ललिता ‘दोषी’
लाग्छ मलाई तिमी
आकाशका जून हौ,
कहिल्यै नओइलाउने
अजम्बरी फूल हौ,
दियौ साथ सबैलाई
आफैं डुबेर पनि
के उपमा दिऊँ तिमीलाई
तिमी हौ एक अनमोल मणि।
एउटा सिङ्गै पहाडजस्तै स्वाभिमानी व्यक्तित्व यसरी निरीह हुन्छन्। मैले कल्पनासम्म पनि गरेकी थिइनँ। जब उहाँकै निवासमा उहाँलाई एकान्तमा टोलाइरहेको देखेँ, मेरो मुटुमा सयौँ सुइराले रोपेझैँ असह्य भयो। उहाँको जीवनका बारेमा किताबै लेख्ने थुप्रै विषयवस्तु छन्। मैले व्यक्तिविशेषको बारेमा लेख्न खासै कलम नचलाएकीले गर्दा म अलमल्लमा परेँ। उहाँको बारेमा नलेखी मनले सुखै दिएन। मेरो आँखाभरि, मनभरि उहाँ नै सलबलाइरहनुभयो। त्यसैले टुटेफुटेका शब्दमा आदरणीय पितासमान भिनाज्यूको बारेमा केही शब्द कोर्ने अठोट गरेँ।
मलाई लीला दिज्यूको विवाह शेरबहादुर भिनाज्यूसँग भएको कुरा थोरै मात्र याद छ। जब उहाँलाई चिनेँ, उहाँका संघर्षका कथाहरू सुनेँ। साँच्चै एकादेशको कथा सुनेझैँ आश्चर्य लाग्यो। मान्छेले चाहेमा जे पनि गर्न सक्दो रहेछ भन्ने प्रेरणा उहाँबाट नै मिल्यो।
मलाई मात्र होइन, जोकोहीलाई पनि प्रेरणाको स्रोत बन्ने कथा छ उहाँमा। उहाँको जीवनका कथाहरू सुनेपछि जीवनदेखि हार खाएका जोकोहीमा पनि ऊर्जा थपिन्छ। मान्छेमा भएको हिन भावना सिनित्तै पखालिन्छ। हुन त उहाँको बारेमा रेनुका भट्टराई, सीताराम नेपाल, विन्दु अधिकारी ढकाल आदिले लेखिसक्नुभएको छ। मैले थोरै मात्र कुरा कोट्टयाएँ ता कि कोही लरखराएकाहरूले पनि उहाँको जीवनको कथा पढेपछि शिखर चुम्न सकून्।
उहाँ अर्थात शेरबहादुर केसी (कुँवर) को जन्म विसं २००२ भदौ ४ गते सोमबारका दिन गुल्मीको अम्मरपुरमा भएको थियो। त्यसताका गाउँमा स्कुल थिएन। अर्को कुरा, आमाले दोस्रो विवाह गरेपछि आमा र उहाँ नयाँ बाबुसँग आसाम पुग्नुभयो।
चौध वर्षको उमेरमा आसाम ‘राइफको रिगरुट ब्वाई’ मा भर्ती हुनुभयो। दुई वर्षको कठोर तालिम गरेपछि चीनसँगको लडाइँमा जानुभयो। त्यो लडाइँमा भाग्यले उहाँ बाँच्नुभयो। उहाँको जेठो मामाका छोरा भाइ कुलचन्द्र गौतमले सन् १९६३ मा लेखेको चिठीले उहाँलाई मर्माहत पार्यो। चिठीमा ‘देशका लागि केही गर्नुपर्छ, आउनुहोस्’ भन्ने कुरा थिए।
एउटा चिठीको भरमा उहाँ खाइरहेको जागिर छोडेर ‘आफ्नै देश नेपालमै केही गर्नुपर्छ’ भनेर फर्कनुभयो। उहाँसँग तीनचार कक्षा मात्र पढेको योग्यता थियो। उहाँ नेपाल फर्किंदा २३ वर्षको हुनुहुन्थ्यो। एकैचोटि ‘दस कक्षामा पढ्छु’ भनेपछि कुनै स्कुलले पनि भर्ना लिएन। अन्त्यमा युवन माध्यमिक विद्यालय, पकनाजोल पुगेपछि ‘पास फेल तपार्इंको जिम्मा’ भनेर भर्ना गरिदिए। उहाँको आर्थिक अभाव त्यस्तै थियो। आधा पेट भात र पानी पिएर दिनरात कटाउनुहुन्थ्यो। यस्तो स्थितिमा पनि करिब दुई महिनाको पढाइले उहाँ दस कक्षामा दोस्रो हुनुभयो। एसएलसी पनि दोस्रो डिभिजनमा पास गर्नुभयो।
नेपाल सरकारको मुखियादेखि लिएर महासचिवसम्म हुनुभयो। उहाँ २०५१ सालमा आयल निगमको जिएम पनि हुनुभयो। उहाँ ज्ञान निकेतन उच्चमाध्यमिक विद्यालयमा संस्थापक प्रिन्सिपल हुनुहुन्छ। उहाँले वरिष्ठ साहित्यकार मुक्तिनाथ शर्मासँग मिलेर एउटा पुस्तक पनि निकाल्नुभएको छ। यी त भए उहाँका जीवनका सङ्घर्षका पाटाहरू तर म उहाँको व्यावहारिक पाटोको बारेमा लेख्दै थिएँ। थोरै उता पनि कलम चिप्लाउनुपर्ने थियो, त्यसैले चिप्लाएँ।
उहाँको महानताको कुरा गर्दा कसरी कहाँबाट सुरु गरौँ, म अलमलमा छु र पनि थोरै लेख्दैछु। हाम्रो पारिवारिक कुरा गर्दा हामी दस भाइबहिनी थियौँ। लाला दिज्यू र श्यामचरी दिज्यूको विवाह भएपछि लीला दिज्यूले नै बाबाको काँध थाम्नुभएको थियो। ठूलो दाज्यू प्राडा राज दाज्यू, सुरेश दाज्यू, डा. दिनेश क्षेत्री (गजुरेल) भाइ नहुर्किउन्जेलसम्म र हुर्किसकेपछि पनि उहाँले कहिल्यै साथ छोड्नु भएन। बाबा लीला दिज्यूलाई छोरा नै भन्नुहुन्थ्यो। हाम्रो तपस्या नै भन्नुपर्छ, हामीले मान्छेको रूपमा देवताजस्तै भिनाज्यू पनि पायौँ।
उहाँको उदार हृदयको जति नै प्रशंसा गरे पनि कम हुन्छ। नढाँटी भन्दा शेरबहादुर भिनाज्यूजस्तो उदार दिल भएको मान्छे मैले भेटेकी नै छैन। न कसैमाथि रिसराग छ न ईर्ष्या छ। उहाँ सबै फले, फुलेको देख्न चाहनुहुन्छु।
मैले साहित्यमा थोरै केही गरेकी छु भने पनि त्यसमा उहाँको ठूलो देन छ। उहाँले २०४२ सालमा मलाई कविता सङग्रह निकाल्न सहयोग हुन्छ भनेर ५०० रुपैयाँ दिनुभएको थियो। मैले त्यसबेला कवितासङ्ग्रह निकाल्न सकिनँ। त्यो पैसामा बाबा र दाज्यू राजले पैसा थपिदिएपछि मैले आधा तोलाको एक हजार सात सयमा रिङ बनाएँ। त्यो बेलामा पाँच सय भनेको धेरै पैसा हो। आमा बेलाबेलामा भन्नुहुन्थ्यो– “शेरबहादुर ज्वाइँजस्तै अति सहयोगी मेरो ठूलो ज्वाइँ श्यामचरीको दुलाहा पनि हुनुहुन्थ्यो।”
मलाई भने शिवशङ्कर भिनाज्यूको सम्झना छैन, उहाँ चाँडै नै बित्नुभयो।
शेरबहादुर भिनाज्यूले जोसँग मेरो परिचय गराउँदा पनि भन्नुहुन्थ्यो– “उहाँ त ठूलो साहित्यकार हुनुहुन्छ ललिता ‘दोषी’।”
उहाँको परिचयलाई सार्थक बनाउन पनि मलाई लेख्नुपर्छ भन्ने भावना भित्रैदेखि उब्जिन्थ्यो। म निरन्तर लेखिरहन्थेँ, यो त मेरो कुरा भयो।
उहाँ प्रत्येकका आँखाको नानीझैं हुनुहुन्छ। शेरबहादुर भिनाज्यूको र लीला दिज्यूका घरमा कहिल्यै पाहुना टुट्दैनथ्यो, टुट्दैनन् पनि। त्यहाँबाट कोही खाली हात र खाली मुख जाँदैनथे र जाँदैनन् पनि। मेरो विवाहको कुरा छिनेको पनि लीला दिज्यूकोमा नै हो। मेरो विवाह घरबाटै भए पनि मेरी काहिँली विमला सुवेदी दिज्यू, ठूलीकान्छी सुस्मिता शर्मा दिज्यूलगायत हाम्रा आफन्त दुईतीन जनाको विवाह उहाँको आँगनबाट भयो। आफू बिरामी पर्दासमेत सुस्मिता दिज्यूको छोरी प्रतिमाको विवाह हुन लाग्दा उहाँ साह्रै खुसी हुनुभयो। दाइजोका लागि पेन्सनबाट आएको पैसा दिनुभयो अरे ! लीला दिज्यू त्यसै भन्नुहुन्थ्यो।
कतारमा रहनुभएको मेरी ठूली मुमाको छोरा नारायण खत्री दाज्यूले फोन गरेर भन्नुहन्थ्यो– “नानी! कतारेले भिसा सिद्धिसक्दा पनि मलाई छोडेको छैन। भिनाज्यू बिरामी भएको सुनेपछि कहिले भिनाज्यूलाई हेरौँ जस्तै भएको छ। थाहा छ बहिनी, लीला दिज्यू र भिनाज्यू त देवता नै हुनुहुन्छ नि! म टुहुुराले पढ्न सकेको थिइनँ। उहाँहरूले गर्दा नै मैले पढ्न पाएर आज यहाँसम्म आइपुगेँ।”
निर्मला दिज्यूको छोरा निकेश सिंह, सुस्मिता दिज्यूको छोरा प्रवेश शर्मा पनि उहाँहरूकै स्कुलमा बोर्डस् बसेका हुन्। आफ्नै दाजुभाइले नपालेका गाउँको काका पर्नेलाई समेत केही नलिई धेरै समय उहाँहरूले पाल्नुभयो, अरू गरिब आफन्तहरूलाई पनि पाल्नुभयो। मेरी ठाइँली दिज्यू निर्मलालाई ‘त्यसले मेरा बच्चाहरू स्याहारेकी छे। बस्ने बासको व्यवस्था गराइदिनुपर्छ’ भनेर थोरै मोलमा आफ्नो जग्गा दिनुभयो।
मेरो विवाहका लागि केटा खोजिदिन उहाँहरूले लगाउनुभएको थियो। त्यति मात्र होइन, बुद्धनगरको जग्गा खोजिदिनेदेखि लिएर पास गर्नसमेत शेरबहादुर भिनाज्यू र लीला दिज्यू जानुभएको थियो। मेरी काहिँली दिज्यू विमला सुवेदीलाई भिनाज्यूले नै जागिरमा लगाइदिनुभएको हो। उहाँको त्यागका कथा थुप्रै छन्। भिनाज्यू दिज्यूले धेरैलाई उद्धार गर्नुभएको छ।
उहाँ मान्छेलाई मात्र होइन हर प्राणीलाई माया गर्नुहुन्छ। २०४० सालतिरको कुरा हुनुपर्छ, उहाँ जागिरको सिलसिलामा चरीकोटमा सरुवा हुनुभएको थियो। मेरा बाबाआमा, जानकी भाउज्यू, लीला दिज्यू, भाइ दिनेश, उहाँका छोराहरू विश्व, विजय, सञ्जय कुँवरलगायतलाई तातोपानी लैजानुभएको थियो। तातोपानीबाट फर्किंदा बाटोमा बाख्रो ब्याउन नसकेर छटपटिरहेको रहेछ। आमा सूर्यकुमारी लगायत सबैलाई त्यो दृश्यले असह्य पार्यो। आमाले आ पनि गर्न नपाउँदै भिनाज्यूले तुरुन्तै मान्छे र बाख्रालाई गाडीमा हालेर बाख्रा धनीले भनेकै ठाउँमा पुर्याइदिनुभयो। त्यस्तै बुहारीले बाटोमा भुस्याहा घाइते कुकुरलाई देखेर ल्याएपछि त्यो कुकुरलाई पनि उहाँहरूले पाल्नुभयो। अहिले पनि एउटी बिराली कहाँबाट आएर बसेपछि त्यसलाई पनि पाल्नुभएको छ।
यो कुरा पनि पनि २०४० सालतिरकै हुनुपर्छ, पलाञ्चोक भगवती जाँदा त्यहाँ थोत्रा सुकुलहरू देखेपछि ‘ल तपाईहरू राम्रो सुकुलमा बस्नुहोस्’ भनेर पैसा दिनुभयो। शङ्खमूलकै शङ्खविनायक मन्दिरमा पनि धेरै सहयोग गर्नुभएको छ। त्यस्तै आफ्नो जन्मभूमि अम्मरपुरमा पनि मन्दिर बनाइदिनुभएको छ।
कति गरिब विद्यार्थीहरूलाई पढाउनुभएको छ। उहाँ कहिल्यै हाम्रा बाबुआमाको ज्वाइँ हुनु भएन, सधैँ छोरा बनेर बाबाआमालगायत हामी सबैको मनमुटुमा बस्नुभयो।उहाँको उदारताको कुरा सम्झिँदा पनि मन भरिएर आउँछ।
आफ्ना छोराहरू विश्व, विजय, सञ्जय कुँवरका श्रीमतीहरू क्रमशः सिरु, ऋतु, मीरा कुँवरलाई आफ्नै छोरीहरूलाई झैँ माया गर्नुहुन्छ। नातिनातिनी भनेपछि उस्तै हुरुक्क गर्नुहुन्छ। आफू बिरामी हुँदा पनि उहाँले मेरो भाइबुहारी दिनेश र रश्मिको बच्चा हेर्ने रहर व्यक्त गर्नुभयो।
करिब दुई महिनाअगाडिको कुरा हो, एकदिन मैले भनेँ– “भिनाज्यू हजुरलाई भगवान्को उपमा दिएर केही लेख्ने मन छ।”
उहाँले धेरै बेर सोचेर भन्नुभयो– “मलाई भगवान् भनेर नलेख।” मलाई भने उहाँलाई जताबाट चिहाउँदा पनि ईश्वरझैं लाग्छ। कात्तिक २८ गते बेलुका लीला दिज्यूले फोन गरेर ‘नानू, भिनाज्यूलाई हस्पिटलबाट घर ल्याएँ’ भनेपछि मन खुसीले रमायो।
भन्न मन लाग्यो– भगवान् ,तिम्रो यो सुन्दर सृष्टिलाई लाख सलाम! सबैका प्ररेणाको प्रतिमूर्ति भगवान्को अर्को रूप हजुर पुनः डालीभरि ढकमक्क फुल्नुहोस्। हामी हजुर फुलेको हेर्न चाहन्छौँ। हजुर कदाचित् रोकिनु हुन्न, हजुर उठ्नुपर्छ, वेगवान् छालहरूलाई किनारा लगाउँदै लाखौँ बाटो बिराएकाहरूलाई डोर्याउँदै धेरै टाढा पुग्नुपर्छ, हो धेरै टाढा।
प्रकाशित: १० मंसिर २०७८ ०७:४० शुक्रबार