कला

मनभित्रको विश्वासले नै दिव्य ज्योति बल्छ

गजल

कमला घिमिरे

मनभित्रको विश्वासले नै दिव्य ज्योति बल्छ आफैभित्र,

श्रद्धाभक्ति र आत्मज्ञानले सुमधुर जीवन चल्छ आँफैभित्र।

परोपकार र सेवाभावमा विश्वास गर्दै जान सकूँ,

अहंकार र आडम्बरले खोक्र्याउँदा मान्छे जल्छ आँफैभित्र।

झुठा प्रशंसा र देखावटीमा रम्न छोड्न सकूँ,

स्व–मूल्यांकन  नगरे  स्वाभिमान ढल्छ आँफैभित्र।

बलेको हैन निभेको आगो बालेर ताप्न सकूँ,

क्षणिक सुखको पछि लाग्दा त्यसले छल्छ आफैभित्र।

जीवनका हरेक आँधीबेहरीसँग पनि जुध्न सकूँ,

कमजोर मानसिकताले त मान्छे गल्छ आँफैभित्र।

प्रकाशित: ११ कार्तिक २०७८ ०६:११ बिहीबार

अक्षर