कला

आत्मविश्वासको जग हो?

आत्मविश्वास हरेक व्यक्तिको मानसिक एवं आध्यात्मिक शक्ति हो, त्यसैले आत्मविश्वासविना व्यक्तिको जीवन सहज तरिकाले चल्दैन। कुनै पनि कामप्रतिको सफलताको भरोसा आत्मविश्वास हो, त्यसैले आत्मविश्वासविनाको काम सफल र पूर्ण हुँदैन।

कामको सफलताका लागि आफैंमा आश्वस्त हुनु या अरूलाई समेत आश्वस्त पार्न सक्ने क्षमता आत्मविश्वास हो, त्यसैले एक अर्काको विश्वास जित्न र कर्मलाई सफल पार्न पनि आत्मविश्वास जरुरी हुन्छ। निश्चिन्त भएर कुनै पनि चिन्ताविना कर्मप्रति लगाव बढाउन आत्मविश्वासले मद्दत गर्दछ।

त्यसैगरी, भविष्यप्रति चिन्तारहित भएर कर्म गर्नका लागि आत्मविश्वासको जग बलियो हुनुपर्दछ। अर्को महत्त्वपूर्ण पक्ष भनेको निर्णय लिने क्षमताको विकास गर्नु आत्मविश्वास हो। जोसँग आत्मविश्वास हुँदैन, उसले एक त निर्णय लिन सक्दैन र लिई हाले पनि तुरुन्तै बदल्ने स्वभावको हुन्छ।

एक आत्मविश्वासी व्यक्ति उचित कामका लागि उचित समयमा निर्णय लिन पछि पर्दैन र आफूले लिएको निर्णयमा कटिबद्ध भएर अगाडि बढ्छ र सफलता हासिल गर्दछ। त्यसो हो भने, आत्मविश्वासको जग के हो अर्थात् यसका आधार के के हुन्, जसले आत्मविश्वासमा बाँच्न मद्दत गर्दछ, केही सूत्रलाई बुझौं।

कर्मशीलता

आत्मविश्वास आवश्यक छ भन्दैमा त्यत्तिकै विकास हुँदैन, त्यसका लागि कर्मशीलता जरुरी हुन्छ। कर्मशीलता अस्तित्वले सबै मानिसलाई दिएको गुणवत्ता हो। यसो भन्दैमा सबैमा कर्मप्रतिको जागरुकता र सक्रियता नहुन सक्छ। धेरैजसो व्यक्ति आलस्यमा बाँचिरहेका हुन्छन्। आफूमा भएको सिर्जनशीलताको पहिचान गर्न र त्यसलाई उजागर गर्न जानेका हुँदैनन्।

अस्तित्वले हरेक व्यक्तिलाई अलग अलग कार्य क्षमता र कुशलताको गुण दिएको छ, जुन उसले आफ्नो व्यवहारमा र जीवनमा उतार्न सकोस् अनि जीवन आत्मविश्वासका साथ बाँच्न सकोस् भनेर। तर, केही प्रतिशतमा मात्र यो क्षमतालाई शतप्रतिशत उतार्ने साहस देखिन्छ।

पुरुषार्थ

जो व्यक्ति जीवनमा आफ्नो क्षमता र रचनात्मक बुद्धि एवं विवेकका प्रयोग गरी जीवनको सहजताका लागि लक्ष्ययुक्त कर्म गर्न उद्यत् हुन्छ, उसकै आत्मविश्वास बलियो हुन्छ।

सन्तहरू भन्छन्– प्रत्येक व्यक्तिले आफ्नो जीवनमा चार पुरुषार्थ निर्वाह गरेकै हुनुपर्दछ, अन्यथा उसको जीवन निरर्थक मानिन्छ। धर्म, अर्थ, काम र मोक्ष चार पुरुषार्थ हुन्।

जीवनलाई सहज तरिकाले भोग र योग दुवैमा पूर्णता प्राप्त गर्न अर्थोपार्जनको जरुरत पर्दछ। आर्जेको अर्थ अर्थात् सम्पत्तिको केही अंश दान धर्म, परोपकारमा लगाउन सकियोस् र जे पनि कामना, काम अर्थात् इच्छा छन्, तिनलाई पूरा गर्न सकियोस्। र, अन्तिम पुरुषार्थ मोक्ष अर्थात् जीवनमा शान्ति र आनन्द पनि प्राप्त होस्। बाहिरको सुखविनै आन्तरिक सुख र आनन्दको बोध होस्। सांसारिक दुःखबाट छुट्कारा मिलोस्। सांसारिक दुःखबाट मुक्तिको उपाय केवल ध्यान भएकाले ध्यानको अभ्यासले जीवनमा निरन्तरता पाओस्। यी पुरुषार्थ गर्न सक्ने व्यक्ति नै आफ्नो आत्मविश्वासमा बाँच्न सफल हुन्छ।

सम्यक् दृष्टि

आफ्नो आत्मविश्वासमा अडिग हुन खोज्नेले दृष्टि सम्यक् राख्नुपर्दछ। सम्यक् दृष्टिको अर्थ जीवनमा आइलाग्ने कुनै पनि परिस्थिति र घटनाप्रति कथा नबनाई, प्रतिकूल अनुकूल जे हुन्छ त्यो अस्तित्वको मर्जी होला भन्ने स्वीकार भाव हो। अस्तित्व मंगलमय छ,उसको सृष्टि हौँ हामी, उसले हाम्रो मंगल नै चाहन्छ र मंगल नै गर्छ भन्ने विश्वासका साथ स्वधर्मको पालना गर्नु आत्मविश्वासको गुण हो। भगवान् बुद्धले भनेझैं–

न परेसं विलोमानी,न परेसं कताकतं।

अत्तनो व अवेक्खेय,कतानी अकतानी च।

अर्थात्, अरूलाई दोष दिने र अरूको कृत–अकृत कर्मलाई व्याख्या गर्नु र अरूप्रति ध्यान दिनुभन्दा मेरो कर्म र स्वभाव कस्तो छ, मेरो दृष्टि कस्तो छ, त्यसमा ध्यान दिनु श्रेयष्कर हुनेछ। अरूप्रति आश्रित हुनु र अरूलाई दोषी देख्नुभन्दा वर्तमान परिस्थितिमा म के असल कर्म गर्न सक्छु र चुनौतीको बीचमा पनि आफूलाई कसरी सम्हाल्न सक्छु, त्यसमा ध्यान दिनु स्वधर्म हो। स्वधर्मको अभ्यासले नै व्यक्ति आत्मवान् बन्न सक्छ र आत्मविश्वासमा अडिग रहन सक्छ।

मंगलभावमा रहनु 

व्यक्ति शिक्षित, सम्पन्न, उच्च पदस्थ भए मात्र अरूको मंगल सोच्छ, अरूको भलाई नै चाहन्छ भन्ने हुँदैन। उसको मन र विचारले ईर्ष्या, द्वेष, घृणा र तेरो–मेरो भन्ने भावमा पुर्‍याइहाल्छ। त्यसैले त व्यक्ति आत्मविश्वासका साथ जीवन बाँच्न असमर्थ भइरहेको हुन्छ। सबैको भलो चिताउने, सबैप्रति सकारात्मक सोच्ने व्यक्ति आफैंमा विश्वस्त र मस्त रहन सक्छ। मानिसले मानिसको भलो चिताउने मात्र होइन, सृष्टिका सबै रचनाप्रति प्रेमभाव दर्शाउनु पनि मंगल भावको लक्षण हो र यस्तै व्यक्ति आत्मविश्वासका साथ खुलेर जीवन बाँच्न सक्छ।

सात्त्विक गुणमा रहनु

आत्मविश्वास बढाउन चाहनेले आफ्नो गुणवत्तालाई सात्त्विक राख्न सक्नुपर्छ। त्यसो त रजोगुण र तमोगुणलाई रोज्ने अवसर पनि हामीसँग छ तर आफ्नो आत्मविश्वास कायम राख्दै सरल, सहज र सफल जीवनका लागि सतोगुण नै उत्तम मानिन्छ। यी तीन गुणले हाम्रो चेतनाको तीन अवस्थालाई जनाउँछ– जागृत अवस्था,सुषुप्त अवस्था र स्वप्न अवस्था। रजोगुणको प्रधानता भएमा हामीमा उत्तेजना, विचार, इच्छा र वासना बढ्छ, अर्थात् कामना र आशक्ति बढ्छ। हामी कि त धेरै खुसी कि त धेरै उदास रहन्छौं। जब तमोगुण प्रधान हुन्छ,तब हामी सुस्त, अल्छी र भ्रमको सिकार हुन्छौं।

हाम्रो स्वभावमा यो गुणको विकास हुनमा हाम्रो भोजनका प्रकारले पनि प्रभाव पार्छन्। किनकि, हाम्रो भोजनमा तीन गुण विद्यमान हुन्छन्। हाम्रो मन पनि यही तीन गुणबाट प्रभावित र निर्देशित हुन्छ। फलतः हाम्रो आनीबानी, बोलीव्यवहार, आचरण वा प्रवृत्तिमा यी तीन गुण देखिन्छ। रजोगुण र तमोगुण हाम्रो रोजाइ हो भने सतोगुण हाम्रो आर्जन हो। मानिसमा मात्र होइन, पशु पनि यही तीन गुणबाट सञ्चालित हुन्छन्।

यद्यपि उनीहरूमा कुनै असन्तुलन हुँदैन,न तिनीहरूले आवश्यकताभन्दा बढी खान्छन्, न अधिक काम गर्छन्, न अधिक कामवासना देखाउँछन्। उनीहरूमा केही कुरा धेरै वा थोरै गर्ने स्वतन्त्रता पनि हुँदैन। जबकि मानिस जे गर्न पनि स्वतन्त्रता महसुस गर्दछ। राम्रो गर्न वा खराब गर्न, धेरै गर्न वा कम गर्न– मानिससँग यो स्वतन्त्रतासँगै विवेक पनि छ तर त्यो विवेकको सही प्रयोग भयो भने आत्मविश्वासमा बाँच्न सक्छ।

सम्यक् संकल्प

आत्मविश्वासमा अडिग रहन संकल्पको विज्ञानलाई जीवनमा उतार्नुपर्ने हुन्छ। किनकि, व्यक्ति जति संकल्पवान् हुन्छ, त्यति नै आत्मविश्वासमा बाँच्न सक्छ। अतीतका असफल कर्म र कथाबाट मुक्त भएर नयाँ कार्यको थालनी गर्नु संकल्प हो।

‘अति सुन्दर मानव जीवन यो, अझ सुन्दर पार्ने कसो गरी हो’, कवि धरणीधर कोइरालाले भनेझैं यो सुन्दर मानव जीवनलाई दुःख मुक्त गराएर अझ सुन्दर बनाउनमा हाम्रो संकल्प आवश्यक छ। आत्मवान् हुनु र आफ्नो जीवनलाई सही मार्गमा लैजानु सम्यक् संकल्प हो। जो आत्मवान् छ, जसमा आत्मज्ञान छ, उसले भौतिक र आध्यात्मिक दुवै रूपमा सफलता हासिल गर्न सक्छ।

सम्यक् आहार, विहार, आचार, योग ध्यानको अभ्यासलाई निरन्तरता दिँदै विगतका घटनाबाट पाठ सिक्ने व्यक्ति सही मार्गमा छ भन्ने प्रमाणित हुन्छ। सामान्यतः मानिस विगतका असफलता मात्र सम्झिन्छ, सफलतालाई भुल्छ। विगतका सफलताको याद गर्दै अब पनि कसरी सफल हुने भन्ने सकारात्मक सोचसहितको व्यक्ति नै आत्मविश्वास भएको व्यक्ति कहलाउँछ।

प्रकाशित: ११ मंसिर २०७८ ०४:०१ शनिबार

अक्षर