कला

‘अपरिचित अनुहार’ सार्वजनिक

 साहित्यकार, समालोचक तथा अनुवादक महेश पौड्यालको कथासंग्रह ‘अपरिचित अनुहार’  सार्वजनिक भएको छ।नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय कक्षमा आयोजित एक कार्यक्रमका बीच पौड्यालको कथा संग्रह लोकार्पणसहित सार्वजनिक गरिएको हो।

वरिष्ठ कवि तथा आख्यानकार भुवनहरि सिग्देलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिका रूपमा त्रिवि केन्द्रीय अंग्रेजी विभागका प्रमुख प्राडा जीवलाल सापकोटा तथा शिक्षासेवी तथा नेसनल प्याब्सनका महासचिव सुवास न्यौपानेको उपस्थिति रहेको थियो।

पौड्यालको ‘अपरिचित अनुहार’ माथि टिप्पणी गर्दै वक्ताहरू वरिष्ठ आख्यानकार कृष्ण धरावासी, लोकप्रिय समालोचक डा. रजनी ढकाल र युवा समालोचक डा. अशोक थापाले आफ्नो विचार तथा पठनका अनुभूतिहरू सुनाएका थिए।

सुवास न्यौपानेले लेखकका बारे परिचयात्मक मन्तव्य राख्दै कार्यक्रममा प्राडा जीवलाल सापकोटाले शुभकामना मन्तव्य राखेका थिए भने सभापति भुवनहरि सिग्देलले आफ्नो छोटो मन्तव्यसहित सभाको विर्सजन गरेका  थिए।

कथाकार पौड्यालले वक्ताहरूको विचार तथा पुस्तकमाथिको समीक्षालाई सम्मान गर्दै वक्ता तथा कार्यक्रममा उपस्थिति सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए। करिब २ सय जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा कवि तथा समालोचक महेश कार्की क्षितिजले सञ्चालन गरेका  थिए।

‘अपरिचित अनुहार’लाई शिखा बुक्सले बजारमा ल्याएको हो। उक्त पुस्तकको मूल्य २७५ रुपैयाँ छ। लेखक महेश पौड्याल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागका उपप्राध्यापक रहेका छन्।

साहित्यतर्फ उनी बालसाहित्यकार, कवि, कथाकार, उपन्यासकार, गीतकार, नाटककार, समालोचक र अनुवादक पनि हुन्। पूर्वीय र पाश्चात्य साहित्य र सिद्धान्तका अध्येता पौड्यालका मौलिक १२ वटा कृति तथा स्कुलका दुई दर्जन पाठ्यपुस्तक प्रकाशित छन्। उनका तीन दर्जन जति अनुवाद र सम्पादनका कृति छन्।

धेरै पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका पौड्यालले केही समयअघि मात्र युवा वर्ष मोति पुरस्कार पनि प्राप्त गरेका छन्।

प्रकाशित: ४ आश्विन २०७८ ०५:१३ सोमबार