कला

तुलसी दिवस र दुर्गा घिमिरेलाई १–१ लाखको पुरस्कार

संस्कृतिकर्मी तुलसी दिवस र महिला सशक्तिकरणमा क्रियाशील दुर्गा घिमिरे पुरस्कृत हुने भएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाज सेवाबाट दिवस र घिमिरेलाई पुरस्कृत गर्न लागिएको हो ।

समितिले हरेक दुईवर्षको अन्तरमा यो पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशी एकलाख रुपैयाँ छ । घिमिरेलाई २०७६ सालमै यो पुरस्कार दिने घोषणा गरिएको थियो । तर, कोरोना भाइरस संक्रमणका कारण कार्यक्रम रोकिएको थियो । २०७८ सालको पुरस्कार संस्कृतिकर्मी तथा साहित्यकार तुलसी दिवसलाई दिन लागिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

१९९८ असारमा धनकुटामा जन्मिएका दिवस २९ वर्षको उमेरमै प्राज्ञ भएका थिए । उनी नेपालकै कान्छा प्राज्ञ पनि हुन् । कला, साहित्य, संस्कृतिमा उनको विषेश रुचि छ । दिवसले विभिन्न जातजाती र संस्कृतिको अनुसन्धान गरेका छन् । उनले जापान, कोरिया, बेलायत, अमेरिकाजस्ता दर्जन देशमा लोकवार्ता सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका छन । दिवसका नेपाली लोक कथा, नेपाली लोककथा केही अध्ययन, धिमाल प्रदर्शनकारी लोक संस्कृति, धिमाल लोकधर्म र संस्कृति, तुलसी दिवसका कविता, भारतबाट तुलसी दिवसकि कविताएँ लगायतका कृतिहरु प्रकाशित छन् ।

घिमिरे ४ दशकभन्दा लामो समयदेखि महिला बेचबिखनविरुद्ध तथा महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशील छिन् । ‘महिला बेचबिखन तथा सशक्तिकरणको क्षेत्रमा लामो समयदेखि योगदान दिएकोले घिमिरेलाई छनोट गरिएको हो,’ समितिका सचिव श्रेष्ठले भने । २००५ साल वैशाख ३ गते सुनसरीको धरानमा जन्मेकी दुर्गा घिमिरेले त्रिभुवन विश्वविद्यालयवाट सन् १९७० मा अर्थशास्त्रमा एम.ए. र १९७५ मा त्रिभुवन विश्वविद्यालयबाटै कानुनमा स्नातक गरेकी छिन् । विन्ध्यवासिनी क्षेत्र विकास समितिको यो पुरस्कार २०७३ सालमा वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशी र दोस्रोपटक २०७५ मा गलेश्वर पीठाधीश स्वामी आत्मानन्द गिरीजी महाराजले यो पुरस्कार पाएका थिए । पुरस्कार विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष हेमबहादुर प्रधानबाट संस्थापित तथा समितिवाट संञ्चालित छ ।  

प्रकाशित: १५ आश्विन २०७८ ०७:१३ शुक्रबार

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कार