पूर्णिमा जी शाह
पवनको सुसेलीसँगै
कहिले रोकिंदै
अनि फेरि हल्लिंदै
हेर्दा बैंसले मातिएझैं लाग्ने
तर,
उन्माद यौवनले छिप्पिएका
ती बाँसका भौतिक शरीरहरूले
मलाई सुटक्क केही भन्दै छ।
म पनि सुन्दै छु,
साउती गर्दै भन्यो–
बर्षौदेखि म यही छु,
जहाँ म हिजो थिएँ
सुनसान लाग्ने मेरो बस्ती आज
कोलाहलले भरेको छ।
नयाँ मुहार सधैं फेरिरहन्छन्
म यही छु,
मेरो दृष्टि परपरसम्म पुयाउँछु
सपना फुलाउन धेरै र आए यहाँ
विपना लिई फर्के सबै
आफ्नो सपना फुलाउन
मेरा सन्ततीको हत्या गरे कतिले
म आज आफ्नै घेराभित्र अटल बनिरहेछु
म त जब पवन आउँछ
तब नै सुस्तरी गीत गाउँछु
साउती गर्दै मेरो मनको गाथा सबलाई सुनाउँछु।
प्रकाशित: ४ मंसिर २०७८ ०५:२८ शनिबार