कला

आत्मसम्मानको चेत बाल्ने फिलिङ्गो

गजल, कविता हुँदै नियात्राकारको रूपमा पाठक माझ परिचित प्रभा बरालको अहिले बजारमा आएको नयाँ कृति हो, उपन्यास फिलिङ्गो। बाध्यताले आफ्नो देश छाडेर श्रीमानको डिपेन्डेन्ट भिजामा जापान पुगेकी नेपाली महिला सीमान्तीलाई मुख्य पात्र बनाई लेखिएको यो उपन्यासले बैंककको सुवर्णभूमि एयरपोर्टदेखि पाठकको यात्रा सुरु गराई जापानका विभिन्न स्थानसम्म मज्जैले डुलाउँछ। देश, आफ्ना आफन्त, हितैषी छाडेर श्रीमानकाे पछि लागि जापान पुगेकी सीमान्तीको जापान बसाइको केही महिनामै उसले साचेका सपना बिस्तारै खस्न थाल्छन्। आर्थिक उर्पाजनका लागिरात दिन नभनी खटिएर सुन्दर भविष्यको कल्पनामा विदेशी भूमिमा पसिना बगाइरहेकी सीमान्तीको हृदयमा एक्कासि चोट लाग्न पुग्छ। जब लोग्नेको जापानी महिला मिसावासँगको अनैतिक सम्बन्ध उसलाई थाहा हुन्छ।

एउटी भद्र र सरल महिला सीमान्तीलाई नेपालबाट जापान पुगेकी एक प्राध्यापक महिलाले आफ्नो श्रमको मूल्यमा स्वअधिकार हुने कुरा सम्झाएपछि बल्ल केही मात्रामा आफ्नो कमाइको संरक्षण आफैँले गर्नुपर्छ भन्ने सोच जन्मन्छ। विदेशी महिलासँगको सम्बन्धबाट लोग्ने नटाढिएपछि सीमान्तीका लागि जापान बसाइको अर्थ रहँदैन। तसर्थ ऊ अन्तमा आफ्नो गरिरहेको काम र बाँकी रहेको भिजा त्यागी नेपाल फर्कन्छे र आफ्नो अधुरो रहेको अध्ययन पूरा गरी स्वावलम्बी बन्छे। उपन्यासकारले सीमान्तीलाई आध्यात्मिक चेत भएकी, एक आदर्शर उदार पात्रका रूपमा पनि खडा गरेकी छन्, जसले गर्दा सीमान्तीले सम्बन्धमा बेइमान रहेको लोग्ने निर्भयलाई पनि अन्तिममा माफी दिन सकेकी छ भने लोग्नेकी प्रेमिकालाई आफ्नी सहोद र बहिनीको रूपमा महसुस गरेकी छे। जापानका विभिन्न ठाउँ, त्यहाँको संस्कृति, त्यहाँको प्रणाली, त्यहाँ समयको महत्व विकास, आदिलाई पाठकले उपन्यासमार्फत सजिलै अनुभूत गर्न सक्छन्।  

जापानमा रोजगारीका लागि पुगेका नेपाली महिलाको संघर्षको दुःख लाग्दो पाटो सर्लक्क उतारेको छ, यस उपन्यासले। आफूले सहारा ठानेको श्रीमानले परस्त्रीसँग सम्बन्ध स्थापना गरी दिएको धोका, लोग्नेको खराब चरित्रलाई मौन बनी झेल्नुपर्ने बाध्यता, नेपालमा बच्चा छोडी एक्लै बस्नुको पीडा, कामको व्यस्तताका कारण सन्तान जन्माउनर हुर्काउन पनि नभ्याएका महिलालाई समाजले बच्चा जन्माउन दिएको दबाब, अनि कडा मेहनतले प्राप्त गरेको स्वआर्जनमाथिको अधिकारबाट समेत महिला वञ्चितरहेको लैंगिक असमानताको यथार्थ जस्ता कुराले पाठकलाई पक्कै भावुक बनाउँछन्। विदेशी भूमिमा महिलाका मात्र सङ्घर्षका कथा नभई पुरुषले पनि गरेका सङ्घर्षका कथालाई उपन्यासले समेटेको छ।  

उपन्यासले जापानी समाजका विभिन्न पाटालाई पनि खोतलेको छ। जापानमा महिलाको हक अधिकार प्रति राज्यसत्ता जिम्मेवार भए पनि परिवारमा पितृसत्ताको वर्चस्वले महिलालाई माथि उठ्न सङ्घर्ष गर्नुपरेका प्रसङ्गहरू प्रशस्त छन्। अन्धविश्वासभित्र लैंगिक असमानता अझै जीवित छ है भन्ने कुराको प्रमाणको रूपमा हिवाकुशालाई फिलिङ्गोले देखाएको छ। जापानी पुरुषको तुलनामा जापानी महिला पीडित नैरहे पनि विदेशी पुरुषलाई भने त्यहाँका महिलाले दिएको पीडा, पारेको अप्ठेरो, शोषण जस्ता कुरा पनि उपन्यासमा पढ्न पाइन्छ। आप्रवासी श्रमिकका धेरै खाले अप्ठेरा खोतल्न सक्षम भएकी उपन्यासकार प्रभा बरालले कैयौँपटक सीमान्ती बनेर बोलेकी छन् कि स्वदेशको जस्तो सहज जीवन विदेशमा कहिल्यै हुँदैन भन्ने कुरा।

फिलिङ्गो उपन्यासमा अध्यात्मको पक्षलाई पनि उपन्यासकारले बिर्सेकी छैनन्। जापानमा गरिने धर्म प्रचार, बुद्ध धर्मभित्रका विभिन्न सम्प्रदाय, धार्मिक कट्टरताका कुरा, ध्यानको महत्व आदि जस्ता विषय पनि यसमा छन्। आत्मनिर्भरता, स्वाभिमान र सशक्तीकरण महिलाका लागि कति जरुरी छ भन्ने कुरालाई केन्द्रमा राखेको छ उपन्यासले। गरिबी, पीडा, प्रेम, धोका, अनि वैदेशिक भूमिभित्र नेपालीका विविध खाले संघर्षका कथा उपन्यासमा बुनेर पाठकको मनलाई पगाल्न सक्षम भएकी छन् उपन्यासकार। प्रत्यक्ष रूपमा लेखक आफैँ लामो समय उपस्थित भएको भूमिभित्रको कथा भएकाले पनि यो उपन्यास यथार्थसँग नजिक छ।  

पितृसत्तात्मक सामाजिक व्यवस्थाले महिलालाई कतिसम्म थिचेको छ, आफ्नो स्वाभिमान र आत्मसम्मान उठाउनका लागि त्यो थिचाइबाट उम्किन कति जरुरी छ, त्यसका लागि महिलाले कति सङ्घर्ष गर्नुपर्छ भन्ने जस्ता प्रश्न उजागर मात्र गरेको नभई उत्तर खोज्ने प्रयत्न पनि गरेको छ, उपन्यासले। यस उपन्यासकी पात्र सीमान्तीलाई आफ्नो आर्जनमाथि आफ्नो अधिकार हुनुपर्छ भनेर चेत जगाउने काम नेपालबाट जापान पुगेकी अजिला नामक प्राध्यापक महिलाले गरेकी छन्। चाहना भए असम्भव केही छैन भनेर उसको आत्मश्विासलाई अझ बलियो बनाउने काम डल भ्याली अर्थात् गुडियाको गाउँ बनाएकी आयोनो चुकिनीको कार्यबाट भएको छ।  

सीमान्तीभित्र स्वाभिमानको फिलिङगो जन्माउन पे्ररित गर्ने प्रमुख दुई पात्र हुन् यी दुई महिला। फिलिङ्गो सानो हुन्छ, तर त्यसले ताप दिन्छरापिलो बनाउँछ। महिलालाई आफ्नो अस्तित्व र आत्मसम्मानका लागि पाइला दरो गर्न एउटा चेतनाको झिल्को सल्काउने प्रयास उपन्यासले गरेको हुँदा उपन्यासको शीर्षक पनि सार्थक देखिन्छ।  

उपन्यासले एकातिर देशमा व्याप्त बेरोजगारीले धकेलेर विदेश पुगेका नेपालीका व्यथा, सम्बन्धमा परेको असर, पारिवारिक विघटन आदि जस्ता समस्या देखाएको छ भने अर्कोतर्फ पितृसत्तात्मक सामाजिक संरचनाभित्र महिलाको शोषण छर्लङ्ग देखाएको छ। समस्या मात्र नउठाएर समाधानको बाटो खोज्न सिकाउने प्रयत्न गरेकी उपन्यासकारले लैंगिक असमानताको मौन विद्रोह गरेर महिलालाई आफ्नो हकर अधिकार प्राप्त गरी आत्मसम्मानपूर्ण जीवन बाँच्न फिलिङ्गोमार्फत आग्रह पनि गरेकी छन्।

कुनैकुनै प्रसङ्गलाई अलि कम वर्णन गरिदिएर पाठकलाई केहीबेर दिमाग चलाउन छाडिदिएको भए अझ वेश हुन्थ्यो कि जस्तो केही मात्रामा लागे पनि सरल भाषामा लेखिएको यो उपन्यास सलल बगेको छ।  

पुस्तक: फिलिङ्गो

लेखक: प्रभा बराल

विधा: उपन्यास

प्रकाशक: अक्षर क्रियसन नेपाल

मूल्य रु: ५५०/–

प्रकाशित: २३ श्रावण २०७८ ०१:५३ शनिबार

अक्षर