कला

संस्कृतिका कथा र इतिहासका घटना

यतिखेर हामी हिन्दूहरूको महत्वपूर्ण पर्व तिहारको मुखमा छौँ। तिहारसँग सांगीतिक पाटो (देउसी–भैलो पर्वगीत) पनि जोडिएको छ। हाम्रा प्रायः संस्कृतिसँग धार्मिक अनुष्ठान, किंवदन्ती वा कथा, लोकविश्वास, कला र सभ्यता जोडिएकै हुन्छ। कलामा गायन, नृत्य, नाट्याभिनय, वाद्यवादन आदि पर्छन्।

‘तिहार’ शब्दले ‘तिथिवार’ र हिन्दी शब्द ‘त्योहार’ (पर्व, उत्सव)तर्फ संकेत गर्छ। तिहारलाई दीपावली (प्रकाशमय) तथा समृद्धि (लक्ष्मी)को पर्वका रूपमा नेपाल र भारतका हिन्दूहरूले मनाउँछन्। 

नेपाल र भारतमा मनाइने दीपावलीका आ–आफ्नै पौराणिक कथा छन्। दीपावलीका बारेमा भारतमा प्रचलित एउटा कथा यस्तो छः एकपटक ऋषिहरूले सनतकुमारसँग दीपावली पर्वका बारेमा बुझाउन आग्रह गरे।

सनतकुमारले भने, ‘समस्त पृथ्वीमा जब दैत्यराज बलिको प्रताप फैलियो, उसले लक्ष्मीसहित सबै देवीदेवतालाई बन्दी बनायो। त्यही रात वामनको अवतार लिएर विष्णुले बलिलाई बाँधे र सबै देवीदेवतालाई मुक्ति दिलाए। त्यसपछि लक्ष्मी निरन्तर क्षीरसागरमा रहन थालिन्। मात्र औंसीको रातमा लक्ष्मी जनकल्याण हेतु बाहिर निस्किन्छिन्।

दैत्यराज बलिका बारेमा नेपाल र भारतमा सर्वाधिक प्रचलित एउटा कथा छ। जसअनुसार, एकपटक दैत्यराज बलिसँग वामनावतार विष्णुले तीन पाउ जमिन माग्छन्। बलिले जमिन दिएपछि विष्णुले विशाल रूप धारण गरी एक पाउले पृथ्वी र अर्को पाउले स्वर्गलाई ओगट्छन्। त्यसपछि अर्को एक पाउ राख्नका लागि बलिले आफ्नो शिर थाप्नुपर्छ।

डा. मोतीलाल पराजुलीले आफ्नो पुस्तक ‘नेपालमा प्रचलित नृत्य र नृत्यनाटिकाहरू’मा देउसीनाच र यसबारेको किंवदन्तीको चर्चा गरेका छन्। डा. पराजुली लेख्छन्, ‘राजा बलि (दैत्यराज)ले अश्वमेध यज्ञ गर्न आँटे। उनको देशमा रहेको सम्पत्तिले त्यो यज्ञ गर्न नभ्याउने भयो।

त्यसैले उनले गन्धर्व र किन्नरलाई बोलाएर देशदेशावरमा गई नाचगान गरी धनधान्य जम्मा गरेर ल्याउनू भनेर पठाए। यसरी उठेको अपार धनराशिले बलिराजाले आफ्नो यज्ञ सम्पन्न गरे।

बलिराजाले त्यसै यज्ञमा आफ्नो राज्य र शिर समेत दान गरेको हुनाले वामन भगवान्ले आगामी वर्षदेखि यसै दिनमा तिम्रो नाममा पर्व र उत्सव मनाइनेछ भनी वरदान दिए। त्यसैले बलिराजाको यज्ञ रहेको चार दिनसम्म उत्सव मनाउन थालियो। नेपालमा त्यही उत्सवका रूपमा बलिराजाका नाममा भैली र देउसी नाच तथा गीतहरू गाउँदै नाचिँदै गरिएको छ।’

यी कथा र प्रसंगमा दैत्यराज बलिबाट छलकपटपूर्ण किसिमले राज्य खोसिएको, उसलाई मारिएको र उसकै मृत्युमा उत्सव मनाइएको विरोधाभासपूर्ण कुरा आएका छन्।

पौराणिक कथाहरू जेजस्तो पृष्ठभूमिका होऊन्, तिहार यस्तो पर्व हो, जसलाई अधिकांश नेपालीले स्वीकार गरिसकेका छन्। किनभने, यस पर्वसँग निकै राम्रा पक्ष जोडिएका छन्। भाइटीका, जसले दिदीभाइ तथा दाजुबहिनीबीचको रगत र भावनात्मक नातालाई गाढा बनाउँछ। नेपालमा भाइटीकासँग यमराज र यमुनाको कथा आउँछ।

गाईतिहार र गोरुतिहार, जुन कृषि र समृद्धिका आधार हुन्। नेपालमा गाईलाई लक्ष्मीको प्रतीकका रूपमा पूजा गरिन्छ, यसैलाई गाईतिहार भनिन्छ। पशुपालन र कृषि युगको थालनीमा गाई मानिसको प्रमुख सम्पत्ति थियो। गाईबाट दूध, घिउ लगायत बाच्छाबाच्छी उत्पादन हुन्छ।

तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ। कार्तिक अन्नबाली भित्र्याउने महिना हो। यस आधारमा तिहार समृद्धि, खुसियाली या दीपावलीको पर्व हुँदै हो। अन्नबालीका लागि जमिन जोत्न गोरुको भूमिका थियो,त्यसैले गोरुतिहार मनाइयो। मानिसहरूले बलियो भई काम गर्न गाईको दूध–घिउ खानुपथ्र्यो, त्यसैले गाई धनधान्यकोआधार बन्यो।

पूजाकै सम्बन्धमा हेर्दा कात्तिकमा नेवार समुदायले म्हपूजा अर्थात् देह वा शरीर पूजा गर्ने गर्छ। यसका विभिन्न पाटा र अर्थ छन्।

विभिन्न कथा र अर्थमा हामीले कुकुरतिहार र कागतिहार पनि मनाउँछौँ। यिनै प्रसंग र प्रचलनका बीच एउटा अनुमान गर्न सकिन्छ–अन्नबाली भित्र्याउने मेलोमै भाइटीका र भैलो भित्रिएको हुन सक्छ।

पुरुषवादी समाजमा अन्नबाली लगायत सम्पत्तिको हकदार पुरुष हुन्थ्यो, तर काम गर्नमा चेलीहरूको भूमिका ठूलो रहन्थ्यो। अन्नबाली भित्र्याएपछि विवाहित चेलीहरूलाई पनि दाजुभाइलाई भेट्न बोलाउन, खुवाउन फुर्सद मिल्यो। अविवाहित चेलीलाई अन्नबाली भित्र्याएको खुसियालीमा दाजुभाइले केही दिने वा दिनुपर्ने परिस्थिति सिर्जना भयो होला।

देउसी–भैलो र ऐतिहासिक घटना

प्रा. मोहनराज शर्मा र डा. खगेन्द्रप्रसाद लुइटेलको पुस्तक ‘लोकवार्ता विज्ञान र लोकसाहित्य’ अनुसार, तिहारमा पुरुषले गाउने र खेल्ने पर्वगीत देउसी÷द्यौसी तत्सम शब्द देवश्रीबाट अपभ्रंश भई बनेको हो। शर्मा र लुइटेल लेख्छन्, ‘देवको अर्थ देवता र श्रीको अर्थ सम्पत्ति भएकाले देउसीको अर्थ देवताले श्रीसम्पत्ति दिऊन् भन्ने बुझिन्छ।’

उनीहरूले मूलतः सामूहिक रूपमा महिलाले गाउने ‘भैलो’लाई नेपाली झर्रा शब्द मानेका छन्। भलोसँग अर्थगत र ध्वनिगत साम्य राख्ने भैलो शब्दको निश्चित व्युत्पत्ति नभएको उनीहरूको भनाइ छ। उनीहरू लेख्छन्, ‘पश्चिम नेपालको कर्णालीतिर अन्य समयमा गाइने सानीभैली (मंसिर शुक्ल प्रतिपदा) र ठूलीभैली (पौष शुक्ल प्रतिपदादेखि) को विशेष रूप एवं प्रचलन देखिए पनि भैलोले मुख्यतः तिहारमा गाइने गीतलाई जनाउँछ।’

गायकी शैलीका दृष्टिले भैली र देउसी उस्तै लाग्छन्। दुवैको उद्देश्य पनि एउटै हो,दक्षिणा माग्नु। दक्षिणा दिनलाई हुनेखाने हुनुपर्छ, त्यसैले देउसीभैलोमा धनधान्य हुनु भन्ने आशीर्वचन पनि आउँछन्।

बालकृष्ण पोखरेलले आफ्नो पुस्तक ‘खस जातिको इतिहास’मा ‘जुम्लाका राजा बलिराजको नाममा तिहारमा खेलिने भौली रागमा आधारित भैलो तिमुर–लङलाई दिन संकलन गरिएको चन्दा थियो’ भनेका छन्। उनले विभिन्न स्रोतहरू उद्धृत गर्दै जुम्लाका राजा बलिराजका छोरा बछराज (राय बहरूज, वत्सराज) र मंगोल विजेता तिमुर लङबीचको युद्ध हरिद्वार र देहरादुन जाने बाटोको मोहन दर्रामा भएको उल्लेख गरेका छन्।

पोखरेलको पुस्तकमा ‘काठमाडौंमा घुँटीमुँगल (गठेमंगल)को समयमा प्रत्येक वर्ष मागिने गरेको जगात काठमाडौंबाट समसुद्दीन इलियासलाई बिदा गर्न गरिएको तयारीको सम्झनामा मनाइएको चाड हो’ भन्ने उल्लेख छ।

उनले आफ्नो पुस्तकको पृष्ठ ५७७ मा लेखेका छन्, ‘समसुद्दीन इलियास बंगालको नबाफ थियो। बंगालीलाई हियाएर भन्दा बाङाल अथवा घुँटी भन्ने चलन अझै छ। गठेमंगलको घन्टाकर्ण समसुद्दीन इलियास थियो। उसले कानमा घन्ट बाँधेसरह थियो, किनभने ऊ बौद्ध, शैव, वैष्णव र शाक्तमध्ये कुनै धर्म पनि सुन्न चाहँदैनथ्यो।

ठीक गठेमंगलमा झैँ सपादलक्षमा पनि तिमुरलाई ढिम्किन नदिन कल्यालहरूले प्रजाबाट रकम भेला गरे। यस बुद्धिमानीले गर्दा हिमालयमा तिमुरले ब्रह्मलुट मच्याउन पाएन।’

पोखरेलले मुसलमानको आक्रमणमा बलात्कारमा परी नेपाली नारीले कानीन र गोलक सन्तान जन्माउन बाध्य भएको र ती सन्तानहरू आजसम्म भिन्न चिनारीका साथ बाँचेको पनि उल्लेख गरेका छन्।

उनले यस सम्बन्धमा टिप्पणीमा क्षमास्वरूप लेखेका छन्, ‘समसुद्दीन इलियासका सैनिकद्वारा बलात्कारमा परी गर्भवती भएका नारीबाट जन्मिएका कानीन र गोलकद्वारा निर्मित समाजको नाम काढ्ने साहस गर्न असमर्थ भएकामा पाठकहरूले मलाई क्षमा गर्नेछन्।’

डा. चुन्दा बज्राचार्यको पुस्तक ‘नेवाः सांस्कृतिक चाडपर्व’ (अनुवादकः देवेन्द्र कुमार मल्ल) मा गठांमुगल चतुर्दशी र यसबारेका विभिन्न लोकोक्ति उल्लेख छ।  

बज्राचार्य लेख्छिन्, ‘गथांमुगःलाई घन्टाकर्ण पनि भन्ने गरिन्छ। गथांमुगःमा घन्टा झुन्ड्याउनेबारे विभिन्न लोकोक्ति सुन्न पाइन्छ। त्यतिबेला एकजना मानिस थिए, जो देवताको नाम सुन्न चाहँदैनथे।

देउताको नाम सुन्नुपर्ला भनेर उनी कानमा ठुल्ठूला घन्टा झुन्ड्याएर हिँड्ने गर्थे। उनी गरिबहरूप्रति भने अत्यन्त सहानुभूति राख्ने गर्थे। एक दिन ती व्यक्तिको मृत्यु भएछ। मृत्युपछि टोलमा पैसा उठाएर उनको सत्गति गरिएछ। त्यसैले गठांमुगलमा पैसा उठाउने चलन चलेको हो भनिन्छ।

त्यस्तै, अर्को कथन छ। उहिले एकजना यस्ता मान्छे थिए, जो सुनचाँदीभन्दा फलामको गहनामा विश्वास राख्थे। उनी ठूला विद्वान् भए पनि जातमा भने साना थिए। एकजना धनी व्यक्तिकी छोरीसँग उनको प्रेम रहेछ।

यो कुरा थाहा पाएर ती धनीले आफ्नी छोरी सानो जातको मान्छेसँग पोइल गएमा आफ्नो बेइज्जत होला भन्ने डरले तिनलाई जिउँदै जलाइदिएछन्। पछि टोलबासीले वास्तविकता थाहा पाएर सम्मानपूर्वक अन्त्येष्टि गरेछन्।

अर्को भनाइ छ– उपत्यकामा गठांमुगल भन्ने एउटा राक्षसले साह्रै दुःख दिने गरेको रहेछ। एक दिन त्यसलाई मार्न एक तान्त्रिकले भ्यागुताको रूप लिई बाटो ढुकेर बसे। राक्षस आउनेबित्तिकै उनले जिस्क्याउन थाले।

रिसले चुर भएको राक्षसले भ्यागुतालाई मार्न खोज्यो। तर, भ्यागुता उफ्रेर भाग्यो। राक्षसले पनि लखेट्न थाल्यो। भाग्दै गरेको भ्यागुतो पानी जमेको दलदलभित्र लुक्न पुग्यो। राक्षस पनि दलदलमै पस्यो।

भ्यागुतो दलदलबाट निस्क्यो तर राक्षस त्यही फसेर मर्‍यो। पछि टोलमा जगात उठाएर एउटा पोडेको हातबाट उक्त राक्षसको अन्त्येष्टि गराए। त्यसैले गठांमुगलको अन्त्येष्टि समाजको सबैभन्दा तल्लो जातलाई गर्न लगाउने चलन चलेको हो भनिन्छ।’

बज्राचार्यले गथांमुगः गठांमुग शब्दको उत्पत्ति सम्बन्धमा इतिहासकार शंकरमान राजवंशीको भनाइ उद्धृत गरेकी छन्। उनी लेख्छिन्, ‘मानिस मर्दा अन्तिम संस्कारकै क्रममा छ्वास(टोलको दोबाटो)मा मरेका व्यक्तिको लुगाफाटो फाल्नुपर्छ। त्यही स्थानलाई गणस्थान मूलगढ भनिन्छ। यही मूलगढ शब्दका केही अक्षरहरू यताउति गरी गथांमुगः बन्न गएको हो।’

यहाँनेर पोखरेलको पुस्तकमा राजनीतिक इतिहासका कुरा आएका छन्, बज्राचार्यको पुस्तकमा लोकोक्ति आएका छन्। लोकोक्तिमा राक्षस, भ्यागुतो, तन्त्रशक्ति, सानो र ठूलो जात, मृत्यु संस्कार जस्ता जनविश्वासका कुरा छन्। कात्तिकमै पूर्वका लिम्बु समुदायले वलिहाङ (बोलीचालीमा बलिहाङ) तङनाम पर्व मनाउँछन्।

लिम्बु संस्कृतिका अध्येता राजेन्द्र जबेगु लिम्बु भाषामा ‘ब’ अक्षरबाट शब्द नबन्ने बताउँछन्। उनी भन्छन्, ‘बलिहाङ होइन, वलिहाङ हो। वलिहाङ नाम गरेका प्रतापी राजाको कथा अनुसार लिम्बु समुदायमा वलिहाङ तङनाम मनाइन्छ। लिम्बु संस्कृतिमा भाइटीका पर्दैन।’  

अध्येता जबेगुले शुक्रबार टेलिफोनमार्फत वलिहाङ तङनाम पर्वबारेको एउटा कथा सुनाए। कथा भन्छ– प्राचीन कालमा वलिहाङ नाम गरेका प्रतापी राजा थिए। उनी प्रजाप्रेमी थिए। उनी मर्ने समय आयो। ‘अब हाम्रा राजा मर्ने भए भनेर नागरिकले पीर गरे।

राजाको आयु बढाउन नागरिकले घरघरमा र राजाको दरबारमा पनि बत्ती बालेर प्रार्थना गर्न थाले। अन्ततः राजालाई लिन दरबारमा काल आयो, तर वलिहाङको प्रताप, उनीप्रतिको नागरिकको भरोसा र प्रेम देखेर कालले एक वर्षको आयु थपिदियो। आफ्नो आयु बढेको कुरा नागरिकका घरघरमा जानकारी दिन राजा वलिहाङले केही नागरिकलाई आदेश दिएर पठाए।

यही अनुसार कात्तिक औंसीको दिन पूर्वका लिम्बुले देउसी–भैलोजस्तै दिनमा नाम्लिङ्गेत र रातमा लारिङ्गेत गाउने चलन छ। नाम्लिङ्गेत र लारिङ्गेतमा वलिहाङकै गुणगान र गाथा गाइन्छ। वलिहाङ तङनाम पर्वमा पनि अलौकिक पात्र काल (यमराज), शासकका गाथा र लोकविश्वास आएको छ।

प्राचीन समाजको इतिहासको स्रोत–साधनमा पौराणिक साहित्य वा ग्रन्थ, पुरातात्विक स्रोत, जनश्रुति, अनुश्रुति आदि पनि पर्छन्। तर, यी स्रोतलाई प्रामाणिक बनाउन थप खोज, अनुसन्धान आवश्यक हुन्छ।

किनभने पौराणिक साहित्यमा भ्रम, काल्पनिकता र मिथ्या (मिथक कथा) बढी भेटिन्छन्। निश्चय नै, कतिपय मिथक कथा मानिसको आस्था र विश्वास बनेर समाजमा जाति, समुदाय, लिंग आदिबीच विभेद सिर्जना गरेका छन्। 

मानिस सभ्य र सुसंस्कृत हुनु भनेको मिथ्या मानसिकताबाट मुक्त भई विभेदरहित समाज र साझा राज्य वा संसार निर्माण गर्नु हो। यसका लागि हामीले हाम्रा संस्कृतिको पुनव्र्याख्या र परिष्कृत गर्नुपर्छ,जसका लागि खोज अनुसन्धान आवश्यक छ।

कल्पना, विज्ञान र कृषि

यो ब्रह्माण्ड एउटा लय वा गतिमा छ, गतिको गणित छ। गतिको गणित बुझेरै मानिस सभ्यतातर्फ उन्मुख भएको हो। गतिको गणितकै उपज हुन्– ज्योतिष, संगीत, साहित्य आदि। 

ज्योतिषशास्त्रले भन्छ,अब कुन ग्रहण कहिले लाग्छ। संगीतमा लय र ताल छ, साहित्यमा छन्द र मात्रा। मनोविज्ञानले भन्छ– मनको अवस्था श्वासको गतिमा निर्भर रहन्छ। विज्ञानले भन्छ– पदार्थको गति (इलेक्ट्रोन, न्युट्रोन र प्रोटोनको अवस्था)मा ब्रह्माण्डको अस्तित्व टिकेको छ। 

र, जीवन पद्धतिको पनि आफ्नै गति छ, जुन मानव चेतनामा निर्भर रहन्छ। मानव चेतना कल्पनाशक्ति हुँदै विज्ञानतर्फ उन्मुख छ। प्रकृतिमा मानिस कल्पना गर्न स्वतन्त्र भएकाले विभिन्न मिथक कथाहरू जन्मे। मिथक कथामा पनि विभिन्न अर्थ र संकेत हुन सक्छन्।

देउसी गीतमा एउटा पंक्ति आउँछ–हामी त्यसै आएनौ, बलिराजाले पठाको...। यहाँ बलिराजा तीनवटा आएका छन्– दुईवटा पौराणिक (हिन्दूहरूको बलिराजा र लिम्बुहरूको बलि(वलि)हाङ, अर्का ऐतिहासिक पात्र अर्थात् जुम्लाका राजा बलिराज।

जुम्लाका बलिराजबारे थुप्रै इतिहास लेखिएका छन्। डा. सूर्यमणि अधिकारीको ‘जुम्ला राज्यको इतिहास’ पुस्तक अनुसार, बलिराजको शासनकालमा जुम्लामा कालो मार्सी धानको खेती सुरु गरिएको थियो।

कास्मिरबाट मानसरोवरको तीर्थाटनका लागि सिद्ध योगी चन्दननाथ आएका थिए। राजा बलिराजले उनको निकै सेवा गरे। गुरु चन्दननाथले जुम्लाको दुर्भिक्ष हटाउन कास्मिरबाट कृष्णशाली धानको बिउ मगाई जुम्लामा खेती गर्न सिकाए। अधिकारी लेख्छन्, ‘उनले चैत्र १२ गते धानको बिउ पानीमा भिजाउनू, १६ गते पानीबाट उतार्नू, चार दिनसम्म बिउलाई घरभित्रै कपडाले ढाकेर राख्नू, २० गते ब्याडमा लगेर छर्नू, जेठ महिनामा रोप्नू, आश्विन–कार्तिकमा धान पाक्नेछ भनीकन धानको खेती गर्न सिकाए भनिन्छ। अझैसम्म जुम्लामा यही रीतअनुसार धातको खेती गर्ने चलन छ।’

मार्सी धान असोज–कात्तिकमा पाक्ने, तिहार असोज–कात्तिकमै पर्ने– यस आधारमा बलिराजका पालामा जुम्ला राज्यमा धानबाली भित्र्याएपछि उत्सव मनाउन सुरु गरिएको हुन सक्छ। त्यसो त हाम्रा अधिकांश संस्कृति खेतीपाती लगाउन सुरु गर्ने, अन्नबाली भित्र्याउने र विभिन्न पर्वमा विभिन्न परिकार खानेसँग नै सम्बन्धित छन्। 

नेपालका विभिन्न जातिमा अन्नबाली (विशेषतः धानबाली) र अन्नबाली भिœयाउने असोज–कात्तिक महिनासँग जोडिएका थुप्रै पर्व आउँछन्। लिम्बु समुदायमा यालाङमा (धाननाच) प्रचलित छ। 

जनकलाल शर्माको ‘हाम्रो समाज: एक अध्ययन’ पुस्तक अनुसार, लिम्बु भाषामा ‘यालाङ’को अर्थ पराल र ‘मा’को मूल अथवा सम्बन्धित भन्ने हुन्छ। धाननाच प्रारम्भ गर्नुभन्दा पहिले जुन मंगलाचरण गाइन्छ, त्यसलाई लिम्बु भाषामा ‘पालम’ भनिन्छ।

त्यस्तै, तामाङमा म्हेनिङ पर्व छ। खोजराज गोलेको पुस्तक ‘म्हेनिङ’का अनुसार, म्हेनिङ तामाङ महिनाको नाम हो। सूर्य पात्रो अनुसार म्हेनिङले असोज र कात्तिकको आधा–आधा भेट्छ। म्हेनिङका थुप्रै धार्मिक तथा सांस्कृतिक पक्ष छन्।यसमध्ये म्हेनिङका अवसरमा नयाँ बाली झ्योहो÷झ्योमोलाई चढाउने प्रचलन पनि छ।

राष्ट्रिय पर्व देउसी–भैलो

शासकले नागरिकबाट कर उठाउने, राज्यलाई अप्ठेरो वा अभाव परेका बेला जनतासँग सहयोग माग्ने प्रचलन विश्वमै पुरानो हो। हिजो जुम्लाका राजा बलिराजले आफ्ना नागरिकलाई देउसी वा देवश्री खेल्न जुन प्रयोजनले पठाए, त्यसका विभिन्न पक्ष र पाटा होलान्।

तर, यो हाम्रा माझमा संस्कृतिका रूपमा स्थापित भइसकेको छ। आज पनि गाउँठाउँमा क्लब, समूह र संस्थाका नाममा देउसी–भैलो खेलिन्छ र उठेको रकम वा अन्नबाली सामूहिक हितमा प्रयोग गरिन्छ।

आज हामीकहाँ गरिबी, अशिक्षा जस्ता असमानता कायमै छन्। यस्तै असमानता हटाउन ठूलो राष्ट्रिय हितका लागि गाउँटोलबाट देउसी–भैलो खेल्न सकिन्छ। देउसी–भैलोमा जस्तै दक्षिणा माग्ने नाचगान वा प्रचलन अन्य जाति तथा समुदायमा पनि हुन सक्छन्, त्यसतर्फ यो पंक्तिकारको अध्ययन पुगेको छैन।

सबै जाति तथा समुदायका पर्व, संस्कृतिलाई सम्मान गर्दै हामीले वर्षमा एकपटक दक्षिणा माग्ने राष्ट्रिय पर्व मनाउनेतर्फ बहस गर्न सकिन्छ। यसले केही दिन युवाहरू र समाजलाई नै मनोरञ्जन दिन सक्छ। आज मागेर समाजसेवा गर्नेहरू बढेका छन्।

यस परिस्थितिमा एउटा दक्षिणा माग्ने राष्ट्रिय पर्व हुनु सम्मानजनक नै ठर्हछ। त्यस पर्वबाट उठेको रकमको केही अंश एउटा विशेष राष्ट्रिय कोषमा जम्मा गर्न सक्छौँ। जसलाई सामाजिक न्यायसँगै साझा हितका ठूला आविष्कार, अनुसन्धानमा लगानी गर्न सक्छौँ। यसो गरे देउसी–भैलो राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय संस्कृति बन्न सक्छ।

प्रकाशित: १३ कार्तिक २०७८ ०४:३८ शनिबार

अक्षर