कला

विकास

लघुकथा

 विनोद नेपाल  

अचेल गाउँ हुँदै सदरमुकामसम्म पुग्ने गाडीहरू चल्न थालेको र धेरैतिर सडकहरू बनेको उसलाई बाबुले फोनमा भनेका थिए। यसैले ऊ विमानस्थलबाट सरासर बस विसौनी पुग्यो।

धेरै वर्षपछि गाउँ फर्केको र सुन्दर गाउँको फेरिएको रूप हेर्न आतुर ऊ बसमा बस्यो। मानिसहरूका कुराकानी सुन्दै र आक्कलझुक्कल सोधिने प्रश्नको जवाफ दिंदै गाउँ पुग्यो।

गाडीबाट ओर्लियो र दायाँबायाँ नियाल्यो। उसलाई गाउँ  नितान्त नौलो लाग्यो।

बाटो चौडा भएछ तर चौतारी मासिएछ। चाडपर्वमा मेला लाग्ने त्यत्रो चौरको नामोनिसान मेटिएछ। दशैं–तिहारमा पिङ हाल्ने माझ गाउँको पिपलको बोट काटिएछ। डाँडाको मन्दिर खण्डहर भएछ। पोखरी पुरिएछ। देखेर नमीठो मान्यो।

अलि तल पुग्दा आफूले पढेको विद्यालय देख्यो। नयाँ भवन बनेको र  विद्यालयको रूप नै फेरिएको देखेर ऊ खुसी भयो।

घर पुग्यो। बाबुसँग एकसाथ धेरै जिज्ञासा राख्न थाल्यो।  

‘स्कुल त राम्रो बनेछ बा, विद्यार्थी  प्रशस्तै होलान् नि?’

‘भवन मात्रै राम्रो हो। मान्छेहरू शहरमा बस्न थाले। यसै पनि गाउँमा मान्छे कम छन्। यहाँ बस्नेहरू पनि पढ्न शहर जान्छन्। विकास भनेको यही त रहेछ।’

प्रकाशित: ७ आश्विन २०७८ ०३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App