कला

धमिलो विहानी विमोचित

सुरेन्द्रलाल भुजूद्धारा लिखित कविता संग्रह धमिलो विहानीको शनिबार एक कार्यक्रमवीच भक्तपुरमा विमोचन गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले कविता संग्रहको विमोचन गरेका हुन्।  

कविता संग्रहका अधिकांश कविताहरुमा देशको अवस्थाबारे चिन्ता व्यक्त गरिएका छन्। देश धमिलो अवस्थामा रहेको भन्दै त्यसका नकारात्मक विषयहरुबारे उल्लेख छन्। देश गएगुज्रेको अवस्थामा पुगेको, भ्रष्टाचार मौलाएको, राम्रोभन्दा हाम्रोले ठाउँं पाएको आदि विषय वस्तुहरुमाथि कविले कवितामार्फत् चिन्ता व्यक्त गरेका छन्। यद्यपि कविता संग्रहका कविता दुःखमा मात्रै सिमित छैन। केही कविताले सकारात्मकता पनि पोखेका छन्।  

सृजना अभियान भक्तपुरको आयोजनामा कविता संग्रहको विमोचन गरिएको हो। कवि भुजूको यो पहिलो कविता संग्रह होइन। यसअघि उनले नेपाल भाषामा हाकु सुपाँंय् सिथयया जः (कालो वादलमा विहानको किरण), विभिन्न पत्रपत्रिकामा नेपाल तथा नेपालभाषामा र कविता तथा लघुकथाहरु प्रकाशित भएका छन्।  

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव उपाध्याय, आयोजक सिर्जना अभियान समाज भक्तपुरका अध्यक्ष ध्रुब मधिकर्मी, साहित्यकारहरु सुरेन्द्रलाल भुजू, उदय निरौलालगायतले प्रकाशित कविता संग्रहबारे आआफनो धारणा राखेका थिए। 

प्रकाशित: २ आश्विन २०७८ १२:११ शनिबार

कविता संग्रह