कला

बाटाको बास

लघुकथा

आचार्य प्रभा  

 

“छोरा बोलाउन त बोलाइस् अमेरिका तर तँलाई थाहै छ।  हामी बुढेसकालले छोएका मान्छे। हामीलाई त त्यहाँको पारा चल्दैन नि! के कस्तो छ बुहारीको चाला? फेरि हामी धर्धरी रोएर फर्किनु नपरोस्।”आमाले छोरालाई फोनमा यसै भनिन्।

छोराले जवाफमा भन्यो, “आमा अब आफ्नो घर र देश जस्तो विदेशमा हुँदैन। कति कुरामा सबैले सम्झौता गर्नुपर्छ। मलाई चाहिँ आमा र बुवालाई एकपटक घुमाउने इच्छा हो।कर हैन।”

केही महिनापछि आमाबुवालाई समिरले अमेरिका बोलाए। सुरुमा छोराबुहारीले एक महिना बिदा लिएर आमाबाबुलाई घुमाए। रमाइलोसँग महिना दिन बिताए। सब ठीकसँग चल्यो।

एकदिन अनायास आमाले समिरलाई झोक्किंदै भनिन्,“के हो छोरा, बुहारीको चाला? घरमा सासू–ससुरा भएनभएको वास्तै छैन। एकाबिहानै उठेर गएपछि साँझमा आउँछे। समयमा हामीले खान पाउनु छैन। यस्तै चाला देख्नुपर्छ भनेर मैले पहिल्यै तँलाई फोनमा भनेकी हुँइन?”

समिर मौन बन्यो आमालाई केही जवाफ दिएन।

केही महिनापछि समिरको परिवारलाई बसेको लिजि अफिसबाट अपार्टमेन्ट छाड्नुपर्ने पत्र आयो। समिरलाई आपत पर्यो। उसको केही उपाय भएन। धन्न साथीको घरमा आमाबाबु सहित केही समयलाई सिफ्ट भयो। समिरको आर्थिक स्थिति कमजोर बन्दै गएकाले उसको अवस्था पनि नाजुक बन्दैे थियो। आमाबाबु भने यो स्थितिसँग अनजान थिए। समिरले आफ्नो हालत केही भन्न चाहेन।

एकदिन खुसुक्क आमाले समिरको साथीलाई सोधिन्,“बाबु, समिरले किन आफ्नो कोठा छाडेर हामीलाई पनि यहाँ ल्यायो? आजकल त्यो निकै चिन्तित देखिन थालेको छ। केही भन्दैन।”

“आमा यो अमेरिका हो। यहाँ आज काम नगरे भोलि भोकै बस्नुपर्छ। एकजनाको कमाइले केही हुन्न परिवार भइसकेपछि। भाउजूले काम छाड्नुभएको चार महिना भएछ। समिर एक्लाको कमाइले खाँदा नै ठिक्क। अपार्टमेन्टको भाडा तिर्न नसक्दा त्यहाँबाट निस्किनुपरेको हो।”

उसको उत्तरले आमाले अधीर बन्दै सोधिन्, “अनि बाबु एकैचोटि पछि दिन्छु भन्दा हुँदैनथ्यो?”

“आमा नेपालको जस्तो नियम कहाँ हुन्छ यहाँ? यहाँ त कमाइ छ बस्ने छहारी,खाना छ। कमाइ छैन भोलि बाटाको बास। धन्न म थिएँ र बाटाको बास भएन।”

आमाले सम्झिन थालिन्, “मैले बुहारीको चाला राम्रो खोज्ने हुँदा आज छोराको यस्तो अवस्था भएछ। घरमा जस्तो बुहारीले सासूससुराको सेवा गरेर बस्न कहाँ मिल्दो रहेछ विदेशमा?”

प्रकाशित: ३ भाद्र २०७८ ०४:०० बिहीबार

अक्षर