–अक्षान्त
“सर, सर ! कता हुनुहुन्छ ?”
आवाज मेरो कानमा ठोक्कियो तर मलाई बोलाएको हैन भन्ठानी मैले ध्यान दिइनँ।
हुन पनि यस वर्षको साउन २७ गतेसम्म समयसीमा राखी प्रदेश १ लघुकथा समाजले लघुकथा मागेको थियो। म लघुकथा कुन विषयमा लेख्ने भनी ध्यान त्यता दिँदै किताब खोज्न व्यस्त थिएँ। त्यसैबेला एक मानवाकृतिले मलाई ढोकाबाट पुलुक्क हेरेको थियो। म अलिक अँध्यारो ठाउँमा भएकाले त्यसले मलाई देखेनछ। राम्ररी ठम्याउने चासो नराखेकाले मैले पनि चिन्ने कुरै आएन।
अर्को कोठातिर गएर त्यस मानवाकृतिले बाहिरैबाट पटकपटक बोलायो । म झन् अर्कै कसैलाई बोलाएको कुरामा निश्चिन्त भएँ।
फलतः कतैबाट जवाफ नआएकाले त्यस मानवाकृतिले नामै काढेर नाम बोलाउँदा पो म झस्किएँ।
“हजुर” भन्न पनि सकिनँ । हत्त न पत्त झ्यालनेर उभिएर चिहाएँ। कम्मरमुनिको भाग मात्रै देखेँ । कोरोना सन्त्रासको भय भएको बेलामा पढ्न नपाएर आजित भएको अरू कुनै विद्यार्थी होला भनेर पुनः आफ्नै काममा फर्किएँ।
“सर, अहिले यत्तै हुनुहुन्थ्यो। बाहिर कतै जानुभा छैन। कम्पान्डैमा कतै हुनुहुन्छ । घुमेर हेर्नुस् न !”
मेरी गृहलक्ष्मीको कुरा सुनेर स्वकारोक्तिस्वरूप टाउको हल्लाउँदै मानवाकृति पुनः मतिर आयो। नजिकै भएपछि झ्यालबाट स्पष्ट देखापर्यो– एउटा हातमा हेलमेट र अर्को हातमा बच्चाहरूको कोसेलीले भरिएको पारदर्शी पोलिन पक्रेको खाइलाग्दो जिउडालको मानवाकृति। उहाँ अरू कोही नभएर मेरै अन्तरङ्ग साहित्यिक मित्र देवकरण माझी पो नवप्रज्ञापन साहित्यिक मासिक पत्रिका लिन आउनुभएको रहेछ।
प्रकाशित: २८ श्रावण २०७८ ०३:४० बिहीबार