कला

जनैपूर्णिमा

लघुकथा

त्रिलोचन ढकाल

हातमा रंगीन धागाको मुठो लिएर आए पन्डित बाजे । ढाकाको टोपी, काँधमा केशरे रुमाल, कम्मरभन्दा तल बेसारे धोती र सेतो कमिजमा थिए। निकै सुहाएको थियो उनलाई। मैले औपचारिकता पूरा गरेँ,‘कता पुगेर आउनुभयो पण्डितजी?’ 

उनले फर्काइहाल– आज जनैपूर्णिमा। जनै मन्तरन गएको। आज नयाँ जनै फेर्ने दिन हो नि!

उनले टाउकाका रौंमाथिको टोपी निकाले। लामो र झपक्क परेको  टुपी हल्लाए। टुपीको छेउमा कसैको गाँठो देखाउँदै भने–‘यी टुप्पी र शिखा। जनै र शिखा सहितको टुपी हिन्दूहरूको  पहिचान हो नि सर!’

त्यति सुन्दा मेरो मनबाट प्रश्नको मुस्लो निस्कन खोजेको थियो। त्यो मुस्लाबाट एउटा मात्र निकालेर उनका अगाडि सुताइदिएँ– यसको मतलब शिखासहितको टुप्पी र जनै नलगाएको मानिस हिन्दू हुँदैन?’

उनले नकारात्मक मुद्रामा टाउको हल्लाए र चर्को आवाजमा भने–हुन्न। हिन्दू हुन जनै र शिखा सहितको टुपी हुनैपर्छ।

मैले हिन्दूशास्त्र स्मरण गराउँदै भनें,‘महिलालाई जनै धारण गर्ने र शिखा सहितको टुप्पी राख्ने अधिकार तपाईंको धर्मशास्त्रमा छ कि छैन ?

– छैन।

–जनजातिलाई टुप्पी र जनै धारण गर्न मिल्छ कि मिल्दैन?

–मिल्दैन! मिल्दैन!!  

–दलितलाई पनि मिल्दैन ?

–कहाँ मिल्नु ? के सोच्नुभएको सरले ? मिल्दैन।

–बालकलाई पनि त्यो अधिकार प्राप्त छैन होला !

–छैन।

–त्यसोभए तपाई जस्ता टुप्पी र जनै भएका मान्छे नेपालमा एक लाख जति होलान्।

– खोई ! लाख पनि पुग्छन् कि पुग्दैनन्।  

–तिन करोडमा एक लाख ! भन्नाले जिरो दशमलब तिनतिन प्रतिशत।

उनी हजार भोल्टको बिजुली लागेजस्तो गरेर झस्के। उभिन नसकेर थुचुक्क बसे। चुच्चे नाकको टुप्पामा चोर औंला टेकाए र केही सोचेजस्तो मुद्रा बनाए।

प्रकाशित: १३ भाद्र २०७८ ०४:११ आइतबार

अक्षर