कला

बिपी र कांग्रेस युवा

देशको सबैभन्दा पुरानो र जनस्तरमा लोकप्रिय मानिँदै आएको ऐतिहासिक पार्टीका रूपमा नेपाली कांग्रेस रहँदै आएको छ। यसको गौरव अन्य दलका तुलनामा ज्यादा रहनुमा अरूसँग नभएका केही कारण यससँग छन्। पहिलो, यसै पार्टीले सर्वप्रथम नेपालमा लोकतान्त्रिक शासन पद्धतिको स्थापना गर्नका निम्ति राष्ट्रिय स्तरमा संगठित संघर्ष गर्‍यो।

 २००७ सालको जनक्रान्तिलाई हालसम्म भएकै सम्पूर्ण लोकतान्त्रिक राष्ट्रिय राजनीतिक संघर्ष र आन्दोलनको आधारशिला मानिएको छ। त्यस यताका राष्ट्रिय  महत्त्वका सम्पूर्ण युगान्तकारी परिवर्तनको नेतृत्व पनि नेपाली कांग्रेसले नै गर्दै आएको छ। राष्ट्रिय राजनीतिक इतिहासमा यसले  पुर्‍याएको योगदानबाट प्राप्त उपलब्धिका हकदार सम्पूर्ण नेपाली जनता हुनु स्वाभाविकै हो। समय र परिस्थिति अनुसार ०४६ र ०६२/०६३ सालका राजनीतिक आन्दोलन वा परिघटनामा अन्य पार्टीको सक्रिय उपस्थिति रहनका लागि पनि वैचारिक र रणनीतिक रूपमा नेपाली कांग्रेसकै नेतृत्व र संयोजनकारी अग्रसरता रहेको तथ्यलाई सबैले स्वीकार गरिरहेकै छन्। 

सैद्धान्तिक रूपमा लोकतन्त्रका कट्टर विरोधीका रूपमा रहेका दल पनि यसबेलासम्म लोकतन्त्र पक्षधर दलका रूपमा रूपान्तरण हुँदै आइरहेका छन्। मूलतः ००७ सालको युगान्तकारी राजनीतिक परिवर्तनद्वारा स्थापित स्वतन्त्रता र राजनीतिक, सामाजिक एवं आर्थिक जीवनपद्धतिका आधारशिलाको बहुआयामिक व्याप्ति नै आजको संघीय लोकतान्त्रिक गणतन्त्र हो। पार्टीको निर्माणमा कैयौँको भौतिक एवं वैचारिक योगदान रहन्छ, जुन स्वाभाविकै हो। यस क्रममा भएका र गरिएका संघर्ष, बलिदान र समर्पणका गाथा पार्टीका अमूल्य पुँजी हुन्। तिनको गरिमा र गौरवले पार्टीको शिर उँचो बनाइरहेका हुन्छन्।  

बिपी यस पार्टीका शीर्ष सिद्धान्तकार एवं भाष्यकार हुन्। नेपाली माटोमा उनका विचारद्वारा प्रदत्त चैतन्यशक्तिले उनको जीवनकालमा नेपाली जनमानसमा लोकतन्त्रप्रतिको आशावादलाई जीवन्त राखिरह्यो। बिपीको त्यसै वैचारिक सामथ्र्यलाई २०४६ सालको जनआन्दोलनले पुनः राष्ट्रव्यापी रूपमा ध्वनित गरायो र प्रजातन्त्रको पुनस्र्थापना भयो। 

लोकतान्त्रिक चेतनाका अर्का अग्रजवाहक लौहपुरुष गणेशमान सिंहको सर्वमान्य नेतृत्वमुनि अरू सहकर्मी नेतासहितको नेतृत्वमा वामपन्थी दल पनि सम्मिलित भएपछि जनआन्दोलन– २०४६ ले सफलता प्राप्त गरेको थियो। ०६२/६३ को दोस्रो राष्ट्रिय जनआन्दोलनद्वारा निर्मित सापेक्षिक राजनीतिक र सामाजिक आकांक्षालाई नेपालको संविधान, २०७२मार्फत लिपिबद्ध गर्ने प्रयास गरिएको छ। यद्यपि जनमानसमा लोकतन्त्र, स्वतन्त्रता र नागरिकका मौलिक हक–अधिकरप्रतिका मूलभूत आकांक्षा तिनै हुन्, जसको वीजारोपण २००७ सालको जनक्रान्तिकालमा भएको थियो। 

जनचेतनामा अभिवृद्धि भएसँगै जनआकांक्षाहरू पनि समयानुसार थपिँदै जान्छन्। लोकतन्त्रका आधारभूत मूल्य–मान्यता र आदर्शमा भने ठूलो अन्तर हुँदैन। आम जनमानसमा विस्तारित हुन पुगेको लोकतान्त्रिक वैचारिकता एवं आदर्श नै यस पार्टीको सबैभन्दा  महत्त्वपूर्ण शक्ति र सामथ्र्यको प्रथम आधार हो।  

त्यस्तै दोस्रो आधार हो, यस पार्टीले विगतमा अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त गरेको सम्मान र मान्यता।अन्तर्राष्ट्रिय स्तरमा नेपाली कांग्रेसले विशेष सम्मान पाउनु पछाडिको कारणमा यसले निर्माण गरेको जगमा स्थापित नेतृत्वको सर्वोच्च भूमिकालाई मान्न सकिन्छ। पार्टीको नेतृत्वमा त्यस गौरवका प्रमुख हकदार बिपी कोइराला रहे।यी दुइटा प्रमुख आधारप्रति विशेष गरी पार्टीको वर्तमान नेतृत्व पंक्तिले र भविष्यमा नेतृत्वमा पुग्न चाहना राख्ने युवा कांग्रेसले गम्भीरतापूर्वक मनन गर्नुपर्ने देखिन्छ। मनन मात्र पनि पर्याप्त हुँदैन, त्यसलाई निरन्तर ताजा राख्न प्रयत्नशील पनि भइरहनुपर्छ।

बिपीले आफ्नो जीवनकालमा नेपाली कांग्रेसलाई एक समाजवादी, लोकतन्त्रवादी पार्टीको हैसियतमा एसियाली, युरोपेली राजनीतिक जगत्मा सुपरिचित गराए। प्रथमतः भारतीय समाजवादी नेताहरूसँगको घनिष्ठ राजनीतिक मित्रता, स्वाध्ययनको निरन्तरता, अन्तक्र्रियात्मक वैचारिक मन्थन र प्रभावशाली लेखन आदिबाट आफूमा निर्मित राजनीतिक सामथ्र्यका कारण २००७ सालको जनक्रान्तिपछि बिपीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित नेताको हैसियत प्राप्त गरे। यसै सामथ्र्यका साथ बिपीले नेपाली कांग्रेसलाई २००८ सालमै एसियाली समाजवादी संगठनभित्र प्रवेश गराए। यसबाट उनको व्यक्तित्वका साथै नेपाली कांग्रेसको प्रतिष्ठा भारतीय उपमहाद्वीपभन्दा बाहिरको एसियाली राजनीतिक क्षितिजमा विस्तारित हुन थाल्यो।

२०१५ सालमा भएको प्रथम ऐतिहासिक आम निर्वाचनपछि २०१६ सालमा गठित नेपाली कांग्रेसको सरकारका प्रधानमन्त्री बनेका बिपीले आफ्नो कार्यकालमा नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाए। त्यस अवधिमा बिपीले चीन, भारत, इजरायल लगायत मुलुकको ऐतिहासिक भ्रमण गरे। यस्तै संयुक्त राष्ट्रसंघको १५औँ महासभामा भाग लिई नेपालको स्वतन्त्र एवं परिपक्व कूटनीतिक क्षमताको परिचय दिए। विभिन्न भ्रमणका अवसरमा व्यक्त दृष्टिकोणले उनको व्यक्तित्वलाई एसियाली राजनेताको स्तरमै सम्मानित हुन मद्दत पुर्‍याए। 

जीवनको उत्तराद्र्धमा बिपीले युरोपियन समाजवादी संगठनका राजनेतासँग भेटघाट र अन्तर्क्रिया गरी तत्कालीन नेपालको बन्द राजनीतिक परिस्थितिद्वारा उत्पन्न दुष्प्रभाव र लोकतान्त्रिक संघर्षका क्रममा नेपाली कांग्रेसद्वारा गरिँदै आएका कार्यबारे उनीहरूलाई परिचित गराएका थिए। त्यसताका भएका भ्रमणकै अवसरमा उनले नेपाली कांग्रेस पार्टीले लिएको प्रजातान्त्रिक समाजवादी दृष्टिकोणबारे ध्यानाकर्षण गराए। नेपालमा लोकतन्त्रको पुनस्र्थापनाका लागि बिपीले लिएको अडान, त्यसबापत उनले भोग्नुपरेको अविचलित संघर्षमय जीवन वृत्तान्तबाट युरोपेली समाजवादी नेताहरू पहिल्यैदेखि प्रभावित थिए। उनीहरूमा बिपीप्रति ठूलो सम्मान थियो। २०४६ को जनआन्दोलनमा युरोपेली मुलुकद्वारा प्राप्त नैतिक समर्थनका पृष्ठभूमिमा बिपीको व्यक्तित्वले ती मुलुकका समकालीन राजनेतामा पारेको गहिरो प्रभाव थियो भन्न सकिन्छ।

बिपीको अन्तर्राष्ट्रिय समाजवादी संगठनमा प्रेरणादायी वैचारिक प्रभाव रहेको कुरा अभिलेखबाट जानकारी हुन्छ। सोसलिस्ट इन्टरनेसनलका तत्कालीन सभापति पूर्वजर्मन चान्सलर विल्ली व्रान्ट बिपीका मित्र थिए। उनले बिपीका विचार विश्वकै समाजवादीका लागि मूल्यमान रहेको बताएका छन्, ‘संसारभरिका उनका मित्रहरूका लागि उनका विचार र सुझावहरू अत्यन्त महत्वपूर्ण छन्। 

विश्वव्यापी जनतान्त्रिक समाजवादी आन्दोलन, उनको आदर्शका प्रति गहिरो आस्था एवं वैचारिक दृढताका लागि प्रतिबद्ध एवं ख्यातिप्राप्त व्यक्तित्वका रूपमा सदैव स्मरण गरिरहनेछ ।’ बिपीलाई आफूले सन् १९५९ देखि नै समाजवादी आन्दोलनका क्रममा चिनेको स्मरण गर्दै उनी नेपालका लागि मात्र नभई विश्वकै निम्ति पनि एक सरल र प्रबुद्ध राजनीतिज्ञ रहेको कुरा ब्रान्टले आफ्नो संस्मरणमा व्यक्त गरेका छन्। 

बिपी एक दूरदर्शी नेता भएको उल्लेख गर्दै ब्रान्टले विश्वबाट साम्यवादको पतन भई समाजवादी प्रजातान्त्रिक व्यवस्थाको विस्तार हुँदै जानेछ भन्ने उनको विचार सत्यमा परिणत हुँदै आएको स्मरण पनि गरेका थिए। यस्तै तत्कालीन सोसलिस्ट इन्टरनेसनलका महासचिव बर्न कालेसो, प्रजातान्त्रिक समाजवादी पार्टी जापानका नेता नागसु से वातानावे लगायत नेताले बिपीलाई समाजवादी आन्दोलनका एक शीर्ष विचारक रहेको कुरा उल्लेख गरेका छन्। 

विश्व समाजवादी संगठनका नेताद्वारा बिपीको व्यक्तित्वका सम्बन्धमा गरिएका स्मरण उनको निधनपश्चात् व्यक्त गरिएका औपचारिकता मात्र थिएनन्, त्यस संगठनको लोकप्रियता र वैचारिक शक्तिलाई प्रवद्र्धन गर्न बिपीका विचारबाट पुग्न गएको योगदानलाई सम्मान गर्दै उनलाई स्मरण गरिएको थियो।

बिपीको राजनीतिक एवं वैचारिक व्यक्तित्वलाई राम्ररी चिन्ने उनका भारतीय मित्र असंख्य थिए। उनीहरूले बिपीलाई गान्धी, नेहरू, जयप्रकाश नारायण आदि राजनेताकै समकक्षमा आउन सक्ने हैसियतका राजनेताका रूपमा मूल्यांकन पनि गरेका छन्। 

प्रसिद्ध भारतीय समाजवादी चिन्तक सागरसिंहले बिपीलाई एक प्रेरणादायी एवं विश्वस्तरीय राजनेताका रूपमा स्मरण गर्दै समाजका हरेक वर्गका मानिसका लागि मानवीय मूल्य–मान्यता र चैतन्यद्वारा उनीहरूलाई माथि उठाउन प्रयत्नशील नेताका रूपमा स्मरण गर्दै भनेका छन्, ‘विश्वस्तरीय कोटिमै आउने राजनीतिज्ञ भएर पनि समाजका प्रत्येक वर्ग र तहका जनताका साथ तादात्म्य कायम गरेर उनले जसरी मानवसुलभ चेतना प्राप्तिका लागि आजीवन संघर्ष गरे, त्यसकै कारण उनलाई एक दार्शनिक राजनेताका रूपमा मान्न सकिन्छ ।’  

यसैगरी बिपीका घनिष्ठ मित्र एवं समाजवादी चिन्तक देवेन्द्रप्रसाद सिंहले आफ्नो एक संस्मरणात्मक लेखमा बिपीको समग्र व्यक्तित्वको मूल्यांकन गर्दै नेपालजस्तो सानो मुलुकका बिपी संसारकै स्वतन्त्रताप्रेमी मानिसका लागि उदाहरण बनेको विचार व्यक्त गरेका छन्, ‘नेपाल एक सानो मुलुक हुनुका कारण बिपीको कार्य क्षेत्र साँघुरो थियो। 

तर संसारका सबै स्वतन्त्रता एवं कर्तव्यप्रेमी मानवका लागि बिपीको उदाहरण प्रेरणाको स्रोतका रूपमा रहनेछ ।’ भारतीय समाजवादी नेता चन्द्रशेखर, वरिष्ठ पत्रकार एवं लेखक भोला चटर्जी लगायत व्यक्तित्व बिपीसँग लामो समयसम्म निरन्तर सम्पर्कमा रहे। उनीहरूले बिपीलाई २० औँ  शताब्दीको सबभन्दा महान् नेपाली भनेर स्मरण गरेका दस्तावेज छन्। बिपीलाई नजिकबाट चिन्ने नेपालकै कैयौँ राजनीतिक विश्लेषकले पनि त्यही खालको विचार राख्दै आएका छन्। २०आँै शताब्दी बितिसकेको छ। २१ औँ शताब्दीभरि पनि बिपीको नाम उसै गरी लिइनु नेपालका लागि र समयका लागि पनि गर्वकै विषय हुनेछ।

बिपीको यस प्रकारको व्यक्तित्वप्रति गर्व गर्ने अधिकार सबै नेपालीलाई छ। यद्यपि बिपीले जीवनकालमा प्राप्त गरेको यस अन्तर्राष्ट्रिय प्रतिष्ठालाई वर्तमान नेपाली कांग्रेसले उपेक्षा गर्दै आएको तीतो यथार्थ पनि सामुन्ने छ। नेपाली कांग्रेसलाई प्रजातान्त्रिक समाजवादी पार्टीका रूपमा अन्तर्राष्ट्रिय स्तरमा परिचित र प्रतिष्ठित गराउने मात्र नभई नेपालको सन्तुलित र स्वतन्त्र अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धको आधारशिलाको निर्माण बिपीले गराए। 

विगतमा उनीद्वारा मुलुक र पार्टीका लागि निर्मित यही प्रतिष्ठा नै नेपाली कांग्रेसको अर्को सर्वाधिक महत्त्वपूर्ण सामथ्र्यको आधार हो। सामथ्र्यको यस गौरवपूर्ण आधारलाई नेपाली कांग्रेसले क्रमशः कमजोर बनाउँदै लगेको प्रतीत हुन्छ। बिपीद्वारा निर्मित पार्टीको गौरव र प्रतिष्ठाको आधारलाई उनका कतिपय सहकर्मी नेताले कायम राख्ने प्रयत्न गरे, तर उनीहरूको प्रयत्न टिक्न सकेन।

 फलतः पार्टीभित्र क्रमशः मौलाउँदै आएका वैयक्तिक स्वार्थका सलबलाहट र प्रायः सत्तारोहणतर्फ मात्र लक्षित गणितीय राजनीतिका खेलमा रम्न मूलतः २०४८ सालपछिको नेतृत्व पंक्ति अभिशप्त रह्यो। त्यसयताको समयमा नेतृत्व पंक्तिले बिपीद्वारा स्थापित अन्तर्राष्ट्रिय प्रतिष्ठा र गर्वलाई वरण गरिरहन सक्ने क्षमता क्रमशः गुमाउँदै गएको महसुस हुन्छ।

बिपीको सामथ्र्यको चहकले नेपाल राष्ट्रलाई उज्यालो पार्ने प्रयत्न गर्नु के वर्तमानको जिम्मेवारी होइन ? कांग्रेसले अतीतमा आर्जन गरेको गर्वलाई उत्खनन गरेर त्यसलाई वर्तमान गणतान्त्रिक नेपालको आँगनमा पुनस्र्थापित गर्न अब भने नयाँ पुस्ताले प्रयत्न गर्नैपर्ने बेला आएको छ। यसका लागि बिपीका असली उत्तराधिकारी बन्न सक्ने क्षमता र चिन्तन भएका केही युवा नेताले नेपाली कांग्रेसको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्ठालाई पुनर्जीवन दिन सक्ने मार्गचित्रको निर्माणमा लाग्नु श्रेयष्कर देखिन्छ।

कांग्रेसको भविष्य मानिएका युवा नेता नेपाली जनतासँग नजिक भइरहनका लागि सबैभन्दा निर्विवाद माध्यम पनि त्यही हुनेछ। उनीहरूमाथि पार्टीका सामान्य कार्यकर्ता तहको मात्रै नभएर कांग्रेसको उज्ज्वल भविष्यको चाहना राख्ने सबै नेपालीको आशा जोडिएको छ। अहिले सबैले पत्याएका, नकारात्मक छवि नभएका र बिपीको विचार एवं मार्गदर्शनलाई आदर्श मानेर पार्टीमा क्रियाशील रहँदै आएका युवा पुस्ताका नेताले गुटमा विभक्त भएर महाधिवेशनमा उम्मेदवारी दिए भने कांग्रेसका भविष्य भनिँदै आएका उनीहरू तानातानमा पर्नेछन्, त्यसो हुँदा उनीहरूकै बीचमा पनि आपसमा क्रमशः अविश्वास बढ्दै गएर भोलि उनीहरूकै बीचमा अन्य गुटको निर्माण हुँदै जानेछ। अनि उनीहरूले वर्तमानको शीर्ष नेतृत्व तहकै नियति भोग्नुपर्ने हुन्छ, जसले कांग्रेसलाई ओरालो मात्र लाउन बढी भूमिका खेल्यो। त्यसो भएमा अन्ततोगत्वा कांग्रेस झन् तंग्रिएर होइन, मक्किएरै जान सक्छ। 

महाधिवेशनमा उम्मेदवारीकै क्रममा गुटमा सामेल हुनैपर्ने जुन स्थिति देखिँदै छ, त्यसबाट भविष्यमा उनीहरू नै गुटका नेतृत्वमा पुग्नेछन्। अनि, उनीहरूको अहिलेको छवि गुटमा पुगेर अल्झिनेछ। अल्झिएपछि अस्तव्यस्तता हुने नै भयो, जस्तो अहिलेका पहिलो र दोस्रो पुस्ताका केही नेतृत्वमा देखिँदै छ। उनीहरूले बिपीको नाम लिन छोड्ने त कुरा भएन, तर बिपीका आदर्श र मार्गदर्शन उनीहरूकै कारण क्षतिग्रस्त भएका हुन् भन्ने सम्झेका भने छैनन्।

 तसर्थ पार्टीको सुन्दर र प्रतिष्ठित भविष्यसँगै आफ्नो भविष्य पनि प्रतिष्ठित बनाउन साँच्चै अग्रसर हुने हो भने वर्तमानका युवा कांग्रेसले पार्टीलाई गुटनिरपेक्षीकरण, संस्कारीकरण, वैचारिकीकरण, अभिलेखीकरण र बिपीद्वारा निर्मित गौरवलाई पुनः गौरवीकरण गर्न सकिने भरलाग्दो मार्गचित्र बनाई त्यसलाई नै मूर्तरूप दिन सक्रियता देखाउन आवश्यक छ। कांग्रेसको सामथ्र्यको आधारको पुनर्जन्म हुन सके कांग्रेसकै पुनर्जन्म हुनेछ भन्नेतर्फ युवा पुस्ता गम्भीर हुनुपर्ने देखिन्छ। 

युवाहरू यस बेलादेखि नै गुटको घेराबन्दीमा परेर मात्र चल्न थाले भने ती ऐतिहासिक र गौरवशाली नेपाली कांग्रेसको नेता बन्ने छैनन्, जस्तो पुरानो पुस्तामा अहिले जो देखिएको छ। त्यसैले उनीहरू गुट रोज्छन् कि नेपाली कांगे्रस, त्यसमा उनीहरूकै व्यक्तित्व र प्रतिष्ठा पनि जोडिएको छ। नेपाली कांग्रेसको भविष्यले वर्तमान युवा पुस्ताबाट गुटको नेतृत्वमा पुग्न सामथ्र्य राख्ने नेता पर्खिरहेको छैन, बिपीद्वारा निर्मित सामथ्र्यलाई पुनर्स्थापित गर्न सक्ने नेतृत्वको पनि प्रतीक्षा गरिरहेको छ।

प्रकाशित: २६ भाद्र २०७८ ०३:०१ शनिबार

अक्षर