरू बोलेका छन्।

उदाहरण हेरौँ –

आहा, रहर

तिमी छौ र त म छु 

तिमी छौ र त जीवन छ

तिमी छौ र त जीवित छु। (रहर ४५)

रङहरू छन् र त यहाँ

फुलेका छन् फूलहरू

जीवन सानदार छ

जगत् बास्नादार छ

सुगन्धित छ वरिपरि

छरेर रङहरू थरीथरी (रङहरू ४२)

उल्लिखित दुई टुक्राले कविको जीवनप्रतिको आशावादी स्वर गुञ्जिएको छ। रहरलाई जिन्दगीसामु उभ्याएर जीवनमा बाँच्ने आधार देखाइएको छ। साँच्चि हो मान्छेमा कुनै खाले पनि रहर भएन भने ऊ निकम्मा नै हुनेछ। उसको अस्तित्व नै संकटमा पर्ने पक्का हुन्छ।

यसै गरी अर्को पंक्तिमा रङलाई प्रतीक बनाएर जीवनको सौन्दर्यलाई रहरलाग्दो तरीकाले उजागर पारिएको छ। फूल सुन्दरताको बिम्बमा आएको छ। जीवनलाई फूलको सौन्दर्यसँग तुलना गरिएर जीवनको आशावादी धार प्रकटीकरण भएको छ।

निराशावादी स्वर –

स्वाभाविक हो कि कवि बाँचेको संसारमा अनेकन प्रताडना छन्। सङ्घर्ष छन्। सङ्घर्षमा असफलता पनि पाएका छन्। ती असफलताले मान्छेमा जीवनजगत्प्रति निराशा पनि प्रक्षेपण गर्दछन्। त्यसो भएकाले यो कृतिका केही कवितामा निराशावादी चिन्तन पाइन्छ। उदाहरण हेरौँ –

जीवन

दूरी नाप्न खोजेँ मेरो स्केलमा

आकाश अनि धर्तीको।

भेटियो शून्यमा धर्ती

भेटियो शून्यमा आकाश (दूरी ४३)

टुसायो, उम्रियो र हुर्कियो

हाँँगा फैलायो अनि फूलमा फुर्कियो

फलेर जीवन उर्वर भो

जब ओइलियो सुक्यो

झर्यो पतझड भो। (पतझड ४७)

उल्लिखित कवितामा जीवनको निराशावादी चिन्तनको सशक्त प्रकटीकरण भएको छ। जिन्दगीका दलानमा राखेर कविले जीवनलाई आफ्ना चेतका माध्यमबाट नाप्ने प्रयास गरेको देखिन्छ। यसरी नाप्दा जीवनलाई धर्तीमा तथा आकाशसँग तुलना गरेको देखिन्छ। परिणाम आकाश तथा धर्ती दुवै शून्यशून्य देखिएका छन्। यो शून्य धर्ती र आकाश जीवनप्रतिको निराशाको बिम्बमा आएका छन्।

कविको कलमले जीवनका निस्सारताहरूमाथि पनि दृष्टि पुर्याएका छन्। जीवनमा गरिने कतिपय कृत्यलाई निस्सार तथा बेकामे ठानिएको छ। जीवनलाई केन्द्रमा राखेर कविताको सिर्जना भएको छ। केही उदाहरण हेरौँ–

खोज्दै हुन्छु

अनमोल रत्नहरू

किनारै किनारको बालुवामा (पर्दा २९)

मनका क्यानभासहरू

नियाल्दै

अनगिन्ती अवसरहरू

त्यो रित्तोमा

त्यो भित्तोमा। (रित्तो भित्तो ५२)

जीवनका आयामहरूमा पाएका असफलताले मान्छेको मनमा जिन्दगीलाई निस्सार तरीकाले बिम्ब बनाइदिन्छ। अवसरहरू रित्तारित्तामा परिणत हुन्छन्। गरेको काम सबै निस्काम हुन्छ।

देशभक्ति –

वास्तवमा संसारमा जुनसुुकै मान्छेलाई पनि आफ्नो देश प्राणभन्दा प्यारो तथा गौरवशाली लाग्छ। यो गौरव नै देशभक्ति हो। यो गौरव अनुभूत गर्न स्वदेशको बसाइ वा विदेशको बसाइ केही कुराले फरक पार्दैन। हरेक मान्छेलाई आफ्ना पूर्खा पौरखशाली लाग्छ। यो नै पितृभक्ति हो। कविको मुकाम अमेरिका छ। आफ्नो देश नेपाल भौतिक रूपमा आफूसँग छैन। जे छैन त्यसको सम्झना असाध्य ज्यादै लाग्नु मानवीय स्वभाव हो। त्यसैले विदेशी भूमिबाट स्वदेशलाई सम्झने क्रममा गौरवबोध गरिएको छ। यो देशभक्तिको एउटा ज्यादै मीठो नमूना हो।

उदाहरण हेरौं–

पुग्दा टप अफ द माउन्टबाट

लगाउँदा शिरको टोपीबाट

इतिहासको स्वतन्त्र अखण्डताबाट

म अग्लिन्छु विश्व मानचित्रबाट

यहाँ अग्लिन्छ मेरो देश भित्रबाट।(मेरो देश भित्रबाट ७८)

उपर्युक्त कवितांशले कविको देशभक्ति दर्शाएका छन्। नेपाली भएर विश्वमा गौरव गरेर बाँच्न सकिने टप अफ द माउन्टेन याने सगरमाथा, शिरको टोपी याने नेपाली हुनुको पहिचान, कहिल्यै पराधीन नभएको इतिहासले संसारमा नेपाल तथा नेपालीलाई चिनाएका छन्। पहिचान दिएका छन्। यो गौरवानुभूतिमा कविको हृदय बोलेको छ।

कविको दृष्टि नेपालको विपर्यास राजनीतितिर पनि खिचिएको छ। खास गरी नेपाली कम्युनिष्ट राजनीतिको दुई जिब्रे क्रियाकलापले नेपाली साँच्चि मर्माहत भएका छन्। यसै भावभूमिमा कविले कविता निर्माण गरेको देखिन्छ। उदाहरण –

अहिले साम्राज्यवादी मुलुकहरूमा

हरपल कमरेडहरू भेटिँदा

मानसपटलमा छ बबुरोको चित्र

सम्झँदै छु कमरेडको घेराभित्र (कमरेडको घेराभित्र७३)

अनेकन् हुँदा–नहुँदा प्रलोभन दिएर एउटा नेपाली बबुरालाई सशस्त्र क्रान्तिमा होमिदिँदा नेपाली जनजीवन आक्रान्त भएको दृष्टान्त नेपालसँग छ तर विडम्बना ती नेपाली बबुराहरू नेताको गैरजिम्मेवार चरित्रले गर्दा आक्रान्त बन्न पुगेका छन् र आफैँले साम्राज्यवादी भनेका मुलुकमा कामको खोजी गर्दैछ। यो यथार्थलाई कविको दर्बिलो कलमले मजाले उजागर गरेको छ।

प्रणयभाव

कवितामा जीवन भोगाइको क्रममा महत्त्वपूर्ण ठानिएका प्रेम, प्रणयभाव तथा शृङ्गारमा पनि कविको दृष्टि पुगेको छ। प्रेममा समर्पण छ। समर्पित हुने रहर छ। विछोडको पीडा छ। शृङ्गारले सजिएको मनोविज्ञान छ। उदाहरण हेरौं-

छाप्यौ फिङ्गर प्रिन्ट स्क्रिनमा

खुल्दैन आपत्मा पनि

बन्द भयो सदासदाका लागि

रित्तियो त्यो अनि यो दिल।(पासवर्ड ८४)

सोह्र शृंगारले सजिने रहर

म्नमा पालेर मात्र के गरूँ

रङबिनाको

क्यानभासमा कोरिएको छ। –जीवन ६१)

उपर्युक्त कवितांशमा प्रेममा विरहको उपमाका रूपमा फेसबुकको पासवर्डलाई लिइएको छ। यो बिम्बलाई आधुनिक परिवेशको रूपमा बुझ्न जरुरी छ। प्रेमीले आफ्नो फेसबुकमा पासवर्ड राखेपछि सधैंका लागि सम्बन्धमा विछोड भएको छ। दिल रित्तिएको छ।

अर्को कवितांशमा एउटी सोह्र शृङ्गारमा सजिने रहर बोकेकी प्रेमिकाको चित्रण छ तर ऊ त्यो सोह्र  शृङ्गारको बैंसालु रहरमा रङ आएको छैन। याने कि प्रेमी छैन। प्रेमीको प्रतीकको रूपमा रङलाई स्थापित गरिएको छ। प्रेमीबिनाको सोह्र शृङ्गारको मनोविज्ञानलाई रङबिनाको क्यानभाससँग तुलना गरिएको छ। यसरी कविको कलम प्रेम तथा शृङ्गारमा पनि कुँदेको छ।

मान्छे

कविको दृष्टि सबैभन्दा बढी मान्छे याने कि मानवीय प्रवृत्तिमाथि परेको छ। मान्छेलाई विविध कोणबाट हेरिएको छ। मान्छे आडम्बरको प्रतीक भएको कुरा पर्दाको बिम्बबाट उजागर गरिएको छ। उदाहरण –

एउटा पर्दा

कति शक्तिशाली तिमी?

लुकाइदिन्छौ

पटपट चिरिएका भित्ताहरू

चरक्क चर्किएका सिसाहरू झ्यालका पर्दा (पर्दा ३४)

यसैगरी मान्छेमान्छे बीचका दूरीहरू याने कि सामीप्यहरू कविका बान्किला कलमबाट लेखिएका छन्। केही उदाहरण हेरौं– 

दुरी कति छ?

अझै शंका लाग्यो

प्रश्न अनन्त छन्

दूरी कति छ, तपाईं अनि मेरो? (दूरी ४४)

घाउ दुख्यो

पोल्यो भतभती

सुनाएँ मान्छेलाई

हेरेँ टुलुटुलु

महसुस छैन दुखाइको  

देखाएँ घाउ पत्थरलाई

न्यानो स्पर्श दिँदै पत्थरले भने

घोट जडीबुटी ममाथि

ल्गाऊ मलम (पत्थर मान्छे बन्यो ६९)

भाउ बढिरहन्छ मान्छेहरूको

मान्छे बेचिन्छन्, मान्छे किनिन्छन्

यहाँ मान्छेको व्यापार छ। मान्छेको व्यापार ८१)

उल्लिखित कवितांशमा मान्छेमान्छे बीचको दूरी कति टाढा छ भन्ने शास्त्रीय कुरा उजागर गरिएको छ। यसैगरी मान्छेलाई पत्थर याने कि ढुङ्गासँग तुलना गरेर पत्थरभन्दा मान्छे कृतघ्न र हृदय शून्य भएको कुरा व्यक्त गरिएको छ। मान्छे खासमा बिक्रीमा छ। भाउ लगाएर बसिरहन्छ। यसरी मान्छेको स्वरूपलाई बिक्रीको मालका रूपमा चित्रण गरेर मान्छे तत्त्वको शल्यक्रिया गरिएको छ।

महिला

कवि आफैँ महिला भएकाले कृतिमा महिलाका कुराहरू आउनु स्वाभाविक हो। महिलाका अनेक रूप छन्। कतै महिला छोरी भएर उदाएका छन् भने कतै आमाको भूमिकामा छन्। महिला लिंग विशेषलाई लक्षित गरी अनेकन् विभेद र अन्धविश्वासहरू रहेको वर्तमान समाजमा कविका अनुभव यससँग प्रत्यक्ष गाँसिएका छन्। महिलाका यिनै विषय सन्दर्भलाई कविले उजागर पारेको पाइन्छ।

उदाहरण हेरौँ –

छोरी परी हौ तिमी

मनभरि छ्यौ तिमी

चढाऊ सिँढी हरेक पाइलाहरू

चल गन्तव्य चुम्न शिखरहरू (आशीर्वाद ७७)

प्रस्तुत कवितांशमा कविले आमाका दृष्टिविन्दुबाट आफ्नी छोरीलाई प्रेमभावले जिन्दगीको सोपानमा अगाडि बढ्न आशीर्वाद प्रदान गरिएको छ। यो कवितामा छोरी हुनुमा गर्वानुभूति छ। हिम्मतिला पाइलाहरू चालेमा छोरीलाई रोक्ने कुनै तागत छैन भन्ने सन्देश प्रवाह गरिएको छ। कविताभित्र आमाको आफ्नै उपस्थिति पीडित इतिहासलाई साक्षी राखेर उभिएको छ। आमाको सामाजिक तथा सांस्कृतिक पीडाप्रति एउटी छोरीका अनेकन चिन्ता छन्। आमाको पीडाबोध छोरीले गरेको अवस्था कवितामा देखाइएको छ।

उदाहरण हेरौं–

आमा कुपोषित हुनु भो

पोषिलो खानेकुरा कसैले दिएनन्

हो, आमा! हजुर बिरामी पर्दै आउनुभो र पनि

बर्सेनि सन्तान किन पाउनु भो? (सन्तान किन पाउनुभो? ६२)

यसरी कविले तत्कालीन अवस्थामा आमाले  बर्सेनि बच्चा पाउनुपर्ने अवस्थामाथि विद्रोह बोलेको पाइन्छ। यो कविताले तत्कालीन समाजको एउटा प्रतिबिम्ब देखाएको छ। महिलाको अवस्थालाई छर्लंग बनाएको छ।

नेपाली समाजमा अहिलेसम्म पनि ढिट भएर बसेको महिलाको छाउ बार्ने प्रचलनको दयनीय चित्र उतारिएको छ। आजपर्यन्त नेपाली समाजमा सोही छाउको धङ्धङीका रूपमा सिम्बोलिक भए पनि बार्ने प्रचलन सभ्य, शिक्षित तथा अग्रगामी समाजमा पनि देखिन्छ। नेपाली समाजको यो कुरूप व्यवस्थामाथि अझै धेरे प्रहार गर्नुपर्ने हुन्छ तर कवितामा छाउप्रति निरीह अवस्थाको कारुणिक चित्रण गरिएको छ। समाजको विद्रुप रूपको चर्चा गरिएको छ। उदाहरण हेरौं–

देवीथानभित्र

म थानबाहिर

तीनचार जना दिदीहरू

देवीथानको घेरा बाहिर

पग्लँदै छ, बग्दैछ निरन्तर

म र उनीहरूको छाउ

देवीथानको वरपर (देवीथान र छाउ ५८)

सबैले पूजा गर्ने देवीलाई महिलाको रूपमा पूजाआजा गरिन्छ तर नियमित र प्राकृतिक प्रक्रिया अन्तर्गत महिलामा हुने छाउलाई भने अन्याय तरीकाले वर्जित गरिन्छ। महिला भए पनि देवीमन्दिरभित्र सबैकी पुज्य छिन्। तर त्यहीबेला छाउ बारेका महिलाहरू महिलाकै थान देवीथानमा प्रवेश गर्न पाउँदैनन्। छाउबारेका दिदीबहिनी मन्दिरको घेराभन्दा बाहिर बस्नुपर्ने अवस्थाको कारुणिक चित्रले मनलाई नै झसङ्ग बनाएको छ।

साहित्य–

कवितामा अक्षरको शक्तिका बारेमा बोलिएको छ। वास्तवमा यो संसारमा विचारको आदानप्रदान तथा परिवर्तनको सम्वाहक अक्षर नै हो। कविता सङ्ग्रहको शीर्षक समेत बोकेको अक्षरका बीउहरूको प्रभावकारिताका बारेमा कवि निकै आशावादी भएको देखिन्छ।

उदाहरण हेरौं–

आज रोपेका अक्षरका बीउहरू

बलिया बनेर उम्रनेछन्

धारिला बन्दै हुर्कनेछन्

अनि बन्नेछन् हतियारहरू

लड्नेछन् भविष्यका युद्धहरू (अक्षरका बीउहरू ६५)

वास्तवमा संसारमा भएका परिवर्तनहरूमा अक्षरले खेलेको भूमिकालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। अक्षरले विचार पक्षलाई एक अर्कामा पुर्याइदिन्छ। विचारको मन्थनबाट एउटा युगजन्य आवाज निस्कन्छ र त्यो आवाजले समाजको सर्वांगीण परिवर्तन गराइदिन्छ। यही भावभूमिमा कविका सिर्जना आएका छन्। यो पक्ष ज्यादै सबल र सुदृढ छ।

स्थानीयता–

कविको व्यैक्तिक जीवनयात्राको आयाम पनि निकै ठूलो छ। हरेक स्थानका अलगअलग तथा समान कहर र विचार हुन्छन्। अलग स्वाद हुन्छ। कविको पाइला जुन ठाउँमा पुग्छ त्यो ठाउँको कहर र सुन्दरता दुवैले कविलाई कविता लेख्न घच्घच्याएको प्रतीत हुन्छ। त्यसले स्थानीयताको स्वाद पनि दिन्छ र विचारको द्वन्द्वलाई पनि उचाइमा पुर्याउँछ। उदाहरण हेरौँ –

थाहा छैन, शिरको उठान

थाहा छैन पाउको बिसौनी

केवल घुमिरहन्छन्

हरेक वर्ष

यो मानसपटलमा  

तावा श्रीका लासहरू (तावाश्रीका लासहरू६६)

ऊ तिर्खाले भुतुक्क यात्री

अरुणको किनारैकिनार

एक अञ्जुली पानी खोज्दैन

बरु ऊ खोतल्छ झोला

घुटुक्क पिउँछ कोकाकोला (अरुणको कोकाकोला ९८)

अर्घाखाँचीमा जन्मेर जीवनका गल्छेंडाहरूले धकेलेर स्वाभाविक रूपले कविलाई स्वदेश तथा विदेश पुर्‍याएको छ। क्विका पाइला पुगेको ठाउँले कविताको आकार ग्रहण गरेको छ। प्रतिनिधिका रूपमा यहाँ दुई कविताङ्शलाई मात्र उद्धृत गरेको छु। पहिलो कविताङ्श उदयपुर जिल्लाको तावाश्री खोलाको छ। यो खोला वास्तवमा नै यति कहरपूर्ण छ कि कविको मनमा तावाश्रीका लासहरूले अड्डा जमाएका छन्।

दोस्रो कविताङ्श अरुण नदीको यात्राको छ। अरुण नदीको पानी कञ्चन छ तर यात्रु झोलामा बोकेर ल्याएको कोकाकोला पिउँछन्। यो कवितामा अरुण नदी देशको उत्पादनको बिम्बमा आएको छ  भने कोकाकोला आयातीत वस्तुको बिम्बमा आएको छ। यी बिम्बहरू सबल छन्। कविताले नेपालीको चरित्रलाई मीठोसँग प्रस्ट्याएको छ।

वैदेशिक रोजगारी–

कवि हाल अमेरिकामा बस्दै गरेकाले स्वदेश तथा विदेशका कहरहरू छताछुल्ल भएर आएका छन्। यस क्रममा कविका आँखामा दुईवटा दृश्य झलझली आएका छन्। एक नेपालका गतिला मान्छे वैदेशिक रोजगारीमा जानुपर्ने विपर्यास परिवेश छ भने अर्कोतर्फ विदेशमा गएर भोग्नुपर्ने डायस्पोरिक पीडा छ। यो विचार पक्ष यति सशक्त छ कि कविका आँखाले ती अनुभूत मात्र गरेका छैनन्, भोगेका छन्। यसरी भोगाइबाट निसृत भएको परिपक्व विचारले यो कृति सुशोभित छ। उदाहरण हेरौँ –

हृष्टपुष्ट ठूले छानिएछ

गोरेहरूको मैदानमा

पस्यो मुग्लान लाहुरे हुन

जित्यो रे युद्धहरू

पायो रे तक्मा र सम्मानहरू

उतै बस्यो ठूले फर्किएन (असार १५ फर्किएन ८५)

सुखसयल भरपूर मनोरञ्जनबाट थकित

ऊ भुसुक्क निदाउँछे अनि देख्छे सपना

पुग्छे उही जन्मिएको गुँडमा

पखेटा खुम्च्याएर पल्टिएका माउहरू

मुखले मुखबाट चारो टिप्न सिकाउने

उही रुख उही डालीमा आमाबाबुहरू (चरी ९१)

माथिका कविताङ्शमा विदेशमा नेपालीले बाध्य भएर जानुपर्ने परिवेश तथा पुगेपछिका सामाजिक, आर्थिक, मनोवैज्ञानिक कहरहरू उजागर गरिएका छन्।

जीवनबोध

कवितामा जीवनको आध्यात्मिक रङलाई समावेश गरिएको छ। आध्यात्म  भन्नु यो नाशवान् जीवनको चक्र बुझ्नु हो। आध्यात्म भन्नु आशावा निराशा दुवै होइन। केवल जन्म र मृत्युका वैशिष्ट्यहरू बुझ्नु हो तर मान्छेले जीवनलाई त्यो रूपमा बुझेको छैन। यही भावभूमिमा केही कविता लेखिएका छन्। उदाहरण–

रङ्गीन छ जीवन र जगत्

नमेटिने यात्रा छ

तृप्त छैन कोही जीवनबाट

थकित छैन जगत्बाट

खुसीले छोड्ने रहर छैन

यो रङ्गीन दुनियाँ (रङहरू ४१)

वास्तवमा मान्छेको जीवन क्षणभङ्गुर छ। याने नाकको प्यालबाट निस्किएको श्वास फेरि फर्किएर सोही प्यालभित्र पसेन भने मान्छेको जीवन सकिन्छ। यो यथार्थ हो तर मान्छे यो कुरा बुझ्दैन र यो विषय जगत्मा यसरी भुलिन्छ कि ऊ यही लोकको सुन्दरतामा मोहित हुन्छ  वा अर्का थरी मान्छेहरू यो सुन्दर जीवनलाई नै मिथ्या ठानिदिन्छन् र जिन्दगीलाई सुस्त बनाइदिन्छन्। कविताले यही बीचको गल्छेँडोमा बसेर सुन्दर जीवनको परिकल्पना गरेको छ।

यसबाहेक कविको भाववृक्ष निकै झाँगिएको छ। कविका नजरमा सांस्कृतिक, भौतिक, पराभौतिक, आर्थिक तथा समग्र जीवनको विहङ्गम पहाड उत्रिएको छ। यही क्रममा गद्य कविताका हारमा हाल निकै प्रचलनमा आएको हाइकु पनि समावेश गरिएको छ। हाइकुले तीन हरफमा तीन लोक नै देखाएका छन्। त्यसकारण यो कृति ‘अक्षरका बीउहरू’ले जीवनका आयामहरूको सकुशल उत्खनन् गरेको छ। पस्केको छ।

अन्यौल

यति भनिसकेपछि मेरो नजर कवि भगवती पौडेलको कवित्व बान्कीको स्वरूपमा परेको छ। म व्यक्तिगत रूपले कवि भगवतीका जीवनका आयामहरूलाई तथा जीवनका संघर्षहरूलाई चिन्दिनँ। मैले अन्तर्यबाट नचिनिएकी स्रष्टा हुन् कवि भगवती।

कविको तथा कृतिगर्भको मनोवैज्ञानिक तत्त्व पनि मेरा बुताको विषय होइन। त्यसकारण यो कृति ‘अक्षरका बिउहरू’ पढिसक्दा मलाई केही अन्योल उत्पन्न भएको छ। कविको अनुभूति र कवितागर्भ कविलाई मात्र थाहा हुन्छ। द्रष्टाले त्यो जति खोतले पनि जति पर्गेले पनि पूरापूर थाहा पाउन्न। पाठकले त्यो विषय सौन्दर्यको पूरापूर स्वाद चाख्न सक्ने विषय नै होइन। स्रष्टा भन्नु अपरम्पार विचारको भण्डार हो।

यो पृष्ठभूमिमा आइपुग्दा म झन् अन्योल भएको छु। मेरा मनमा प्रश्नहरू आइरहेका छन् कि भगवती पौडेल कस्ती कवि हुन्? उनको विचार पक्ष दृढ कि अस्थिर? उनको लेखनीको के विशेषता? आशावादी कि निराशावादी? परम्परावादी कि अग्रगम्यवादी? आदर्शवादी कि विद्रोही? स्वदेश चिन्तक कि डायस्पोरिक? किनभने कविता कृतिमा जीवनका यी सबै धार प्रवाहित भएका छन्।

यद्यपि मलाई थाहा भएकै कुरा हो कि मान्छेको विचार तथा भावगत प्रक्षेपणमा असीमित दायरा हुन्छ। किनकि कवि मान्छे बाँचेको संसारमा अमिलो/पिरो, तितो/टर्रो सबै खाले भोगाइ हुन्छ। तर पनि कविका विशेषता केलाउँदा यी प्रश्नहरू आइहाल्दा रहेछन्।

कवितामा जीवनजगत्प्रति आशावादी स्वरसँगै निराशावादी स्वर पनि छन्। कतै परम्परावादी देखिएको छ भने धेरे ठाउँमा प्रगतिशील। परिवर्तनकामी। कतै आदर्शवाद छ भने कतै विद्रोही चेत छ। त्यसकारण कविको विशेषतालाई एक हरफमा मैले चित्रण गर्न नसकेको हो र पनि बहुविपर्यास भावपरक कविता लेख्ने कवि भन्नचाहिँ सकिन्छ।

उपसंहार–

कवि भगवती पौडेल, म अब पुछारमा छु। एउटा संयोगको परिणति हो यो आलेख। म इमानदारीका साथ भन्छु कि यो कृतिमा समेटिएका कविता सामग्री सरल र सहज छन्। भावगत रूपमा कुनै दर्शन वा अर्ती उपदेश छैनन्। दुरूह छैनन्। भाषामा मीठास छ। शब्दमा चातुर्य छ। प्रस्तुतिमा करिश्मा छ। श्रव्यमा लालित्य छ। पठनमा लयात्मकता छ। वाचनीय छ। याने गेयात्मकता धेरै हदसम्म मिलेको छ। गेयात्मकता मिल्नु भनेको कविताको गहना हो। गद्य कवितामा पनि गेयात्मकता सुन्दर पक्ष हो। बिम्बका अलंकारहरूको जोहोमा उत्कृष्टता छ। उपमा र उपमेयमा स्वाभाविकता छ। भाववृक्ष पन्पिएका छन्। पारखी पाठकको मन तान्न सक्ने छन् कविता।

तर पनि मलाई बोध भएको कुरा के हो भने कविले आफूले देखेको, बुझेको, बुझाइएको विचार वा भावलाई सङ्केतन गर्ने हो। त्यसलाई समीक्षक वा पाठकले उस्तै रूपमा दुरुस्त विसङ्केतन गर्न सक्दैनन्। याने कि कविकै स्पिरिटमा बुझ्ने कुरा निकै गाह्रो हो। त्यहाँ प्रयुक्त भाववृक्षमा समीक्षक वा पाठकको आफ्नो नजरिया हावी हुन्छ र कविले पुर्याएको उचाइको दृष्टिविन्दुमा नपुग्ने सम्भावना पनि हुन्छ। त्यसैले यो समीक्षाले पूरापूर मात्रामा कविका भाववृक्षको प्रतिनिधित्व पनि गर्दैन।

अर्कोतर्फ कविको अर्थगत दृष्टि नपुगेको ठाउँमा पनि समीक्षक वा पाठक पुग्न सक्ने विचारलाई पनि नजरअन्दाज गर्न सकिन्न। कविले सही ठाउँमा ताकेको बञ्चरो पाठक वा समीक्षकले घुँडामा हान्न पनि सक्छन्। त्यसैले यो आलेखले सही ठाउँमा हान्यो हानेन मलाई थाहा छैन। कविका उत्प्रेषणलाई मैले दृष्टि गोचर गर्न सकेको वा नसकेको पनि थाहा हुने कुरा होइन। त्यसैले यो यस्तै निस्क्यो।

अब अन्त्यमा, संयोग जुर्‍यो। भेट जुर्‍यो। भेटले अपनत्व बढायो। अरू कुरा भाँती नपुगे पनि यो आलेख अपनत्वको प्रकटीकरणचाहिँ हो। त्यसैले कविका कलमबाट दर्बिला कृति निस्कने नै छन्। मेरो शुभकामना।

प्रकाशित: १४ मंसिर २०७८ ०४:२८ मंगलबार

अक्षर