कला

गहना

लघुकथा

गंगा खड्का 

 

“बुहारी तिमीलाई मैले छुट्टिँदा कुनै गहना पनि भाग लाएर दिएकी थिइनँ। बरु तिमी बुच्चो बस्यौ तर मसँग गहनाको लागि कहिल्यै  कुनै गुनासो गरिनौ। अब मेरो शेषपछि तिमीलाई दिन्छन् भन्ने लाग्दैन। लिऊ यसमा केही गहना छन्।”

छुट्टिएर बसेको १५ वर्षपछि केही पुराना गरगहनाको पोको दिँदै लक्ष्मीलाई सासूले भनिन्।

“आ आमा , गरगहना लाएर को नै ठूलो भएको छ र ?  देवर – देवरानीको आँखा छलेर मलाई सिँगारिनु छैन।” लक्ष्मीले नाइँनास्ति गर्न खोजिन् ।

“ ऊ बेलामा मेरो बुद्धि पुगेन। मैले व्यवहारमा तिमीलाई छुट्टाएँ। अब त मैले सबै बुझिसकेँ। उहिलेका कुरालाई लिएर मन नदुखाऊ न बुहारी।” सासूले आफ्नो गल्ती स्वीकार गरिन्।

“मैले हजुरसँग किन चित्त दुखाउनु आमा ? बरु हजुरलाई त धन्यवाद पो दिनुपर्छ त।” लक्ष्मीको कुराले सासूलाई अलमल्ल बनायो।  

“कतै तिमीले मलाई कुनै घोचपेच त गर्न खोजेकी होइनौ ?” सासूले पुरानै पारामा रवाफ देखाइन्।

“त्यस्तो होइन आमा , नारीका  लागि सबैभन्दा ठूलो गहना भनेको उसको पति हो।  हजुरले आफ्नो छोरालाई राम्रो संस्कार दिएर हुर्काउनुको साथै पढाउनु लेखाउनुभएको रहेछ। आज मलाई गरगहनाले दिन नसक्ने खुसी मेरा श्रीमानले दिनुभएको छ। यस अर्थमा म हजुरप्रति कृतज्ञ छु।”

                 –बूढानीलकण्ठ १, काठमाडौँ ।

प्रकाशित: २८ श्रावण २०७८ ०३:५३ बिहीबार

अक्षर