बालसाहित्य लेख्नु सजिलो काम पक्कै पनि होइन। बालसाहित्य लेख्दा एउटा सीमामा बसेर लेख्नुपर्छ। बालबालिकाका लागि कस्तो विषयवस्तु उचित हुन्छ, कुन हुँदैन भन्नेमा लेखक सजग हुनुपर्छ। बालसाहित्य लेख्दा लेखकले बालबालिकाको मनोभावनालाई बुझेर लेख्नुपर्छ। उनीहरूको रुचि वा अरूचिलाई एकदमै ध्यान दिनुपर्छ। उनीहरूका लागि लेखेको साहित्यमा समस्या देखाउने मात्र होइन, त्यसको समाधान पनि सँगसँगै बताइदिनुपर्छ। अन्त्य सकारात्मक हुनुपर्छ। बालबालिका देशका कर्णधार हुन्। तिनैले भोलिका दिनमा देश र समाजलाई चलाउँछन्। त्यसैले हामीले बालबालिकालाई साहित्यमार्फत राम्रा–राम्रा कुरा दिन सक्नुपर्छ। समाजमा घटेका नराम्रा घटनालाई साहित्यमार्फत उनीहरूसम्म पुर्याएर त्यसबाट उनीहरूलाई सचेत गराउन सक्नुपर्छ।
यस कुरालाई ध्यानमा राखेर लेखिएको बालउपन्यास हो– कान्छु। यो पूर्णतः कमलरी प्रथालाई उजागर गरेर लेखिएको एउटा उपन्यास हो। कमैया र कमलरी प्रथा उन्मूलन भएको धेरै वर्ष बितिसकेको छ। तर, भित्रभित्रै यो परम्परा अझै चलिरहेकै छ। मुक्त कमैयालाई जमिनदारले अधियाँखेती दिने नाममा उनीहरूका नाबालिका छोरीलाई अझै पनि कमलरी बनाइरहेका छन्। माघीको दिनमा कमलरी रोज्ने र राख्ने चलन थियो। यही कमलरी प्रथाको सेरोफेरोको कथा हो, कान्छु।
यो उपन्यासमा लेखक आफैँ एउटा पात्र बनेर कमलरी कुप्रथाबाट पीडित एक बालिकाको कथालाई सरल र सहज भाषामा प्रस्तुत गरेकी छन्। यसमा १८ अध्याय छन्। पढ्दै जाँदा एक अध्यायबाट अर्को अध्यायमा के होला भन्ने चासो बढ्दै जान्छ। कान्छु पात्रले कमलरी हुँदा भोगेका पीडालाई व्यक्त गरिएको छ । एउटी सानी बालिकाले पढ्ने–खेल्ने उमेरमा अरूको घरमा गएर काम गर्नु! योभन्दा पीडादायक कुरा आमाबुवाका लागि के हुन सक्छ र ? वर्षौंदेखि चलिआएको कुप्रथा, अशिक्षा र गरिबीले गर्दा यो सब टुलुटुलु हेर्नुपर्ने बाध्यता उनीहरूमा देखिएको प्रस्ट बुझ्न सकिन्छ। जतिसुकै पीडा र गरिबी भए पनि मनमा दृढ इच्छाशक्ति छ भने पढ्ने लेख्ने लगायत जुनसुकै कुरामा सफल हुन सकिन्छ, जसरी पनि त्यो चाहना पूरा हुन सक्छ भन्ने कुरा कान्छु पात्रको दृढ विश्वासले उजागर गर्छ।
यस उपन्यासमा एउटा घरमा काम गर्दा कान्छुले किताब छोएको निहुँमा पिटाइ खानुपरेको छ। आफ्नो क्षमताभन्दा बढी काम गरेर पनि कान्छुले टन्न खान पाएकी हुँदिन भने अर्को घरमा काम गर्दा सान्दिदीको मायाले पढ्नका लागि हौसला पाउँछे। पढाइप्रतिको लगाव देखेपछि सान्दिदीले कान्छुलाई आफूसँगै राखेर पढाउँछिन्। यसबाट के कुरा प्रस्ट हुन्छ भने, समाजमा सबै मान्छे राम्रा हुँदैनन् र सबै खराब पनि हुँदैनन् । यसमा भएको एउटा अंश साह्रै मन छुने खालको छ, ‘हाम्रो गाउँमा भएका माछाजस्तो ती माछा स्वतन्त्र थिएनन्। तिनीहरू चाहेजति पौडिन पाउँदैनथे।’ साँच्चै हो, अगाडि बढ्नका लागि स्वतन्त्र हुनुपर्छ। दबाब र बाध्यतामा कोही पनि अगाडि बढ्न सक्दैन। चाहे त्यो सान्दिदीका घरको एक्युरियमभित्रको माछा होस् या कुनै सुनको पिँजडामा रहेको चरी। प्रकृतिले उनीहरूलाई जसरी बाँच्नका लागि बनाएको छ, उनीहरू त्यसरी नै बाँच्न पाउनुपर्छ। कान्छुको हकमा पनि यो कुरा लागू हुन्छ। ‘कान्छु’ बालउपन्यास राम्रो हुँदाहुँदै पनि केही कमी–कमजोरी छन्। लेखकको यो पहिलो प्रयास भएकाले आगामी दिनमा केही कुरा सुधार्नुपर्ने देखिन्छ। यसमा लेखकले कथालाई अगाडि बढाउन अलि हतार गरेको जस्तो देखिन्छ। कथालाई अझ रोचक बनाउने ठाउँ हुँदाहुँदै छिटो सकाउन जोड गरेजस्तो लाग्छ। संवादलाई अझ बढाउन सकेको भए कथा रोचक बन्न सक्थ्यो। कथासँग चित्रको तालमेल नमिलेको जस्तो देखिन्छ।
कमी–कमजोरीलाई अलि पर राखेर हेर्ने हो भने कमलरीजस्तो एउटा संवेदनशील विषयलाई उठान गर्न सक्नु नै लेखकको राम्रो पक्ष हो। समग्रमा, बालबालिकाका लागि एउटा राम्रो साहित्यको खुराक बन्न सक्छ यो पुस्तक। कान्छु बालउपन्यासको लेखक यमुना पराजुली अधिकारी हुन्। उनले बालसाहित्यमा कलम चलाउँछिन्। उनले लेखेका बालसाहित्यका पुस्तक राम्रा राम्रा छन्। उनले धेरै बालसाहित्यका कार्यशालामा भाग लिएर बालसाहित्य लेख्दै अगाडि बढिरहेकी छन्। उनका तिल्के सुगा, पातको श्रीपेच, सबलको सपना, फूलका गहना लगायत बालपुस्तक प्रकाशित छन्। त्यस्तै, एक लोककथा ‘सुनकेशरी नानी’लाई उनले पुनर्लेखन गरेकी छन्। उनको गजल संग्रह जलसा पनि प्रकाशित छ। विभिन्न पत्रपत्रिका र सञ्चारमाध्यमबाट समसामयिक विषयवस्तुमा उनका आलेख प्रकाशित हुँदै आइरहेका छन्। उनी आफैँले पनि प्रकाशन उद्यम सञ्चालनमा ल्याएकी छन्।देव कोइमीले चित्र बनाएको कान्छु बालउपन्यास ‘इटर्नल’ पब्लिकेसनले प्रकाशन गरेको हो। यसको मूल्य दुई सय २५ रूपैयाँ रहेको छ।
प्रकाशित: २३ श्रावण २०७८ ०४:२२ शनिबार