कला

जालको कमाल

बालकथा

ललिता ‘दोषी’

   सुरजीतले खुसी हुँदै चिच्याए –“बा ए बा ...!” घरको ढोका खोलेपछि बोल्दाबोल्दैे सुरजीतको बोली रोकियो।

काठको खटियामा सुतेका कनैयाले सुरजीततिर हेर्दै भने –“तँ खुसी हुनको कारण मलाई थाहा छ। तँ यस  परीक्षामा पनि पहिला नै भइस् होइन ?”

सुरजीतले बाबुको निधार छाम्दै भने–“ला, तपाईंलाई त ज्वरो पो आएछ । ओठमुख पनि सुकेछ पानी खाने हो?”

कनैयाले फेरि भने–“भैगो मेरो पीर नगर । बरु भन्, तँ पहिला नै भइस् होइन ?”

“हो बा ! प्रथम नै भएँ । म धेरै पढ्छु । धेरै पैसा कमाउँछु अनि तपार्इंलाई सुख दिन्छु नि !”

कनैयाले हर्षको आँसु झार्दै भने–“बिरामी हुँदा तेरी आमा भन्थी, पीर नगर्नोस् । म नरहे पनि सुरजीतले तपाईंलाई सुख दिन्छ। कुरा साँचो नै रहेछ । तँलाई भोक पनि लाग्यो होला। घरमा केही खानेकुरा छैन। पूजारीको होटलमा पैसा माग त्यही पैसाले तँलाई खाजा र मलाई ज्वरोको औषधि लेरा।”

हुन्छ भन्दै सुरजीत पूजारीको होटेलमा पुगे । उनलाई देख्नेबित्तिकै  पूजारीले हकार्दै भन्यो – “ए फुच्चे ! खै माछा ल्याएको ? त्यरो बाबु कता हरायो हँ?”

सुरजीतले डराउँदै भने – “बाबु बिरामी हुनुहुन्छ । बाबुले पैसा माग्न .... ।”

सुरजीतको कुरा टुङ्गिन नपाउँदै पूजारी झोक्कियो–“छैन पैसासैसा यहाँबाट खुरुक्क भाग्। तेरो बाबुले माछा ल्याउँछ भनेर पर्खेर बसेको थिएँ । यसबेला रित्तो हात पैसा पो माग्न आउँछ मूर्ख। अब कोसँग माछा किन्नु ? अबदेखि तेरो बाबुसँग ठेक्कामा माछा लिन्न भनिदे।”

साहूको कुराले दुःखी हुँदै सुरजीत काकाको घरमा गए । घरभित्र पस्नेबित्तिकै काकीले भनिन्– “होइन किन आइस् सुरजीत ?”

सुरजीतले बाबु बिरामी भएको कुरा बताए । काकीले व्यङ्ग्य हाँसो हाँस्दै भनिन्–“तँसँगको मेरो छोराले  आफैं माछा मारेर पैसा कमाउँछ । तँ घरघरै पैसा देऊ भन्दै हात थाप्दै हिँड्छस्। कत्ति न पढ्ने भैखाको थिस् । बाबु मरेको टुलुटुलु हेर। अब छैन पैसासैसा जा निस्किहाल।”

काकीको कुराले आँखाभरि आँसु पार्दै सुरजीत आफ्नो मिल्ने साथी कृष्णराजको घरमा गए। उनी आँगनमै रहेछन्। सुरजीतले बाबु बिरामी भएको, काकीले पैसा नदिएको सबै कुरा बताए।

कृष्णराजले पीर नगर भनी सम्झाउँदै कोठामा गए। आपूmले थुपारेको पैसा ल्याई सुरजीतलाई दिए।

सुरजीतले धन्यवाद, कृष्ण ! पैसा चाँडै फिर्ता दिउँला भनी निस्कँदै थिए । बाहिरबाट आएको रामबालकले सुरजतीको हातमा पैसा देखेर रिसले झ्याम्मै मुठ्ठीमा हाने पैसा भुईंभरि छर्रियो।

सुरजीत र कृष्णराज नै डरले थरथर काँमे । रामबालकले रिसाउँदै भने–“दुईचार अक्षर के पढेको थिइस्। घरघरै आएर पैसा ठग्ने भइस् होइन फटाहा ?”

कृष्णराजले रुन्चे स्वरमा भने–“उनको बाबु बिरामी भएर पो मागेका हुन् । पछि फिर्ता दिन्छन् ।”

 रामबालकले सुरजीतलाई धक्का दिएर गेटबाट निकाले । कृष्णराजलाई चुप लाग् भनी, घिच्याउँदै घरभित्र पस्दै भने–‘‘आइन्दा यसको छाया मात्र यहाँ देखे भने दुवैको खुट्टा काटिदिन्छु बुझिस् ?’’

सुरजीत बरबर आँसु झार्दै घर आए । के गर्ने के नगर्ने सोच्नै नसकेर अलमल्ममा परे । वर्सादको समय आकाशबाट सिमसिम पानी पनि परिरहेको थियो । उनलाई रित्तो हात घरभित्र छिर्न पनि पटक्कै मन लागेन।

घोरिएर एकछिन झुुन्ड्याएको माछा मार्ने जाल र पेरुङ्गोलाई हेरे ।

 जे त होला भन्दै जाल र पेरुङ्गो झिकेर रुझ्दै परासी खोलातिर लागे ।  

खोलाको तीरमा उभिएर खोलामा के जाल मात्र हालेका थिए । पानीको बेगले सुरजीतको हातबाट जाल फुत्कियो । सुरजीत जाल भेटिन्छ कि भनी खोलाको किनारैकिनार दौडिए । धेरै तल खोलामा ढलेको रूखको हाँगामा जाल अड्किरहेको देखेर साह्रै खुसी भए । जाल झिक्न लाग्दा झन्डै उनलाई खोलाले बगाएन । धन्न रूखको हाँगामा समातेर बल्लतल्ल जाल लिएर किनारामा आए ।  

सुरजीतले फेरि बडो होसियार साथ जाल फ्याँक्दै गए । दुईचारपल्ट त जालमा एउटै माछा परेन तर पनि उनले जाल फ्याँक्न छोडेनन् । पाँचौपल्ट जालमा एउटा माछा प¥यो ।  

सुरजीतले खुसी हुँदै जालले कमाल ग¥यो भन्दै माछा समाते । सिङ्गे माछा परेछ त्यसले  हान्दा औँलाबाट रगतको धारा नै बग्यो । ज्यादै दुख्यो तर पनि हिक्मत हारेनन् ।  

  जाल फ्याँक्दै गए बिस्तारै एकदुई वटा माछा पर्दै गयो । माछा राख्न पेरुङ्गो हेर पेरुङ्गो नै हराएछ । लगाएको सट फुकालेर सटमै माछा हाल्न थाले । जालमा माछा परेपछि झन् उत्साहित भएर जाल फ्याँक्दै गए ।  साँझ झमक्क परेपछि आफूले मारेको एक किलो जति माछा लिएर बजार जाँदै थिए । छिमेकी रोशनीले अचम्म मान्दै भनिन्–“हैन,नाङ्गैबुङ्गै कहाँ गएर आएको सुरजीत ? फेरि हातमा जाल पनि छ ।”

सुरजीतले आँखाभरि आँसु पार्दै बाबु बिरामी भएकोले औषधीको लागि माछा मार्न गएको कुरा सबै बताए ।  

   “वा ! सुरजीत ! छोरा हुनु त तँ जस्तो पो, ल मलाई माछा दे, पाँच सय राख । ‘हुने बिरुवाको चिल्लो पात’ भनेको यही हो । दुःखसुख त परिरहन्छ तर पढ्न पनि नछोडेस् नि ! ”भन्दै माछा लिएर रोशनी आफ्नो बाटो लागिन् । रोशनीको दयालु भावना देखेर सुरजीत प्रशन्न भए।

छोरा अबेरसम्म घर नफर्किएको पिरले कनैया छटपटिइरहेका थिए । छोराभित्र पसेपछि अचम्म मान्दै भने–“होइन तेरो यो गति कसरी भयो हँ ? यति ढिलासम्म कहाँ गएको थिइस् बाबु ?”

सुरजीतले सबै कुरा बताउँदै भने–“तपाईंले जाल हाल्न सिकाइदिएको भए मैले आज धेरै दुःख पाउँदैनथँे । काकाको छोरा पनि म जत्रै छ । ऊ सबै काम गर्छ । यो जाल त कमाल कै  रहेछ नि बुझ्नुभयो ?”

कनैयाले लामो स्वास फेर्दै भने–“म तेरो हातमा जाल होइन कलम देख्न चाहन्थेँ छोरा, त्यसैले पो नसिकाएको हुँ ।”

सुरजीतले सम्झाउँदै भने–“बा, म धेरै पढ्छु मेरो पिर नै गर्नु पर्दैन। दुःख पर्दा अरूसँग पैसा माग्नुभन्दा मेहनेत गरी पैसा कमाउनु राम्रो हो बुझ्नुभयो ? ल औषधि खानुहोस् । त्यसपछि दूध र पाउरोटी दिउँला ।”

कनैयाले  छोरातर्फ हेर्दै भने–“बाबु ! अब म तँलाई जाल हालेर माछा मार्न मात्र होइन, जाल बुन्न पनि सिकाउँछु । ‘इलमीले भोकै मर्नु पर्दैन भन्ने कुरा मैले त भुसुक्ैके बिर्सेछु बाबु !’

हुन पनि हो मैले माछा मारेर तँलाई दिए भने केही बेरका लागि मात्र भोक भेटाउन सक्छस्। तँलाई माछा मार्ने, जाल बुन्ने सीप सिकाए भने दुःख पर्दा जीवनभर आफ्नो सीपले बाँच्न सक्छस्। सबै काम जानेपछि दुःख पर्दैन भन्ने कुरा तँैले नै सिकाइस् । वास्तवमा यो जाल हाम्रो लागि मूल्यवान् नै छ। तेरो साहस र जालका कमालले नै आज काम तमाम भयो । नत्र आज हामी भोकै हुन्थ्यौं ।”

बाबुको कुराले सुरजीत मुसुक्क हाँसे। छोराको ओठमा हाँसो देखेर कनैया पनि हाँसे।

प्रकाशित: ४ आश्विन २०७८ ०५:५४ सोमबार

अक्षर