कला

विश्वराज अधिकारीको बज्जिका संस्मरण लोकार्पण

अमेरिकामा रहेका साहित्यकार विश्वराज अधिकारीको बज्जिका भाषामा लेखिएको संस्मरण संग्रह 'कहाँ गेल ऊ लोग'को एक समारोहबीच विमोचन गरिएको छ। महोत्तरीदेखि बारासम्म बोलिने स्थानीय बज्जिका भाषामा लेखिएको पहिलो संस्मरण संग्रहको बज्जिका भाषा विकास परिषद् नेपालका अध्यक्ष शिवचन्द्र साहसहित पाँच जनाले रौतहटको गरुडामा संयुक्त विमोचन गरेका हुन्।

बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्ण, बज्जिका पत्रकार समाज नेपालका अध्यक्ष राजुकुमार श्रीवास्तव, बज्जिका समृद्धि समाज सर्लाहीका सहसचिव साहित्यकार सञ्जय सुदामा तथा मध्यरौतहट बहुमुखी क्याम्पस गरुडाका क्याम्पस प्रमुख प्रेमलाल साहले कृतिको लोकार्पण गर्दै बज्जिका साहित्यमा औपचारिक कृतिमार्फत नयाँ विधाको सुरुआत गरेको बताएका छन्।  

कृति विमोचन कार्यक्रममा बज्जिका अभियन्ता साहित्यकार सञ्जय साह मित्र, केदार यादव, संगीताकुमारी सहनी, शिवचन्द्रप्रसाद साह, रेणु गुप्तासमेतले मन्तव्य राख्दै नेपालीय बज्जिका साहित्यमा अधिकारीको योगदान निकै महत्वपूर्ण रहेको बताउँदै नयाँ कृतिले बज्जिका साहित्यमा नयाँ कीर्तिमान कायम गरेको बताएका छन्। कार्यक्रमको अध्यक्षता बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्णले गरेका थिए।

नेपाली, अंग्रेजी तथा बज्जिका भाषामा निरन्तर कलम चलाइरहेका साहित्यकार अधिकारीका एक दर्जनभन्दा बढी विभिन्न विधाका कृति प्रकाशित छन्। बज्जिका भाषामा पहिलो आधुनिक गीत संग्रह पनि अधिकारीको प्रकाशित रहेको छ।

नेपाल र भारतमा करिब तीन करोड बज्जिका मातृभाषी रहेको दाबी गरिएको यस भाषाको सम्भवतः पहिलो संस्मरणात्मक कृति रहेको संगमका अध्यक्ष श्रीकृष्णको भनाइ छ। कृतिको प्रकाशन संगमले गरेको हो।

प्रकाशित: ३१ श्रावण २०७८ १४:५४ आइतबार

संस्मरण लोकार्पण