कला

एक हरामको अन्त्य

कविता

धनचन्द्र राई 

 

जून निलेर मस्त निदाएका औंसीहरूमा

मैले मसाल बालेर  

तिम्रो ठेगाना खोजिरहेको छु

हिजो घामलाई  साक्षी राखेर  

गरिएका वाचाहरू

साटिएका विश्वासहरू

कोरिएका दस्तावेजहरू

अब घाम कहिलै नउदाउने भएपछि

मेरा साक्षी

मेरा रोहबर

मेरा श्री

सबैसबै सकिएकै हो त ?

 

ढाँट्यौ हिजो

यो देशमा कहिलै जंगबहादुर जन्मदैन भनेर

ढाँट्यौ हिजो

यो देशमा कसैको शिरमा श्रीपेच चम्कँदैन भनेर

हेर त आज,

तिम्रै गोत्रमा जंगबहादुर जन्म्यो

तिम्रै शिरमा श्रीपेच चम्क्यो।

 

अस्ति न, जब मेरो नजरमा पर्दा खसालेर

तिम्रो स्तुतिको सोपान गरायौ

म मेरा नजर अगाडिको फूलबुट्टा हेरेर

फूलकै आँखाबाट टाढाटाढाको भविष्य देख्न थालें

रंगीन दुनियाँ

रंगीन संसार

कोही बाङ्गो नहुने

कोही नाङ्गो नहुने

वाह रे वाह !

पत्थरहरू फुलेको देखें

हिमालहरू झुकेको देखें

बालुवामा सुन देखें

झुपडीमा जून देखें

मानौं यहाँ हरचिज

अजम्बरी छन् !

 

जब मौसम बदलियो

प्रकृतिले रंग फेरयो

र हावाले दिशा परिवर्तन गरयो

हावाको सानो झोक्काले

तिम्रो पर्दा उठायो

जब पर्दा उठायो

म आश्चर्यमा परें

तिमी त मखुण्डो ओढेर झूटको पहाडमाथि

नियतिको  भर्‍याङ चढिरहेको देखें

घामको हत्या गरेर

आलो समाधि माथि केही थान भरपाई

केही थान मुचुल्का जलिरहेको देखें

एक हुल छिचिमिरा नाचिरहेको देखें

नजिकै बसेर केही पिसाच

खुशीले हाँसिरहेको देखें।

 

जाऊ तिमी जतिसुकै उचाइमा जाऊ

म गहिराइमा डुब्दै गरूँला

तिम्रो झूट हिमालको उचाइमा पुग्ला

मेरो सत्य सागरको गहिराइमा पुग्ला

हिमालले उचाइमा गर्व गर्छ

सागरले गहिराइमा गर्व गर्छ

मान्छे जति नै उचाइमा पुगे पनि

एकदिन फेदीमा झर्नैपर्छ

फेदीमा झरेको दिन सतहमा बग्नै पर्छ

तिमी सतहमा बगेको दिन

फगत तिमी मात्र होइन

तिम्रो अस्तित्व, तिम्रो भविष्य

र तिम्रो अवशेष पनि बग्नेछ।

 

अब मैले तिम्रो मखुन्डो उतार्नु छ

र चिन्नु छ तिम्रो अनुहार

खोस्नु छ तिम्रो दौलतको कालो हाँडी

एकोहोरो शंख बजाउँदै दोबाटामा घोप्टाएर

जलाउनुछ तिम्रो पुत्ला

र एकमुठी खरानीले तिम्रो कालो इतिहास

चौकचौकमा लेख्नुछ  

“युगले एक हरामको अन्त्य गर्‍यो।”                                                                   

प्रकाशित: २५ श्रावण २०७८ ०७:४१ सोमबार

अक्षर