रञ्जुश्री पराजुली
दसैं प्रत्येक वर्ष आउने भए पनि प्रत्येक पल्ट उत्साह, उमंग, जोस, जाँगर बटुलेर आउँछ। नयाँ लुगा लाउने, मीठो खाने, मान्यजनसँग दुर्गा माताको प्रसादस्वरूप रातो दहीचामलको टीका निधारमा र पहेँलो जौको जमरा सिरमा लगाउँदा सबैको मन प्रसन्न हुन्छ।
टोलछिमेकमा मालसिरीको धुन गुन्जिन थाल्छ। बगैंचामा पहेँला सयपत्री फूल फुल्ने तरखरमा देखिन्छन्। उमाका तीन छोरी लगातार जन्मिए। जेठी एघार, माहिली आठ र कान्छी दुई। बुहारीले यसरी लगातार छोरी जन्माएको सासू र उनकै बुढालाई पनि मन परेको थिएन। छोरा नजन्मनुको दोष कसको थियो त्यो उनीहरूले जाँचबुझ गरेका थिएनन्। सासू आमाले जान्ने मान्छे देखाउँदा अझ दुईटा छोरी जन्मेपछि मात्र छोराको योग परेको छ भनेकाले वंश अगाडि नबढ्ने भयो भनेर उनीहरु चिन्तित थिए।
हजुर आमा ‘तिमीहरू लगातार तीनजना किन जन्मिएका? छोरीको जात काम छैन। बिहे गरेर पराई घर जाने जात। तिमीहरूको बिहेमा पनि दाइजो सहित खर्च धेरै लाग्छ। छोराको बिहेमा त दुलहीपट्टिबाट दाइजो आदि प्रशस्त आउँछ’ भनेर नातिनीहरूलाई सुनाइराख्थिन्। सानी छोरी त त्यो बुझ्नि तर जेठी र माइलीलाई भने उनीदेखि रिस उठ्दथ्यो। सकेसम्म उनको अगाडि नै पर्दैन थिए। त्यस्तै पल्ला घरकी हजुरआमा पनि थिइन्। उनी ‘कति छोरी जन्मिएका। अब भाइ बोलाओ’भन्दै थिइन्। उनीहरू तिनलाई देख्दा टाढैबाट बाटो छलेर हिँड्थे।
दसैंको जमरा राख्ने दिनको अघिल्लो दिन बिहानै उनी हाम्री हजुराआमासँग ‘भोलिदेखि नौ दिनसम्म कन्यापूजा गर्नुपर्छ। महालक्ष्मी, महाकाली, महासरस्वती जस्ता तपाईका तीन नातिनीलाई सधैं बिहान आठ बजे मेरो घरमा पठाइदिनुस् है। म तिनको पूजा गर्छु।’
जेठी नातिनी रियाले त्यो सबै सुनिरहेकी थिई। उसलाई झनक्क रिस उठ्यो अनि ‘छोरी जन्माउन हुन्न’ भन्दै हामी तीन दिदीबहिनीलाई छि:छि: दुरदुर गर्ने तपाईलाई अहिले हाम्रो कसरी आवश्यकता पर्यो? छोरी जातिको अपमान गर्ने तपाईको घरमा अबदेखि कुनै छोरीले दुर्गा बनेर पनि पाइला हाल्ने छैनन्’ भनी।
प्रकाशित: २३ आश्विन २०७८ ०७:०४ शनिबार