कला

लक्ष्मी श्रेष्ठको ‘न्युयोर्क कोरोना डायरी’का अन्तर्यहरू

समीक्षा

खेमराज पोखरेल

संयोग

सन २०२१ को जुन महिनामा अमेरिकाको न्युयोर्क शहरमा कवि जानुका ढकालको कृति विमोचन समारोहमा संस्मरणकार लक्ष्मी श्रेष्ठ र म भेटिएका थियौँ। संयोग कोरोना कहरका कारणले त्यहाँ उपस्थित सबैको नाक र मुख मास्कले छोपिएको थियो। त्यसैले त्यो भेट नुन नहालेको तिहुनजस्तै भएको थियो।

समय अगाडि बढ्यो र स्रस्टा साँझ अमेरिकाद्वारा संस्मरणकार लक्ष्मी श्रेष्ठको ‘न्युयोर्क कोरोना डायरी’माथि परिचर्चा कार्यक्रम सञ्चालन गरिने भयो। यो कार्यक्रमका सञ्चालक अमेरिका ओक्लहोमामा प्राध्यापन गर्ने साहित्यकार विश्वराज अधिकारीज्यूले मलाई एउटा परिचर्चाकारको भूमिकामा उभ्याउनुभयो। यो पत्याइको संयोग जुराइका लागि हार्दिक आभार व्यक्त गर्दछु। पुुस्तक कम्युटरको भर्याङ चढेर मसमक्ष आइपुगेको छ। भनूँ म पनि यतिबेला यात्रामा छु। कृतिकार लक्ष्मी श्रेष्ठकै मुकाम न्युयोर्ककै छेउछाउमा आइपुगेको छु। संयोग यो पनि परेको छ कि म यही बेला न्युयोर्क कार्यपीठिका भएको ‘न्युयोर्क कोरोना डायरी’का पाना फिँजाएर बसेको छु।

कलेवर

कृतिको आवरण चित्रमा भानु भट्टराईका डायरी लेख्न तयार भएकी महिलाको कापीकलम सहितको माधुरी कलायुक्त आकृति स्केच छ। पुस्तकको पश्च भागमा कृतिकार लक्ष्मी श्रेष्ठको हँसमुख तस्विर तथा बायोडाटा छ। उहाँका २ कविता कृति प्रकाशित छन्। गीतहरू रिलिज भएका छन्। बैँक अफ अमेरिका, न्युयोर्कमा कार्यरत हुनुहुन्छ। प्रकाशक रत्नपुस्तक भण्डार रहेको छ। २०७७ सालमा प्रकाशन भएको यो पुस्तकको लेआउट वसन्तराज अज्ञातले गर्नुभएको छ। मूल्य नेपाली रुपियाँ ४७५ र अमेरिकी डलर १० रहेको छ। कोरोनाले आतङ्कित पीडित विश्वका सम्पूर्ण मानवजातिमा समर्पण गरिएको छ।

अनेसास बोर्ड अफट्रस्टिज साहित्यकार गीता खत्रीले सर्जक लक्ष्मी श्रेष्ठलाई ‘शुभाशिष्’ शीर्षकमा ‘कोरोना भाइरसको इपिसेन्टर बनेको न्युयोर्कको क्वीन्समा बसेर, त्यो भयावह स्थितिलाई आफ्नै आँखाले देखेर भोगेर तयार गरिएको यो सिर्जना एउटा ऐतिहासिक दस्तावेजको रूपमा विश्वमा अमर रहनेछ भन्ने भैले ठानेकी छु’ भन्नुभएको छ।

वास्तवमा यो कृतिको नौनी सार पनि यही हो। अर्को भूमिका वरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोरको छ। उहाँले ‘ठिङ्ग उभिरहेको रुखलाई डरलाग्दो हुरीले थप्पड मारिरहेझैँ मर्दैमर्दै बाँचिरहको जीवनको चित्रण छ न्युयोर्क कोरोना डायरीमा’भनेर लेख्नुभएको छ। यो भनाइले एउटा कहालीलाग्दो चित्र प्रस्तुत गरेको छ।

वरिष्ठ साहित्यकार तथा सम्पादन कलामा निपूर्ण विमल भौकाजीको चमत्कारिक कवितात्मक शैलीको नवीन सम्पादकीयमा ‘एक्काईसौँ शताब्दीको विद्रुप रूप, यो किताव, आतङ्क सन्त्रास, भविष्यमा पढिने दस्तावेज न्युयोर्क कोरोना डायरी’लेखिएको छ। यसपछि ४४ वटा डायरी/संस्मरणको सूची रहेको छ।

विषयवस्तु

उपर्युक्त कृतिलाई डायरी तथा संस्मरण भनिएको छ। कृति शीर्षकले न्युयोर्क, कोरोना र डायरीको परिधिमा विषयवस्तु भएको सङ्केत गरेको छ। त्यसकारण जाहिर छ कि कृतिभित्र कोरोना कहरलाई विविध पाटाबाट अनुभूतीय झस्काहरू छन्।

कृतिको शीर्षक नै ‘न्युयोर्क कोरोना डायरी’ रहेको छ। यो कृतिको प्रयोजन पनि कृतिकार लक्ष्मी श्रेष्ठले न्युयोर्कमा बाँचेको भोगेको कोरोनामय परिवेशको अनुभूतिय झिल्का पस्कनु हो किनभने कृतिकार बाँचेको संसार कोरोनामय छ। 

कृतिकार लक्ष्मी श्रेष्ठ आफैँलाई तथा आफ्नो परिवारलाई कोरोना लागेको, भोगेको र पर्गेलेको अनुभव छ। त्यो कोरोना कहर भोगेको हुनाले पुस्तकभित्र कोरोनालाई स्वाभाविक रूपले विषयवस्तु बनाइएको छ।

लक्ष्मी श्रेष्ठको ‘न्युयोर्क कोरोना डायरी’

त्यसकारण यो पुस्तक एक कोरोना पीडित भुक्तभोगीकोअनुभवको प्रस्तुतिकरण हो। याने विद्रुप परिवेशको अनुभूतिको प्रकटीकरण हो। कृतिभित्र कोरोना आतङ्कले छाएको संसार छ।

 कोरोना कहरका बेला काम गर्न जानुपर्ने र विविधखाले मान्छेसँग सम्पर्क गर्नु पर्दाको मनोविज्ञान याने कि पीडा व्यक्त भएको छ। बाँच्नका लागि खानु नै पर्ने हुनाले अन्नपानीको जोहो गर्नु पर्दाका अप्ठ्याराहरू छन्। कोरोनाले उब्जाएको जनताका सामाजिक, भौतिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक अप्ठ्याराले डामेको डामहरू छन्।

नेपालमा जस्तो एकोहोरो सरकारलाई गाली मात्र छैन कृतिमा। सरकारका अप्ठ्यारा/सप्ठ्याराहरूको नागवेली ज्ञान पनि छ। जसअपजस छ। कोरोना कहरले कृतिकारको ब्लड प्रेसरको ग्राफ बढाएको अनुभूति यसै कृतिमा छ। कृतिकार आफैँ भुक्तभोगी भएकाले कोरोना लाग्दाको द्वन्द्वात्मक मनोविज्ञानलाई एकदम मिहीन तरीकाले उल्लेख गरिएको छ।

यो कृतिमा महिनैपिच्छेको जस्तो कोरोनाले पारेको हताहतका बारेमा प्रक्षेपित विद्रुप तथ्याङ्क प्रस्तुत गरिएको छ। तिथिमिति सहित कोरेनाको हताहतीको तथ्याङ्कका कारणले यो कृति निबन्धीय इतिहास हो जसले पछिसम्म कोरोना महामारीका कहर तथा आतङ्कको बारेमा सत्यतथ्य बताउने छ। त्यसैले यो कृति पढिरहँदा आङ सिरिङ्ग गर्दछ। रौँहरू ठाडा भएर चेतको प्रतिरक्षामा उभिन्छन्।

पुस्तकभित्र आतेस, पीडा, कहर, दुर्भाग्यको बयान मात्र छैन। बरु कोरोनाले उब्जाएका पीडाहरूबाट मुक्ति पाउन गर्नुपर्ने साहसिला कामहरू, सतर्कताका कामहरू तथा आँटिला काम कसरी गर्नुपर्छ भन्ने सन्देश पनि छ।

कृतिकारको कोरोनाका परिवेशका बारेमा प्रष्ट दृटिकोण आएको छ कि कोरोनाका बारेमा अनुचित तथा नचाहिने हल्ला चलाएर मानव संसारलाई त्रसित बनाउने, मान्छेको आत्मबल तथा मनोबल गिराउने वा कृत्रिम अवस्था सिर्जना गर्ने घोर अपराधी हुन्।

त्यसैगरी अति विशिष्ट अत्यावश्यक सेवामा परेका स्वास्थ्यकर्मीहरू, स्यानिटेसनको सम्पूर्ण कर्मचारीहरू, एमटीएका सम्पूर्ण कर्मचारीहरू फायर फाइटर आर्मी, प्रहरी, सफाइका कर्मचारी आदिआदि कर्मचारीहरूको कामप्रति गर्व, सम्मान, माया तथा इमोसन प्रकट गरिएको छ। जीवनका प्रति विपदमा पनि आत्मबल राख्ने दृष्टिकोण पस्केर सकारात्मक सोच प्रदान गरेको छ यो कृतिले।

कोरोनाकालमा न्युयोर्कका समाचार सुन्दा लाग्दथ्यो कि त्यो शहर मान्छेका लासमा परिणत भएको छ। त्यसमाथि पनि न्युयोर्कको अति घनत्व बसोबास क्षेत्र क्वीन्समा कोरोनाको प्रभाव व्यापक थियो। यस्तो महामारीका बेला संसारभरिका आप्रवासी मान्छेले कोरोनाका कारणले मृत्युवरण गर्न पुगेका थिए। तिनमा नेपालीहरूको पनि मृत्यु भएको यथार्थ चित्र छ र ती मृत्युमा कृतिकारको हृदय चिरिएको दृश्य यो कृतिमा पढ्न पाइन्छ।

उदाहरणका लागि आफू निकट रहेका नवीन लिम्बू,अजय छोँचुन तथा पवन मल्ल लगायत ६ जना नेपालीको कोरोनाको कारणले मृत्यु भएकोमा कृतिकारको हृदय छट्पटाएको दृश्य देखिन्छ। ती दिवङ्गत नेपाली आत्माको सम्मान तथा श्रद्धाञ्जली दिन दीप प्रज्ज्वलित गरेर दुख व्यक्त गरिएको छ।

कृतिकार फेसबुकमा आएका कोरोना हताहतीका समाचार तथा श्रद्धाञ्जली हेरेर भावविभोर भएको क्षण एकातिर छ भने अर्कोतिर तर आफैँले चिनेका धेरै नेपाली परिवारले कोरोनालाई जितेको खवर सुनेर बाँच्ने आशाको त्यान्दो पलाएको छ।  साथीभाइका फोनहरू बाँच्ने सहारा यो कहरका बेला बाँच्ने सहारा भएको मनोवैज्ञानिक कुरा पनि यही कृतिमा उल्लेख छ।

कृतिभित्र कोरोना कालमा अमेरिकी सरकारले आफ्ना सबै नागरिकलाई आर्थिक सहयोग गरेको यथार्थ पस्किएको छ। अर्कोतिर कोरोनाले ल्याएको बेरोजगारी, बजारमा सामानको सङ्कट, उचालिएको दरभाउ, महँगो बेसाहा जस्ता सामाजिक जीवनमा भोगिएका विषयवस्तु पनि यो पुस्तकमा आएका छन्।

स्वाभाविक रूपले कृतिकारको मन कोरोनाले वशीभूत भएका बेलामा पनि नेपाल पुगेको छ। किनभने प्रवासमा बसेको एउटा नेपालीले नेपाललाई झन् धेरै सम्झन्छ। कारण ऊबाट मातृभूमि नेपाल गुमेको हुन्छ र मान्छेले आफूबाट जे गुम्यो त्यसैलाई झन् धेरै सम्झन्छ।

अमेरिकामा बसाइँ सरेका पहिलो पुस्ताका नेपालीलाई नेपाल निकै ठूलो विषय हो। नेपाल भन्नु प्रवाशीका लागि अति महत्त्वको मनोवैज्ञानिक झट्का दिइरहने विषय हो। यो बिर्सेर वा अर्को देशको नागरिकता लिएर हराउने प्राविधिक कुरा होइन। यही पृष्ठभूमिमा कृतिकार आफै अमेरिकाको प्रथम पुस्ताको नेपाली भएकाले उहाँमा नेपाल दुख्नु स्वाभाविक हो। त्यसैले यो पुस्तकभित्र नेपालको गौरव, परम्परा तथा विशालताको चर्चा छ।

नेपाल पनि विकसित भइदिए हुने भन्ने कामना छ। प्रार्थना छ। साथै नेपालमा भएका विविधखाले भ्रष्टाचारमा पनि नजर पुगेको छ। नेपालको राजनीतिक अवस्थाप्रति चिन्ता देखिन्छ। नेपालको सामाजिक अवस्थाकाप्रति चिन्ता छ तथा देश नसप्रेकोमा पीडाबोध छ। त्यसैले यो पुस्तकले नेपाललाई प्रतिनिधि रूपमा खल्र्लप्पै बोकेको छ।

कृतिकारले कोरोनालाई व्यक्तिगत रूपले भोगेको मात्र होइन, न्युयोर्कको क्वीन्समा याने कि सायद संसारकै आप्रवासी घनत्व भएको ज्याक्सनमा बसेर कोठाका झ्यालबाट कोरोनाले लपेटेको सुनसान दृश्य पनि देख्नुभएको छ। मृत्युलाई नजिकबाट नियाल्नुभएको छ।

यसरी मृत्यु आफ्नै छेउबाट गएकाले उहाँको जीवनको चिन्तनमा फरक पारेको छ। मृत्यु एउटा सत्य हो भन्ने तथा जीवन बाँच्दाका अस्मेल ऊहापोहलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको प्रतीत हुन्छ। याने कि कोरोनाले लेखकलाई जीवनबोध गराएको छ। आत्मबोधीय छन् संस्मरण। मृत्युको भय नाचेको छ। जीवनका राम्रा र नराम्रा पक्षको पहिचान गरिएको छ। जन्म र मृत्युका सत्यका बीचमा उभिएर बाँचेको मान्छेको परिवेशलाई सुन्दर तरिकाले उजागर गरिएको छ। याने कि तत्वबोधीय छन् संस्मरण। एउटा उदाहरण हेरौँ —

रुखका पातहरू पहेँलै रङमा रङ्गिएर हावाको झोक्कासँगै भुइँमा झरिरहेका थिए, मान्छेको जीवनचक्रजस्तै। हो, रुखका पातहरू त झर्छन्, फेरि पलाउँछन् तर मान्छे?

कृतिकारको मुकाम अमेरिकामा छ। त्यसकारण कृतिभित्र अमेरिकी सभ्यता, संस्कृति, चालचलन, चाडपर्व समेटिएका छन्। यही प्रसङ्गमा कृतिकारका मनमा अमेरिकी छिमेकी तथा नेपालका छिमेकीहरूका सम्झना तरेलीतरेलीमा आएका छन्।अमेरिकी जीवनलाई भरमग्दुर प्रकाश पारिएको छ। अमेरिकी जीवनमा क्रेडिटको महत्त्व तथा अमेरिकाको बियर सभ्यतालाई चर्चा गरिएको छ।

अमेरिकाको इतिहासमा जन्म दिनको रूपमा स्वतन्त्रता दिवस मनाइने जुलाई ४ को महत्त्वका बारेमा प्रकाश पारिएको छ। यसैभित्र श्वेत– अश्वेतको रङग भेदका कुरा पनि समेटिएको छ। अमेरिकी राजनीतिको प्रसङ्ग कोट्याउँदै नेपालको राजनीतिसँग तुलना गरिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पको संसद् भवनमाथिको आक्रमणलाई निन्दा गरिएको छ। अमेरिकाका चाडबाडको वर्णन छ। ब्ल्याक फ्राइडेमा रमाएको कुरा छ। अमेरिकामा बसेर पनि नेपाली तथा नेवारी परम्परा मानेको कुरालाई सगौरव व्यक्त गरिएको छ।

सङ्ग्रह कृतिकारको डायरी तथा संस्मरण भएकाले निजात्मक अनुभूतिजन्य घटनाहरू स्वाभाविक रूपले प्रस्तुत गरिएका छन्। आफ्नै बाइसौँ विवाह उत्सवका दिन आफ्नै जीवन सम्झेको कुरा निजात्मक शैलीमा प्रकट भएको छ। आफैँ कसरी अमेरिका छिरेको भन्ने बारेको फिहिरिस्त छ। सो फिहिरिस्तमा नेपालमा गरेको सङ्घर्षका कथा तथा अमेरिकामा बिरामी पर्दाको मनोवैज्ञानिक अवस्थालाई कलात्मक रूपले प्रकट गरिएको छ।

अमेरिकाका प्रारम्भिक दिनमा गरेको संघर्षका मजेदार डायस्पोरिक कथा छन् यो सङ्ग्रहमा। छोरो जन्मेकोमा आएको खुसी व्यक्त गरिएको छ। कृतिकारको धर्मिक आस्थामा विश्ववन्धुत्वको कुरा छ। मातातीर्थे औँसीमा आमाको सम्झना, आमाको ममता, आमाको दायित्वका साथै असल श्रीमान् प्राप्त हुँदाको जीवनको रमाइलो क्षणको बारेमा चर्चा गरिएको छ।

यो क्रममा आलेखकारले आफ्नै पिताको सम्झना, साथीभाइको सम्झना, दिदीबहिनीको सम्झना तथा समग्र पारिवारिक परिवेशको सम्झना गरिएको छ।

विशेषता

कृतिभित्र गवेषण गरिरहँदा कृतिकारको मनोगत, भावगत वा चेतगत विशेषताका बारेमा केही ज्ञात हुन्छ। कृतिकारभित्र अनुभव तथा अनुभूतिको अस्मेल भकारी छ। कृति पढिरहँदा यस्तो लाग्छ कि आफ्ना अनुभूतिहरू भन्नु धेरै छ तर समय कम छ। त्यसैले ती अनुभूतिहरू छिटोछिटो छोटोछोटो प्रकट गरिएका छन्।

कृतिभित्रका लेखनीमा कहीँ लपनछपन छैन। कृतिकारको यो एउटा मजाको विशेषता हो। कृतिकारका दिमागको उडानमा जे फेला पर्यो ती सबै अटाएका छन्। लेखिरहँदा सैद्धान्तिक आलीधुर हेरिएको छैन। यद्यपि लेखकले आलीधुर हेर्ने पनि होइन। दिमागमा आएको मनोवेगलाई छिटोछिटो उतार्नु नै वाञ्छनीय हुन्छ असल साहित्यकारका लागि। नत्र त त्यो मनोवेग निमेषमै हराउन पनि सक्छ। 

त्यसकारण कृतिका आलेखभित्र प्रवेश गर्दा कथ्यहरू वायुपङ्खी घोडाजस्तै आवेगका साथ कुद्छन्। कृतिकारको निजात्मक भावनाले अमेरिकाको न्युयोर्क पेरिफेरीमा घुम्दाघुम्दै नेपालको आफ्नो जन्मस्थान सुन्दरीजल पुग्छन्।

कृतिभित्र इमान्दार लेखनी छ। विषयको अन्तर्यसम्म प्रवेश गरी हृदयका माध्यमबाट लेखिएको हो जस्तो लाग्छ कृति। सायद यी हरफहरू लेखिरहँदा कृतिकारका आँखामा आँसु आएको हुनुपर्छ। हृदयको स्पन्दनबाट लेख्नु कृतिकारको विशेषता देखिन्छ। यो कृति पढिरहँदा कृतिकारको हृदय सफा होला भनी अनुमान गर्न सकिन्छ। विश्वभरिका मान्छेकाप्रति समभाव होला याने कि वसुदैव कुटुम्वकम्को आदर्शमा कृतिकारको सोच होला जस्तो लाग्छ।

कृतिकारको पारिवारिक पृष्ठभूमि हेर्दा उच्च मध्यमवर्गको देखिन्छ। त्यसकारण कृतिभित्रका आवेग तथा मनोवेगमा पस्किएका निजात्मकताले यही उच्च मध्यमवर्गका पीडाहरूलाई उजागर गरेको छ।

भाषामा सरलता कृतिकारको विशिष्ट विशेषता हो। कृतिभरि भाषा सरल र सलल बगेको छ। सरल शब्द छन्। त्यसकारण बोधीय छन्। न्युयोर्कको जीवन भएकाले त्यहाँको दैनिन्दिनी जीवनसँग आउने शब्द पनि सुन्दर तरीकाले व्यक्त भएका छन्। अङ्ग्रेजी शब्दलाई पनि सकभर सरलीकरण गरिएको छ। उल्लेख गरिएका सम्वाद एकदम दुरुस्त छन्। स्वाभाविक छन्। जस्तै सकुन दिदीको ‘क्यार्नी’ कतै सियोस्, कतै बक्सियोस् जस्ता आदरार्थी शब्दहरू प्रयोग भएका छन्।पात्रले जस्तो बोल्छ त्यस्तै भाषाको प्रयोगले सुन्दर बनाएको छ पुस्तकलाई।

सम्वाद अङ्ग्रेजी भाषामा पनि छन्। यो कुरा नेपालमा आश्चर्य लागे पनि न्युयोर्कमा नेपालीले बोल्ने कथ्य भाषामा अङ्ग्रेजी शब्दपर्याप्त हुने कुरालाई कृतिकारले जस्ताको तस्तै समेटेको हुनाले स्वाभाविक र सुन्दर बनेको छ कृति। शब्दमा संस्कृति झल्किएको छ। नेवारी संस्कृतिका शब्द सुकुन्डाको प्रयोगले यो कुराको पुष्टि गर्दछ। त्यसकारण भाषाका माध्यमबाट सभ्यता, संस्कृति तथा परम्परालाई पनि उजागर गरिएको छ।

कृतिकारको अर्को विशेषता भनेको धैर्य, मेहनत तथा पीडामा सकारात्मक सन्देश दिनु रहेको छ। जीवनकाप्रति नकारात्मक सन्देश कृतिमा पाइन्न। जीवनलाई सुन्दर झ्यालबाट हेर्नु र सुन्दर आभा देख्नु कृतिकारको विशेषता रहेको छ।

केही अर्जी

संस्मरण सङ्गहको शीर्षक ‘न्युयोर्क कोरोना डायरी’ एकदम मीठो छ। प्रस्ट छ। चुस्त र दुरुस्त छ। यो शीर्षक चयन चेतका लागि संस्मरणकार बधाईका पात्र हुनुहुन्छ। संस्मरणभित्र पसेपछि त्यहाँ रहेका ४४ वटा संस्मरणका शीर्षक पनि पुस्तकको शीर्षक जस्तै सबै पाटा बोकेको चुस्त र दुरुस्त भएको भए हुन्थ्यो भन्ने चाहिँ लागेको छ। संस्मरणका केही शीर्षक अत्यन्त लामो प्रतीत भएको छ। शीर्षक राख्ने तरीकामा अझै चुस्तता भएमा सुनमाथि सुगन्ध हुने थियो भन्ने अनुभूति भएको छ।

पुस्तकको शीर्षकमा डायरी लेखिएको छ तर पुस्तकलाई संस्मरण भनिएको छ  त्यसकारण यो पुस्तक डायरी हो कि संस्मरण भन्ने कौतूहलता पाठकलाई लाग्न सक्छ। किनकि डायरी भन्नु वर्तमानकाल वा आज, अहिले यतिबेला नै घटेका घटना वा मनोवेगको निजात्मक प्रस्तुति हो भने संस्मरण भन्नु भूतकालमा बितेका घटना तथा मनोवेगको समष्टि प्रकटीकरण हो। त्यसकारण डायरी र संस्मरण दुवै अलगअलग प्रशाखा हुन् निबन्धका।

यो सङ्ग्रहमा समेटिएका आलेखहरू कुनै तिथिमिति भएका डायरीजस्ता छन् कुनै आलेख संस्मरण जस्ता छन्। त्यसकारण कृति अलि लामो तथा मोटो पनि भएकाले डायरी र संस्मरणलाई छुट्याएर दुई कृति बनाउन पाएको भए शास्त्रीय मूल्य पनि यथावत् हुने थियो भनेझैँ लागेको छ।

कपय आलेखले पुस्तकको शीर्षकसँग तादात्म्य राख्न सकेका छैनन्। सङ्ग्रहको शीर्षकले विषयवस्तुलाई न्युयोर्कको भूगोल, त्यहाँको कोरोना र सोसम्बन्धी डायरीभित्र सीमित राख्छ तर आलेखहरू ती सीमाभित्र मात्र अटेका छैनन्। उदाहरणका लागि सुशान्तसिंह राजपूत तथा रिजबुडमा मन्दिर कहिले बन्छ भन्ने शीर्षकका आलेखहरू पुस्तकको शीर्षकभित्र नअटाउने विषय हुन्। किनभने सङ्ग्रहभित्रका कतिपय आलेखमा कोरोनाको नाम सम्म पनि छैन।

सङ्ग्रहभित्र पारिवारिक कथा धेरै आएका छन्। डायरी वा संस्मरण जे भने पनि आलेखकारको महत्त्वपूर्ण पारिवारिक कथा आउनु स्वाभाविक हो तर पनि पारिवारिक घटना र विवरणभित्र अलि कलात्मकता वा प्रधान घटनाभन्दा मनोवेग कुदेका छन्। यसलाई अझै कलात्मक आवरण दिन पाएको भए झन् सुन्दर हुने पक्का छ।

उपसंहारः

अब अन्त्यतिर आइपुगेको छु। कृतिकार लक्ष्मी श्रेष्ठ आफैँ कोरोना ग्रस्त भएर मृत्युबोधको उच्च जोखिममा रहेर पनि यस्तो गजबको कृति जन्माउन सफल हनुभएकोमा बधाई अर्पण गर्छु।

गद्य तथा पद्यमा दुवैतिर हररर कलम चलाउन सक्ने कृतिकार बहुमुखी प्रतिभाको धनी हुनुहुन्छ। बहुविधा सिर्जना गर्ने स्रष्टा हुनुहुन्छ। न्युयोर्क जस्तो अति भौतिकवादी सहरमा बस्नुहुन्छ। त्यहाँका मनगरी खान पाइन्न। भौतिक सुविधाको उपयोग अपरिहार्य बन्ने सहरमा बसेर भौतिक वस्तुको जोरजाम गर्नु चुनौतीको विषय हो।

यो भौतिक चुनौतीका बीचमा सङ्घर्षपूर्ण जीवन व्यतीत गरेको बेला कोरोना कहर आइलागेको परिवेश छ। र त्यो कोरोना कहरमा मान्छे सोत्तर भएर स्वर्गवास भएको विद्रुप परिवेशमा पनि आलेखकार लक्ष्मी श्रेष्ठले यो पुस्तक लेख्न सक्नु निकै आश्चर्यको विषय हो। जब कि यो कोरोना कालखण्डमा मान्छे आतेस लागेर मनोरोगी भएका तथा विक्षिप्त भएका कैयौँ उदाहरण छन्। भनिन्छ साहित्य लेखन जीवनका अनेकन अब्डेरा भँडखालाहरूबाट बाँच्ने एउटा भरपर्दो साधन हो।

 आफ्ना पीडा सुनाउने सत्पात्र पाउन यो संसारमा दुर्लभ भएको छ। त्यसैले मान्छेले आफ्ना पीडा, सोच तथा दृष्टिकोणलाई अक्षर बनाउँदा ती अक्षर बाँच्ने आधार पनि हुने रहेछ भन्ने कुरा यो सङ्ग्रहको अध्ययनबाट थाहा हुन्छ।

आफ्ना मनका पीडा तथा बह पनि बगेर जाने तथा कोरोना कहर भुक्तभोगीको अनुभव अरूलाई गहन पठनीय तथा जीवनमा नआत्तिने सन्देश दिने सामग्री पनि हुने कुरा यहाँ कृतिकार लक्ष्मी श्रेष्ठले प्रमाणित गरेर देखाउनुभएको छ। याने कि यथार्थ चित्र प्रस्तुत गरिएको छ। यसका लागि साधुवाद व्यक्त गर्दछु। नेपाली साहित्य संसारले धेरै आश गरेको छ कृतिकार लक्ष्मी श्रेष्ठसँग ।  जीवनका जस्केलामा यसैगरी हार नखाई कल्पनाको उडान गतिशील होऊन्। र गतिलागतिला सुन्दर कृतिहरू आऊन्, आइरहून्।

प्रकाशित: २३ कार्तिक २०७८ ०६:५८ मंगलबार

अक्षर