कला

हिंस्रक

लघुकथा

नवराज शर्मा

ज्यानमाराहरू वनमा पसेपछि वनका सबै प्राणीले  शान्तिको सास फेरेका थिए। ज्यानमारा बस्ती पसेपछि भने वनमाराहरूको पुनः वनमा राज भयो। न रुखलाई चैन थियो न अन्य प्राणीलाई शान्ति। वन नासिंदै गएपछि प्राण धान्न उनीहरू बस्ती पस्न बाध्य भए।

वनमा सबैभन्दा छिटो दगुर्ने भएकाले उसको नाम गतिमान थियो। उसलाई थाह थियो– वन होस् कि बस्ती शक्तिमानलाई जहाँ पनि हाइसन्चै छ। ऊ चनाखो भएर, चाल मारेर बस्तीतर्फ जाँदै थियो। चनाखो हुनुपर्ने धेरै कारणमध्ये बलियो कारण थियो बस्तीभित्र वनमा भन्दा बढी खतरा हुनु। वनमा वनमारा मात्रको डर थियो भने बस्तीमा वनमारा र ज्यानमारा दुवैको तर बाध्यता थियो। आहारा पनि त सजिलै पाइन्थ्यो बस्तीमा।

बस्तीभित्र जानुअघिउसले चारैतिर हेर्यो। कतै चंखेको गन्ध पाएन। चंखे स्याल उसको मित्र नभएपनि मिलेर बस्ती जाँदा दुवैलाई फाइदा हुन्थ्यो। चंखे सानो आहारा लिएर एकातिर दगुथ्र्यो भने ऊ ठूलो आहारा  लिएर फरक बाटो समात्थ्यो। स्वार्थ एउटै  भएसँगै हिंड्नुको विकल्प हुन्न भन्ने धूर्तता उनीहरूले दुई खुट्टे अर्थात मान्छेहरूबाट सिकेका थिए। तर ज्ञानका धेरै  कुरा अहिलेसम्म उसले बुझ्न सकेको थिएन। मान्छेहरू आफूलाई अहिंसामा विश्वास भएको जनाउँथे तर अरूले मारेको खाएमा दोष लाग्दैन भन्थे।निर्धालाई ह्याकुलाले मिचेर राख्थे अनि अधर्म गर्नुहुन्न भन्थे। शक्ति हत्याउन मर्न मार्न पछि पर्थेनन् र भन्थे द्वन्द्वमा सबै कुरा जायज हुन्छ। ऊ यस्ता कुरा भने बुझ्थेन।

चंखेले  बुझ्थ्यो कि ! ऊ मनमनै सोच्छ।

बस्तीभित्र पुगेपछि उसले देख्यो मान्छेहरू हुल बाँधेर बसेका थिए।उनीहरूको माझमा एकातिर लाचार चंखे थियो भने अर्कोतिर मरेको कुखुराको भाले थियो। मान्छेहरू कराउँदै थिए,‘यो हिंस्रकलाई नछोड! मार ! हाम्रो बस्तीमा आएर दुःख दिनेलाई छाड्नु हुन्न।’

एकछिन गतिमान वाल्ल पर्यो।’ को कसको बस्तीमा आएर दुःख दिने गर्छ कुन्नि!’ ऊ जंगियो।  जोडले करायो। खैलाबैला मच्चियो। मौका छोपेर चंखे र ऊ सुइँकुच्चा ठोके। बाटोमा   उसले चंखेलाई सोध्यो, ‘भोक मेट्ने हिंस्रक हुन्छ कि स्वाद मेट्ने हिंस्रक हुन्छ ?’ 

  – वीरगञ्ज,सिर्जनानगर, भक्तपुर – १।

प्रकाशित: २३ भाद्र २०७८ ०५:१५ बुधबार

अक्षर