कला

दृष्टिकोण

लघुकथा

प्रकाश खड्का ‘अभियान’

 

ईर्ष्याको सानो झिल्काले बनै सखाप पार्छ, भन्थे । हो, त्यस्तै भएथ्यो समिरालाई। जेठानीको प्रगतिले मन पोलेथ्यो। हुन त सासू– ससुराले जायजेथा बराबरी भाग लगाइदिएकै थिए।

“किन चलाए यो संस्कार ? कान्छाकामै बस्नुपर्ने ? संस्कारको घेरो, यी सासूस्ससुरा मर्न पनि सक्दैनन्।  सधै किचिकच ! उतै जेठाका मुन्टे पनि त हुने।” दैनिक यसरी नै बर्बराउँथिन् समिरा।

छोराछोरी पनि चिडचिडे स्वभावका थिए। सधै ‘ए प्लस’ लेराउँथे। अहिले ‘सि’ लेराउन नि मुस्किल पर्थ्यो। हजुरबा आमासँग नि मुखमुखै लाग्थे। राम्रो कमाइधमाइ गर्ने लोग्ने पनि जँड्याहा बनेका थिए। तनावले उनको मुहारमा ग्रहण लागेको थियो।

साउनको महिना थियो। सोमबार बिहानै महादेवको दर्शन गर्न पशुपति पुगेकी थिइन् । संजोगले सुहानीसंग भेट भएथ्यो। उनीहरूसंगै पढेका मिल्ने साथीहरू थिए। उनको अनुहार धपक्क वलेको थियो। उनी खुसी र सम्पन्न देखिन्थिन्।

उनीहरू नजिकैको पेटीमा बसेर गफिन थाले। समीरा चिन्तित देखिन्थिन्। उमेरभन्दा अलि प्रौढ देखेर सुहानीले सोधिन्, “तिमी सन्चै त छौ ?के भयो ?’

“के हुनु घर नर्कजस्तो छ कलह र नैराश्यता मात्र। आशाको झिल्को समेत छैन। उता भिन्न बसेका जेठानीको प्रगतिले शिखर चुमिसक्यो। आफू भने सासूससुरा र संस्कारको डोरीले बाँधिएको छु।” लामो सुस्केरा तान्दै समिराले भनेथिन्।

– मेरो त यस्तै हो। बरु तिम्रो सुनाउन। तिमी निकै खुसी देखिन्छ्यौ ? समिराले सोध्थिन्।

मेरो अधिकृतको तयारी गर्दा होस् वा नाम निस्केपछि “तिम्ले नातिनातिनाको चिन्ता लिनु पर्दैन।  निर्धक्क देश र जनताको सेवा गर्नु।” भनेर सासूससुराले भन्नुहुन्थ्यो।

“छोराछोरी पनि उहाँहरूको संरक्षणमा अब्बल छन्। संस्कारी छन्। बर्सौपछि, सानो घडेरी जोडेका छौ। घरमा जीवित भगवानलाई ल्याएका छौ। मेरो खुसी, सुखी  जीवनको राज घरमा भगवानतुल्य सासूससुरा हुनु नै हो।”      

प्रकाशित: २५ श्रावण २०७८ ०६:५३ सोमबार

अक्षर