पुण्य कार्की
गोलजस्तै कालो छ कामी साइँलाको मुहार। ऊ दिनरात आरन चलाउँछ। गोलपोल्छ। पmलाम पिट्छ। कोदाला खन्ती बनाउँछ। कचिया खुर्पा अर्जाप्छ। किसानका निम्ति ऊ एक मेकानिकल इन्जिनियर हो।
उसलाई कसैले कामी साइँला भन्छन्। कसैले काले कामी भन्छन्। कसैले गुँइठे साइँलो भन्छन्। कसैले ढिँडे कामी भन्छन्। कसैले धुरे कामी भन्छन्। कसैले फोके भन्छन्।
अनपढ कामी साइँलाका आधी दर्जनभन्दा बढी नाम कसरी रहन गएको होला? जनमानसमा एक जिज्ञासा छ। एकदिन युट्युबे सञ्चारकर्मी क्यामेरा तेर्स्याउँदै उसको आरनमा फोटो खिच्न आइपुग्छ। साथै कामी साइँलालाई प्रश्नका लोला बर्साउँछ।
‘के भएर कामी भयौ साइँला दाइ तिमी?’
‘खोई हजुर काम गर्ने भएर कामी भएँ कि त!’
‘अनि के भएर काले भयौ साइँला दाइ तिमी?’
‘खोई हजुर गोल पोलेर आरन चलाएर गोलजस्तै कालो भएकाले काले भएँ कि त!’
‘के भएर गुइँठे भयौ साइँला दाइ तिमी?’
‘खोई हजुर मालिकहरू महलमा हुर्के, म त गाईको गोठमा हुर्कें। बाल्यकाल गुइँठाको संगतमा बितेकाले गुइँठे भएँ कि त!’
‘अनि ढिँडे चैँ के भएर भयौ साइँला दाइ तिमी?’
‘धानको भात त हाम्रा नसिपमा लेखिएको थिएन। कोदाको कालो ढिँडोको आहार छ हजुर। त्यसैले ढिँडे भएँ कि त!’
‘के भएर धुरे भयौ साइँला दाइ तिमी?’
‘पाँचधुरमा छ आफ्नो झुप्रो। त्यसमै छ खाने, बस्ने र सुत्ने ठाउँ। त्यसकै एकछेउमा छ आरने झुप्रो। कठ्ठा जमिन भएको भए कठ्ठे भन्थे होलान्। विघा भएको भए विघे नाम राख्थे होला। धुर मात्र भएकाले धुरे भएँ कि त !’
‘अनि फोकेचाहिँ के भएर भयौ साइँला दाइ?’
‘हात हेर्नुस् ठेलाका फोकैफोका छन्। अनुहार हेर्नुस् पसिनाका फोका छन्। यिनै फोकाले फोके भएँ कि त !’
उसको सटिक जवाफले पत्रकार तीन चित खायो। साइँलासितको वार्ता भाइरल बनाउन हतारहतार शहरतिर कुद्यो।
प्रकाशित: ३० श्रावण २०७८ ०५:४३ शनिबार