कला

सक्छौ त रोक

कविता

विवि याक्खा

 

सोझा र इमानदार पुर्खाहरूलाई

पहिलो र दोस्रो विश्वयुद्धको बेला

सेभेन जिआर र टेन जिआर अङ्ग्रेजी गोर्खा पल्टनको नाममा

डलरमा तौलेर बेच्यौ हैन?

बर्मा ,मलायु, कोसोभो, फोकल्याण्ड कारगिल,

अफगानिस्तानहरुमा गोर्खा नामको बहादुर सैनिकहरूका गर्जनहरू

उस्तै होलान् !

खुकुरी चम्काउदै बारुदी सुरुङ्ग

भएर लासमाथि लास टेकेर हिँडेका पाइलाका डोबहरू !  

आँखैसामु ढल्लेका नम्बरीहरूका शरीर  

त्यो सब डलर र भिक्टोरिया क्रसले दिन सकेन  

तैपनि बेच्नुपरेको पीडा सहेर नै बसे पुर्खाले!

अशिक्षा, गरिबी र अभावको मारमा परेर !

सही र गलत छुट्याउनु नसक्नले

कैयौं चेली पुगे विदेशको गल्ली र कोठीहरूमा

दर्दनाक पीडा भोग्न  

दाजुभाइ उस्तै ज्यान हत्केलामा राखी मजदुरी गर्न

कयौं युवा दिनदिनै कफिन सुतेर एयरपोर्ट फर्किदा!

लालाबालाको भविष्य र बाआमाको लौरो भाँचिँदा

जवानीमै चेलीहरूका सिन्दूर पुछिन्दा छैन संबेदना

तैपनि सहेको नै हो मुटु गाँठो पारेर !

 

टकनपुर बेच्यौ कालापानी बेच्यौ महाकाली बेच्यौ!

घोक्रो सुकिन्जेल कराए खबरदारी धेरै नै गरेको हो,

उद्योगधन्दा विदेशकै इसारामा मिलेर झ्वाम पार्यौ

भ्रष्टाचार, कलाबजारको धन्दा चलाई महँगी बढायौ

बलात्कार, हत्या र आतंकले  देशमा राज नै गरायौ।

यतिन्जेलसम्म पनि न्यायको कतै बाटो नै हेरिरयौ!

 

तिमी हरेक मौनताहरूको फाइदा उठाउन थाल्यौं  

उठेको आवाज, पीडा र बाचाहरू रद्दीमा फाल्यौ।

सत्ता उन्मादले सबथोक पराईको इसारामा ढाल्यौ

आफैलाई गद्दारको भट्टीभित्र निसन्देह नै हाल्यौ।    

रेमिटेन्स र भत्ताले नपुगेर नै सिंगो मुलुक ताग्दैछौ।

अंह अब यहाँभन्दा सिमा छैन परतिर!

 

अब धैर्यका बाँधहरू टुटिसकेको छ सबैसबै यहाँ  

ज्वालामुखी फुटेर लाभाहरू पुतपुत्याइरहेको छन्  

हजारौं हेक्टरको भूकम्पमा झैं कम्पन छुट्ने छन्  

हिरोसिमा, नागसाकीमा झैं बमहरू फाट्ने छन्।

भ्रष्टाचार, विभेद, अन्यायअत्याचारको घेरो तोडेदै!

यी देशद्रोही हहुँडार, ब्वाँसो र सलहहरू धुवाँस्त पार्दै ,

सिंहदरबार संविधान भवन हुँदै बालुवाटार जानेछु!

सबका सब हिसाबकिताबहरू अवश्य खोज्नेछु।

म यसैले एक सुनामी बनेर आउँदै छु  

म एक आंधीबेहेरी नै बनेर आउँदै छु  

एक क्रान्तिकारी हावाको झोकामा !

देश बचाउन देशभक्त बनेर आउँदैछु

“रोक्न सक्छौ त रोक।

प्रकाशित: २९ श्रावण २०७८ ०६:२५ शुक्रबार

अक्षर