कला

संवत् फेरिन लाग्यो

कविता

कृष्णबहादुर बुढाथोकी

 

संवत् फेरिन लाग्यो

भदौको लुँडी र पाटनको चरन बिस्तारै याद दिलायो

फेरि पाटनमा पुगिन्छ, पुगिन्न

छानेर बुझो लाउन मिल्छ, मिल्दैन

कटेरोबाट एकजोडी आँखा तन्कायो

एक फन्को मारेर ड्वाँ ४४४ गर्याे फुर्केले

स्वरमा स्वर मिलायो तिल्केले।

 

सिँगौरी खेल्दै बथानमा मडारिएको,

स्वच्छन्द चउरहरूमा  

बुर्कुसी मारेका दृश्यहरू आँखाभरि साँचेर,

दाम्लो छिनाल्ने कोसिस गर्छ,

टाउको छिराउने उपाय खोज्छ

खाँबो उखेल्ने जमर्काे गर्दै

सिङ रगड्छ, निरुपाय ऊ  

कान लत्र्याएर, आत्मसमर्पण गरी,

थुचुक्क बस्छ भुईमा।

उहीं फुर्के हो, डअरुको बथानमा उत्पात मचाउने,  

बाछाबाछीहरूलाई दप्काउने,

खर्कका घाँसहरूमा आधिपत्य जमाएर आफै हसुर्ने,

गोब्राइदिने, लतार्ने  

अघि लागेर अरूलाई पछि पार्नेे

निर्धा र निमुखालाई दपेट्ने।

 

उसले सिँगौरी खेलेका डाम

भित्ताहरूमा आलै छन्  

कोतरेका चउरमा खुरका छाप उस्तै छन्,

दगुरेका डोबहरू,

दलिएका भित्ताहरूले गिज्याइरहेछन्

कैयौ बहर डुक्रन पाउँदैनथे,  

घाँस चर्न र पानीघाट झर्न नि उसकै मर्जी थियो

भकारोमा पस्न र रातमा बस्न उसकै अनुमति चाहिने

लेकका पाटन र बेसीका फाँटहरूमा बुर्कुसी मार्ने  

उन्मत्त फुर्के विधिको बन्धनमा कसिएको छ

अरूको निगाहमा बाँचेको छ।

सम्झन्छ त्यो उन्मुक्त समय,

खुला मैदान  

सुगन्धित समिरको स्पर्श

स्वादिष्ट झारपातको भोजन

एकाधिकार र आधिपत्य

मुगल बादशाह, सिकन्दर, बोनापार्ट

सबै उपमा उसकै सिङमा सिउरिइन्थे

ककेससको काँठ सगरमाथाको माथ

र टेथिस सागरदेखि सगरसम्म

उसकै पेवा थिए।

 

जहाँ पुग्थ्यो, जमिनमा लात माथ्र्यो

पिसाबको तुर्काे र दिसाको पित्को खसाल्थ्यो

एकै गर्जनमा बथानलाई तितरबितर  

छिन्नभिन्न बनाउने फुर्के,

बेहद फुर्ती

असीम घुर्कीले दलाई गर्दै

अजात शत्रु बनेर

बारीका लुँडीमा मडारिने

बाछाबाछी  र लुतेलाङ्ग्रे बहरलाई धुलो चटाउने,

पाटनमा अकण्टक आधिपत्य चलाउँदै

बेहद शक्तिको  सगौरव  

प्रदर्शन गर्ने,

बेजोड प्रतापी फुर्के  

समयको दास भएको छ

मालिकको निगाहमा आउने जुठाभाडा पखालेको पानी

सुकेको परालमा मन बुझाउन परेको छ।

जमिन भत्काउने, बथान हच्काउने शक्ति,

खिरिलो डोरी र सानो खाँबोले खुम्च्याउँदा

कटेरोको कुनामा कच्र्याएको छ।

 

हलोमा नारिदा, निर्मम लाठीको चोट,

भोक र तिर्खाले सताउँदा

निन्याउरा आँखामा  

एकजोडी आँसुका ढिका खसाल्दै

विगत सम्झेर प्रताडित हुन्छ,

आफ्ना कुकर्म सम्झेर  

आफैलाई धिक्कार्छ

उसको गर्जन विलाप भएको छ

सुनिदिने डोरी र खाँबोबाहेक कोही छैन

शरीरका नीलडाम हेरेर

फुर्के !

मन बुझाउँछ–

“समय बलवान् छ

विधिको विधान विचित्रको छ  

उकालीपछि ओरली आउँछ

रुखको माकुरो भुईमा पछारिन्छ  

यो सृष्टिको नियम हो।”

प्रकाशित: ३ भाद्र २०७८ ०७:४४ बिहीबार

अक्षर