कला

कटाक्ष

लघुकथा

खगेन्द्र बस्याल

सत्तरी बर्से उनले कपडाको कुम्लो पारेर घरबाट निस्कन लागेको देखेर बुहारीले भनिन्, ‘कहाँ जान लागेको?’

उनले भनिन्, ‘कहाँ जान लागेको जस्तो लाग्यो तिमीलाई।’

बुहारीले भनिन्, ‘देवघाट त होला नि। कुचाले बढार्नुपर्ने कसिङ्गर हावाले नै बढार्यो, ठीकै भयो।’

बुहारीको रवाफ देखेपछि उनले भनिन्, ‘म किन जाने देवघाट तर एउटा कुरा जाँदाजाँदै भन्दैछु। मैले छोरी मात्रै भएका छिमेकीलाई धाक लगाउँदै भन्ने गर्दथें। धन्न, भगवानले मलाई छोरा दिए। मेरो भविष्य उज्ज्वल हुने भयो। तिमी धेरै पढेकी दुलही बनेर घरमा भित्रिदा मेरो हर्षको सीमा थिएन तर समय क्रममा छिटै तिमीले मुखले आमा भने पनि व्यवहारले दासीको रूपमा हेर्न थाल्यौ।

त्यो अति भएर सहन नसकी जसलाई छोरी भनेर मैले नै हेला गर्दथें। उसकै शरणमा कहिल्यै नफर्कने गरी जाँदैछु।तिम्रा पनि छोराछोरी भइसके। उनीहरूले पनि जे देख्यो त्यही सिक्ने हो। मेरो भगवानसंग कामना छ, ‘मेरो यो अवस्था तिमीले पनि भोग्न नपरोस्।’

प्रकाशित: ३ मंसिर २०७८ ०७:२५ शुक्रबार

अक्षर