कला

लाञ्छना

लघुकथा

गंगा खड्का

 

“हेर न,चोथालेले श्रीमानलाई मुख चलाएकी।” जँड्याहा  श्रीमानले  कुटेको बेला  दीपाले प्रतिवाद गर्दा सबैले भन्थे।

“खायो त खायो, उसको बुद्धि नै यस्तै भएपछि कसको के लाग्छ त?” सासूससुराले पनि दीपालाई अर्गेलो देखाउँथे।

सरकारी अफिसमा पिउनको जागिर भए पनि उसको श्रीमानले जाँडरक्सीमा पैसा उडाउँथ्यो। भएका दुई जना छोराछोरी पढाउन र हातमुख जोर्न  दीपाले सधैँ ज्यालादारी गर्नुपथ्र्यो। त्यही पैसा पनि रक्सी खान नदिएको निहुँमा उसले निर्घात हुने गरी पिटाइ खानुपथ्र्यो।

जाँडको मातमा धेरैजसो बाहिरतिरै लडिरहेको हुन्थ्यो श्रीमान्। खोज्न जाँदा नभेटेपछि दीपा घर आउँथी अनि देख्नेभेट्नेले ल्याइदिन्थे र भन्थे, “जे भए नि लोग्ने पो हो त। लोग्नेको खोजीखबर नगरी कसरी बस्न सकेको होला ?

श्रीमानको गाली,  कुटाइ र अरूको घोचपेचप्रति दीपा अभ्यस्त भइसकेकी थिई। एकदिन  टन्न रक्सी खाएर आएको अवस्थामा विपरीत दिसाबाट हुइँकिँदै आएको यात्रुवाहक बसले ठक्कर दिएर दुर्घटनास्थलमै उसको श्रीमानको निधन भयो।

उसले जुठो सकिएपछि श्रीमानको थान्कोमा जागिर पाई। श्रीमानलाई ठक्कर दिने गाडी साहुले नि क्षतिपूर्तिस्वरूप दस लाख दिए।

“हेर न लाज नभएकी नकचरी, लोग्ने होउन्जेल उछितो गरी। अहिले लोग्नेकै ठाउँमा जागिर खाएर शान देखाउँछे। अझ लोग्नेको क्षतिपूर्तिस्वरूप आएको पैसाले मस्ती गर्न कस्तो लाज नभएको होला?”एकल महिलाको जीवन बिताउँदै संघर्ष गरिरहेकी दीपामाथि औँला ठडाउन अझै समाजले छाडेन।

प्रकाशित: ७ आश्विन २०७८ ०८:२८ बिहीबार

अक्षर