मन्दिरा मधुश्री
मेरी सानी भदै छ,
ऊ रमाइली हदै छ।
पाक्कपुक्क गाला छ,
कालोकालो छाला छ।
हिजो पर्यो साइत,
गएँ म नि माइत,
तिमी गीत गाऊ भनी ,
नाचौँ दुवै आऊ भनी।
फुपू –भदै नाचेर ,
बस्यौँ हामी थाकेर।
आमा पनि आउनुभो,
सेलरोटी ल्याउनुभो।
भोकले हत्तु भा’की थेँ,
रोटी झिक्नै ला’की थेँ।
च्याप्प हात समाई,
नछोऊ भन्दै कराई।
‘त्यसै किन छोएको,
हात छ र धोएको?’
सातो लिई भदैले,
म डराएँ मजैले।
हात धुन गएँ म,
अनि ढुक्क भएँ म।
ठूलै रोटी समाएँ,
टन्न खाएँ, रमाएँ।
प्रकाशित: १ आश्विन २०७८ ०३:१६ शुक्रबार