कला

आफन्त

लघुकथा

घनबहादुर थापा

कोरोनाको कहरले कहिल्यै छोड्ने भएन। आजका दिनसम्म सबैमा यही चिन्ता छ। कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै सरकारले लागू गरेको निषेधाज्ञा थपिँदो छ । सङ्क्रमणको डरले घरबाहिर हिँड्न कठिन छ।

विशेषज्ञ डाक्टर भन्छन्, ’सङ्क्रमणबाट बच्न पोषिलो खानेकुरा खानुपर्छ। शरीर तन्दुरुस्त राख्न व्यायाम, योगा गर्नुपर्छ । मर्निङ वाकमा जानुपर्छ ।’

‘मर्निङ वाक’मा निस्किने मान्छेको भिडबाट सङ्क्रमण बढ्ने जोखिम छ। यसबाट बच्नुप¥यो । त्यसैले सावधानी अपनाउन मानिसहरूको चहलपहल नहुने भित्री सडकतिर निस्किएँ। शान्त भएर लमतन्न सुतिरहेको सडक। वरिपरि हरिया रूखविरुवा। गाडी नचलेकाले धुवाँ पनि छैन। राति पानी परेकोले धुलो पनि छैन । आहा क्या आनन्द !

हिँड्दै थिएँ । एकजोडी काग एक्कासि काआ... काआ... गर्दै मै माथि उडे । फेरि फर्किँदै झम्टिनै खोजे। यताउति हेरेँ । केही पर चौरको डिलमा एउटा काग रहेछ। झट्ट हेर्दा उड्न नसक्ने गरी बिरामी भएजस्तो देखियो।

‘बिरामी रहेछ भने त सहयोग गर्नुप¥यो !’ म त्यतैतिर लम्किएँ।

तर अन्य कागहरू अझै जोडले कराए। मलाई झम्टिन वेग झन् बढाए। अन्ततः कागलाई चिढाउन मन लागेन। फरक्क फर्केर सरासर आफ्नो बाटो लागेँ। म अलिक पर पुगेपछि काग शान्त भए। बिरामी काग भएको ठाउँमा गए। उसलाई दुवैले चुच्चाले च्यापेर भुर्र उडे । आहा, पन्छी भनेर के गर्नु उनीहरू बिच आफन्तको माया कति धेरै ! म पुलकित भएँ ।

हिँड्दै – हिँड्दै चोकमा पुगेँ । निषेधाज्ञा केही खुकुलो भयो रे। आज त पसल पनि खुलेछन्। स्टेशनरी पसल अगाडि उभिएँ। एउटा राष्ट्रिय दैनिकमा आँखा परे।

लेखिएको थियो, ’घटना पर्वत जिल्लाको हो। बारीमा काम गर्ने क्रममा एक महिलालाई सर्पले टोक्यो। उपचार गर्न अस्पताल लैजानुको सट्टा उनका पतिले घरमा लगे। कोदालो प्रहार गरी पत्नीको हत्या गरे ।’

आफन्तको परिभाषा अनि मान्छे र काग बिचको चेतनास्तरको भिन्नता बुझ्न नसकेर म अवाक् भएँ।  

प्रकाशित: २८ श्रावण २०७८ ०७:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App