कला

विरोधाभाष

कविता

बोधराज पौडेल

परिवेशको वनभरि

जब फुल्छन् सुनाखरीहरू  

पहराको उराठीलाई सौन्दर्य छर्दै

त्यसैमा झरनाहरू झंकार भर्छन्

ती पवित्र स्नग्नताहरूमा

त्यसबेला कन्दराहरूको रूप  

अनि चराहरूको चिर्रविर्र पनि  

मलाई प्यारो लाग्छ।

मनभरि वसन्त फुल्दा  

ती काँढाहरू पनि मलाई  

साँच्चै सौन्दर्यका प्रतिक लाग्छन्  

उराठी र विरहको बेला  

ती कलि र फूलहरू  

खै ! किन उदास देखिन्छन्  

खिन्न  निदाउरा देखिनु नै  

वास्तवमा विरहको संकेत हो कि खै!

मान्छेभित्र प्रकृति  

र, प्रकृतिभित्र मान्छे  

सौन्दर्यका प्रतिमूर्ति  

र, दया सागरसँगै

यदाकदा दानवीय प्रवृत्ति घुस्दा  

मलाई फूलको विरोधी काँढा हो –

भन्ने अर्थ खुल्न आउँछ।

सायद काँढाहरूमा पनि

यही अहंमता होला  

त्यसैले ऊ फूललाई पछ्याइरहन्छ  

आदिदेखि अन्नतसम्म  

एउटा डालीमा विरोधाभाष भएर।  

प्रकाशित: १ मंसिर २०७८ ०८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App