नवराज शर्मा
यसो घडी हेरी सुष्मिताले, रातको ११ बजिसकेछ। कति चाँडो समय बितेछ, थाहै भएन। सबैलाई विदा गरी हतारहतार ढोका लगाई। नविन निदाइसकेछ। खाईवरी ऊ पनि सुत्न गई।
बिहानदेखि फेरि उही दिनचर्या सुरु हुनेछ, बिहान ८ बजे क्लिनिक, १० बजे अस्पताल, बेलुकी ८ बजे क्लिनिक। धन्न घरमै क्लिनिक छ। त्यसैले उसलाई हाइसञ्चो छ। ढिलोचाँडोले खासै असर गर्दैन। उसलाई एउटै पीर छ नविन। उसको लोग्ने इन्जिनियर भएर पनि पैसा कमाउन सकेन।छरछिमेक मात्र होइन कति चिन्दै नचिनेकाहरूको काम पनि साइनो लगायो कि सित्तैमा गरिदिन्छ।
ऊ आजित भैसकी तर ऊ कुरै बुझ्न चाहँदैन। केही भन्यो भने हामीलाई नपुग्दो के छ भन्छ। तर्क गर्यो भने पैसा नै सबैथोक होइन भन्छ। ऊ मनमनै भन्छे, ‘हे भगवान्, कस्तो मान्छेको फेला परियो! पैसाको मोल त पटक्कै थाह नपाउने।
लामो सास लिन्छे, ‘आ ...पुनः आफ्नो ध्यान आजको हिसाबकिताबतिर लगाउँछे।
प्रयोगशालाबाट आउने कमिसन, औषधि पसलबाट आउने कमिसन, दिनभरि विरामी जाँचेर भएको कमाइ। मुसुक्क हाँस्छे।
एकदिन यसैगरी हिसाब गरिरहँदा नविनले भनेको थियो,‘डाक्टर भएपछि जे पनि खान मिल्दोरहेछ, होइन।’
–पैसा कमाउनु नराम्रो हो र?
‘कमाउनु नराम्रो होइन तर लुट्नु, सोहोर्नु र बटुल्नु राम्रो होइन पो भनेको’नविनको मुस्कान सधैजस्तो आकर्षक लागेन। कताकता व्यंग्य गरेजस्तो लाग्यो। किन हो किन कहिलेकाँही उसलाई त्यस्तै लाग्छ तर सधैं होइन।
सम्झी,भोलि नविनसंग बुबा भेट्न जानुछ। धेरै दिनभो बुबाले भेट्न बोलाउनुभएको। फोनमा भन्दै हुनुहुन्थ्यो, ‘डाँडाको जून भैसकियो,कति काम मात्र गर्छौ। एकदिन फुर्सद निकालेर भेट्न आओ न।’
सानैदेखि आफ्नो हिसाबकिताब गर्ने बानी सम्झी। सम्बन्धमा होस् कि व्यवहारमा। आमाबुबासंग आफूले कति माया पाएँ ,दाजुभाइ,दिदीबैनीले कति पाए। कसले कति गर्यो उसले कति गर्नुपर्ने हो। बाटोभरि यस्तै कुरा मनमा खेलिरह्यो। कुन बेला माइत आइपुगी थाहै भएन।
‘दर्शन बुवा।’ नविनको आवाजले झल्याँस्स भई। बुवा हाँसो गर्दै भन्दै हुनुहुन्थ्यो,‘बल्ल आज तिमीहरूलाई फुर्सद भयो,होइन? सुष्मी,तँ त गणितज्ञ हुनुपर्ने कसरी डाक्टर भइस?’
प्रकाशित: ३ मंसिर २०७८ ०४:४६ शुक्रबार