कला

राम्राले हैन हाम्राले मात्र चलाएको देश यो

मुक्तक

कमला घिमिरे

                     १)

राम्राले हैन हाम्राले मात्र चलाएको देश यो,  

भ्रष्टाचारको पराकाष्ठा नाघी बलाएको देश यो।

पहिला पद किन्ने, पछि त्यहीँबाट छिन्ने गर्दै,

तलदेखि माथिसम्म नेताले नै गलाएको देश यो।

                      २)

बिन्ती छ कुर्सीका पहरेद्वारहरू केही शुभ कर्म गर,

७०% जनता बुझ्ने भैसके लौन केही शर्म गर।

योग्यलाई काम गर्ने मौका देऊ प्रतिपक्ष भए पनि,

जननी र जन्मभूमिप्रतिको दायित्व अनि मर्म गर।

                      ३)

विदेशिएका नागरिक नफर्कने भए यस्तो चाल देखेर,

दिनानुदिन भासिदै गएको मातृभूमिको बेहाल देखेर।

गरिब, निमुखालाई रोजगारी र स्वच्छ न्याय छैन,

कानुन पनि तिम्रै कठपुतली बन्नुपर्ने महाजाल देखेर।

                      ४)

जनताले आफ्ना लागि धेरै खोजेको कहाँ छ र !

नेताहरूको विदेशी बैंकको विवरण सोधेको कहाँ छ र !

दशै जना योग्यले हाँक्न सक्छन् सानो सुन्दर देशलाई,

आधारभूत आवश्यकता सहज भए मान्छे रोजेको कहाँ छ र !

प्रकाशित: २८ श्रावण २०७८ ०३:१० बिहीबार

अक्षर