कला

हूलतन्त्र

लघुकथा

दिव्य गिरी

 

ऊ भित्र पस्नासाथ आफू बस्ने कुर्सीमा अर्कै मान्छे बसिरहेको देख्यो। कुर्सीमा बस्ने मान्छे पनि हिन्दी सिनेमाको रहश्यमय पात्रजस्तै ढोकातिर पिठ्यूँ फर्काएर बसेको थियो। उसले कुर्सीमा बस्नेको अनुहार देख्न सकेन।  

ऊ एकछिन जिल्ल पर्‍यो। ऊ भित्रभित्रै रन्कियो–यसको कत्रो आँट? 

ऊ सरासर कुर्सी नजीक गयो। कुर्सीमा बस्नेचाहिँ मस्त निदाइरहेको थियो। उसले कठालोमा समातेर उठायो र हकार्दै सोध्यो– ‘मेरो कुर्सीमा बस्ने तँ को होस् ?’

उसले पनि निकै फूर्तिसाथ भन्यो– ‘तँचाहिँ को होस् नि मेरो कठालो समात्ने?’

– म को हुँ भनेर चिनाउनुपर्ने? म यो देशको शासक हुँ?

‘म पनि यो देशको नयाँ शासक हुँ, ल पढ् यो चिठी ।’ यति भन्दै उसले खल्तीबाट एउटा कागज झिकेर दियो। तब नयाँ शासक ढोकातिर फर्केर मुसुमुसु हाँस्नथाल्यो।

पत्र पढेर ऊ छक्क पर्‍यो। पत्रमा लेखेको थियो– यो पत्रवाहकलाई आजका दिनदेखि शासक नियुक्त गरिएको छ। यो सडकबाट जारी गरिएको सर्वोच्चादेश हो।

ढोकामा लाठी लिएर बस्नेहरू ठूल्ठूलो स्वरमा नारा लगाइरहेका थिए – ‘हूलतन्त्र जिन्दावाद! जिन्दावाद!’

प्रकाशित: ११ भाद्र २०७८ ०६:४१ शुक्रबार

अक्षर