कला

ऐँठन

'कति ढिलो गरया आज ?'

‘बल्ल–बल्ल बेचेँ आज। कस्तो गाह्रो भो। सिंगो बजारभरि डुलाउँदा एकजनाले बल्लतल्ल किन्यो ।’

‘धुराको कर्ने साहुको होटलमा त राखिदिइहाल्थ्यो नि।’

‘कहाँ राख्नु त्यहाँ ? उनेरुले पनि अब दाउरा नकिन्ने रे । ग्यासमै पकाउने रे अब।’ पुर्सुनेले एक थान नाम्लो भुइँमा फ्यात्त फ्याँकेर भने। निधार, गाला र घाँटीबाट तीव्र गतिमा प्रवाहित पसिनालाई हातैले पुछ्न थाले, सपासप।  

जेठको उखरमाउलो गर्मी। धर्तीका अंग–प्रत्यंग सूर्यको प्रचण्ड तापले सेकिएका छन्। बोटबिरुवा पनि लोलाउँदैछन्, बिस्तारै। आकाशको परिधिमा बादलका फुर्का सलबलाए पनि वर्षा भने भइरहेको छैन। सुक्खापनले छापा मार्न खोज्दैछ, सर्वत्र।

‘चिसो पानी ले’त एक अम्खोरा,’ घरभन्दा पश्चिमतिरको मेवाको बोटमुनि सुस्ताउँदै भने पुर्सुनेले। मेवाका पातले छेकिरहेको थियो, घामको तापलाई।  

पुर्सुनेकी पत्नी आइती एउटा अम्खोरामा पानी लिएर बाहिर निस्किन्। उनको हातबाट निःशृत मैला विम्ब अम्खोरामा टाँसिएको प्रस्टै देखिन्थे। उनले भनिन्, ‘देवीथानको पँधेरामा पनि पानी सुक्यो अब त।’

‘सुक्यो ?’ पुर्सुनेले कान ठाडा पारे।

‘सुक्यो। त्यो पँधेरामा सुकेको त दुई–चार दिनै भइसक्यो। मैले त परको कुवाबाट लिएर आएँ आज। त्यति टाढाबाट पानी बोक्दा ढाडै दुख्ने भन्या,’ आइतीले भनिन्।

‘यी नेताहरू पनि फटै हुँदा रहेछन्।’ अर्धश्याम र अर्धश्वेत कपाल अल्छीलाग्दो ढंगले कन्याउँदै पुर्सुनेले भने, ‘पोहोर साल भोट माग्न आउँदा घर–घरमा धारा हालिदिन्छौँ भन्थे। हाम्ले विश्वास गर्‍यौं र भोट दियौं। के हाल्दिन्थे धारा ? घर–घरमा धारा नहाल्दिए पनि त्यो परको वरको रूखको चौतारामा एउटा धारा ल्याइदिए यो गाउँका सप्पैलाई हुन्थ्यो नि।’

‘आ, ल्याइदियो धारा।’ पुर्सुनेले पानी पिएर भुइँमा राखेको अम्खोरा उठाउँदै आइतीले अविश्वासिलो नजर चारैतिर डुलाइन् र भनिन्, ‘भात खाने हैन  ?’

‘पसिना ओभाओस् न एकछिन,’ केही क्षण अडिएपछि पुर्सुनेले भने, ‘पस्की, पस्की। भोक लागिसक्यो। म त यहीँ बाहिरै बसेर खान्छु।’

हावा चल्यो, एक राउन्ड। मेवा, नजिकैको केराका पात, धुर्सेली, बकाइनु र केही परको साल र कटुसका पात पनि हावाको सघन स्पर्श छाम्दै फर्फराउन थाले।  

यो एउटा उपेक्षित गाउँ। एउटा सानो थुम्कोमा उभिएको छ, यो गाउँ। पूरै प्याङ्खर। उब्जनी लगभग शून्यजस्तै। बस्न त त्यो गाउँमा १०–१२ घर–परिवार बस्छन्। तर, अभावमुक्त जिन्दगी कस्तो हुन्छ ? उनीहरूले त्यसको सार्थक अनुभव अहिलेसम्म बटुल्न पाएका छैनन् । हरेकको दौडधुप कसरी एक छाक टार्नेमै केन्द्रित हुन्छ। हुँदै आइरहेको छ, वर्षौंदेखि। अनित्य, अनवरत।  

त्यो गाउँबाट आधा घन्टाको दूरी छिचोलेपछि प्रारम्भ हुन्छ– बजार इलाका। गाउँका हरेकले दाउरा बेचेर जिन्दगीको रथलाई गति दिँदै आएका छन्। दिनहुँ जंगल जानु, दाउरा काट्नु र बजारमा लगेर बेच्नु– यस्तै क्रम, उपक्रममा बितिरहेको छ, उनीहरूको दैनिकी।

जंगलको बगलमै छ, गाउँ। सबैका घर उस्तै, थाकलले छाएका। जंगलमा प्रशस्तै थाकल पाइने हुँदा उनीहरू हरेक वर्ष घर छाउँछन्। यस गाउँमा आधाजति दलित र आधाजति तामाङ छन्। प्रायः सबैले एउटा–दुइटा सुँगुर पालेका छन्, केही कुखुरा पनि। यद्यपि गाउँका नब्बे प्रतिशत जनसंख्याले दुई चिजलाई भने सहर्ष ग्रहण गर्दै आएका छन्– मदिरा र बिँडी। दुवै घरेलु, स्थानिक। आयातीतप्रति अविश्वास भएर होइन, अर्थ–सीमाले नछुने/नभेटाउने कारण स्थानिक उत्पादनलाई नै पछ्याउँदै आएका छन्।

त्यो दिन घाम केही मद्धिम देखिन्थ्यो।

घामले शिथिलता भित्र्याएसँगै पुर्सुने र किङ्केले जंगलतिर बढाए, आफ्ना पाइला। उनीहरू मात्र होइन, अधिकांश ग्रामवासीको आधा दिन जंगलमै बित्छ। कानपुरे, हात्तीखर्क, देउराली अझ त्योभन्दा पनि पर घुसुने, मछिना खोलासम्मै पुग्छन् सबै।

‘अचेल त्यति जाँदैन कि क्या हो ?’ एउटा कुइनेटो छिचोलेपछि प्रारम्भ हुने ओरालोमा पाइला घिसार्दै पुर्सुनेले सोधे, किङ्केलाई । पुर्सुनेको सोधाइमा कताकता कटाक्ष भाव घुसेको थियो।

सामान्य मुस्कान प्रकट गर्दै किङ्केले भने, ‘स्वास्नीको चिम्टाको झटारो खानु छ र ?’  

‘अँ, त्यो निधारको घाउ त त्यही चिम्टाकै करामत हैन, भन्या,’ पुर्सुनेले किङ्केको निधारमा अंकित खततिर आँखा सोझ्याउँदै सोधे।

‘अँ, हो नि। राँडीले हानी,’ निधारमा हात पुर्‍याउँदै किङ्केले भने, ‘म त्यो दिन त्यति धेरै मातेर आएको पनि हैन। घरमा छिर्दा सँघारमा खुट्टा अल्झियो र अलि ढुन्मुनिन पुगेँछु। के चाहियो र त्यसपछि! चिम्टाले झटारो आइहाल्यो, ठ्याक्कै निधारमै लाग्यो।’

‘आफ्नै स्वास्नीलाई के राँडी भनिराख्या ?’ पुर्सुनेले अनुहारको भावभंगी बिगार्दै भने।

‘त्यस्तीलाई राँडी नभनी के रानी भन्नु त ?’ सहज भावमा किङ्केले जवाफ दिए।  

‘अहिलेसम्म कतिपटक चिम्टाको झटारो खायौ ?’ पुर्सुने कोट्याउनमै व्यस्त देखिए।  

‘कसले गनेर बस्या छ र ? मात्यो कि चिम्टा खान परिहाल्छ।’ यसपटक भने किङ्केले उन्मुक्त हाँसो छरे। उनको हाँसोको प्रवाह जंगलभरि दौडियो र मानुष स्वरबाट बिथोलिएका पक्षीहरू एउटा रूखबाट अर्को रूखको हाँगामा बसाइँ सरे, अपर्झट।

‘अनि दाइले नि ?’ किङ्केले सोधे।

‘म त तिमीजस्तो होइन नि। कहिलेकाहीँ मात्र पिउँछु। तर, पिएका बेला नमज्जाले पिउँछु,’ पुर्सुनेले आफूलाई भद्र र अनुशासित पियक्कडको श्रेणीमा उकाल्दै भने।  

‘हैन, एकपटक तपैँले!’

‘भो, त्यो दिनको कुरै नगरौँ। त्यति महँगो सनै (सनही) नै हराएँ मैले,’ पुर्सुनेले त्यो समयको घटना सम्झिन चाहे। जंगलको मरन्च्याँसे बाटोभरि छरिएका पत्करमा पाइला टेक्दै उनले त्यो दिनलाई स्मृतिको कापबाट निकाले।

‘बाहिर अँध्यारो छ।’

अँध्यारोको शृंखलाबद्ध चहलपहलले सम्पूर्ण परिवेशलाई लिएको छ, आफ्नो नियन्त्रणमा। छिप्पिँदै गइरहेको अँध्यारोसँगै दिउँसोदेखि अविच्छिन्न खसिरहेको पानीका थोपाहरू आकाशको वृत्तबाट अझै खसिरहेकै छन्। सुमधुर लयसँगै केराको पात पनि बजिरहेको छ।

‘अझसम्म आइपुगेन त,’ प्रकाशमय टुकी बालेर पुर्सुनेकी श्रीमती आइती बाहिर निस्किन्। बाहिर अन्धमुष्टि यथावत थियो र पानी पनि परिरहेकै थियो। सानोतिनो हावा चल्यो, त्यही बेला र हावाको गतिलो झोक्काको स्पर्श पाएर टुकी निभ्न खोज्यो। आइती टुकी बोकेर भित्र छिरिन् र मनमनै भुटभुटिन थालिन्, ‘यतिन्जेलसम्म कहाँ गएको होला ? कहाँ मुन्टिएको होला?’ उनले क्षणिक आक्रोश पनि उमारिन्।

ढोका हल्लिएजस्तो लाग्यो।

‘को हँ ?’ आइती चनाखो भइन्।

फेरि शून्यता दोहोरियो। हावाले हल्लाएको रहेछ ढोकालाई। उनी चुपचाप भित्रै बसिरहिन्। बाहिर भने हावा र पानीको सम्मिश्रणले वातावरणलाई उद्वेलित तुल्याइरहेको थियो।  

‘ढोका खोल,’ स्वर पुर्सुनेकै थियो।  

भित्रबाट कुनै प्रतिक्रिया आएन।

‘ढोका खोल। तेरो लोग्ने हाजिर भा’छ यहाँ।’ पुर्सुनेको बोली स्वाभाविक थिएन। लयदार र अस्थिर स्वरलहरीमार्फत भट्ट्याउन थाले, ‘कस्तो कान नसुन्या हो। मान्छे यहाँ कस्तो भएर आएको छ। ढोका खोल।’

ढोका खुल्याे।

‘आज पनि घिचेर आयौ हैन त बूढा ?’ ढोका उघार्नेबित्तिकै आइतीले पहिलो प्रतिक्रिया सुनाइन् र पानीले निथ्रुक्कै भिजेर लघु–आँगनमा ठिङ्ग उभिइरहेको लोग्नेतिर हेरिन्। र, झन् कडा बनिन्, ‘बाहिर घिचेर नआऊ भन्या हैन, बूढा ? जति भने पनि लागेन तिमीलाई! मेरो कुरा कहिल्यै नखाने भयौ तिमीले ? अब भने आफ्नो मनलाग्दी गर, म केही पनि भन्दिनँ।’

‘पहिला मेरो कुरा त सुन ।’

‘म सुन्दिनँ,’ खोपामा बलिरहेको बत्तीतिर हेर्दै आइती झन् उग्र बनिन्, ‘खान पनि कति सकेको होला? ज्यानले पनि अब त नखा भनिसकेको छ। तिमी भने अझै धोक्न छाडिरहेका छैनौं ।’

फेरि शून्यताले घरजम  गर्‍यो, केही क्षण।

‘झोला खै ?’ स्वास्नीको आँखा पुर्सुनेको रित्तो काँधमा पर्‍यो, एकाएक।  

‘बगायो।’

‘कहाँ ?’

‘लग्दाले बगायो झोला–सोला।’

‘अनि सनै (सनही) नि ?’

‘त्यो पनि बगायो, त्यही लग्दाले। झोलाभित्रै राखेको थिएँ, बगायो,’ अनुहारमा कुनै हीनता र दुःखेसो नउमारी पुर्सुनेले हावामा हात हल्लाउँदै बताए।  

सन्नाटा फैलियो सर्वत्र।’

पुर्सुनेले त्यो दिनको बेलिबिस्तार लगाए, किङ्केलाई। त्यो दिनको घटना सम्झिँदा अझै पनि बिझाउँछ उनलाई। त्यो घटनालाई स्मृतिको पानाबाट ‘डिलिट’ गर्न चाहन्छन् उनी। तर, उदाइरहन्छन् बारम्बार। हरेक बिहान उदाउने सूर्यझैँ।  

पुर्सुने र किङ्के दुवै दाउरा काट्न व्यस्त रहे। केही समयपछि उनीहरूले भारी पनि हाले। उब्जिएको थकानलाई मेट्न बसेका थिए, दुवैजना। किङ्के भने बिँडी बेर्न व्यस्त देखिए।  

‘घाम डुब्न लागिसक्यो, जाउँ अब।’ किङ्केले बिँडीको प्रारम्भिक सर्को तान्दै भने।

‘जाउँला नि। नहिँडेको बाटो होइन, नचिनेको जंगल होइन,’ पुर्सुनेले निःशंकोच भाव दर्शाउँदै भने, ‘अब त नजिक नजिक दाउरा पाउन पनि गाह्रो भइसक्यो। यति टाढा आउनुपर्छ। यति टाढासम्म आउँदा दाउरा पाइँदैनन् राम्रो। राम्रो दाउरा नलगे बजारका मान्छेले किन्दा पनि किन्दैनन्।’

‘पहिला–पहिला त घरबाट अलिकति हिँडे पाइन्थ्यो।’

‘मान्छे पनि त बढे नि अब त।’

‘हो, जंगल मासिँदै गयो। मान्छेहरू पनि बढ्दै गए। दाउरा नपाउँदा हाम्लाई गाह्रो,’ पुर्सुनेले लामो निःश्वास छाड्दै भने, ‘यही दाउरा बेचेर बाँच्नुपरेको छ। दाउरै पाइएन भने कसरी बाँच्नु। बालीनाली लगाउँ भने पनि त्यो प्याङ्खरमा केही हुने हैन। अरू आउने बाटा पनि छैनन्।’ उनीहरू घर पुग्दा साँझ ब्युँझिसकेको थियो।

त्यो भदौको मध्याह्न थियो। कहिले घाम चर्किन्थ्यो र कहिले बादलको छेकाइमा पथ्र्यो। चलिरहेको थियो यो क्रम। बिहानदेखि शान्त र सौहार्दको परिधिमा उभिएको गाउँ मध्याह्नमा भने फरक स्वरूप र माहोलमा उनिन पुग्यो।

किङ्केले आफ्नो विद्रूप रूप प्रदर्शन गरिरहेका थिए। प्रथमतः उनको त्यो रूप घरको आँगनमा मात्र सीमित थियो। तर, त्यो सीमिततालाई नाघेर गाउँको मध्य भागसम्मै तन्किन पुग्यो।  

‘लालुपाते नुह्यो भैंतिर

कि लाऊ माया मैतिर...।’

एकोहोरो गाइरहेका थिए उनले यो गीत। न खुसी, न बेखुसी। यी दुवै मुद्राको आभास झल्किरहेको थिएन, उनको गायन प्रतिभामा। तर, कताकता खुसीको संकेत भने पाइन्थ्यो।

अझ, रोचक पाटो त उनले दुवै हातले समातेर छातीनिर सुँगुरको मरन्च्याँसे पाठोलाई च्यापेका थिए। सुँगुरको पाठो भने उनको चेपाइबाट उम्किने प्रयत्न गर्दै थियो। उनी झन्झन् त्यो बच्चालाई च्यापेर गायन–कला निखार्न व्यस्त देखिन्थे। उनी जति ठूलो स्वरमा गीत गाउँथे, सुँगुरको पाठो पनि त्यति नै तिख्खर आवाज निकालेर कराउँथ्यो। कहिले त सुँगुरको पाठो यति ठूलो स्वरमा कराउँथ्यो, त्यसले उनको गायकीलार्ई पूर्णतः ओझेलमा पारिदिन्थ्यो।  

‘किङ्केलाई के भो आज ?’

‘के हुनु नि, कुकुरको मुत लागेको,’ किङ्केकी पत्नी सानीले भनिन्। उनले आँगनको डिलमा उभिएर आफ्ना पतिको तमासा नियालिरहेकी थिइन्। किङ्के घरभन्दा पश्चिमतिरको वरको चौतारानिर तमासा देखाउन व्यस्त र व्यग्र थिए।  

‘किङ्के ब्यान कतै गा’थे आज, सानी ?’ पुर्सुनेले सानीलाई सोधे।

‘त्यही दाउरा ले’र बजार गा’थे । टन्नै घिचेर आएछन्, कुकुरको मुत। यी अहिले सप्पै गाउँलेलाई तमासा देखाउन थालिहाले नि,’ सानीको अनुहार क्रोधले गम्किएको थियो। उनले एउटा हातमा खिनौटे कुचो पनि बोकेकी थिइन्। उनी भन्दै थिइन्, ‘नाच्नु, उफ्रिनु ठीकै हो। त्यो सँुगुरको बच्चालाई किन च्याप्नुपरेको ? कस्तो बेइज्जती ? अरूले के भन्लान् भन्ने ख्यालै छैन।’

‘किङ्केले सुँगुरको पाठो चाहिँ किन च्यापेको नि ?’ पुर्सुनेले सोधे, सानीतिर फर्किएर।

‘मैले सुँगुरको पाठो हटियामा लगेर बेचौँ भनेकी थिएँ। त्यो पाठो बेचेर अलिअलि बेसाहा खोज्नु’थ्यो तर बेच्नै दिइरहेको छैन, भन्या। त्यही भएर मायाले च्यापेको होला नि।’ सानीले अनुहार खुम्च्याउँदै भनिन्।  

गाउँका अधिकांश मानिस किङ्केको तमासा नियाल्न व्यस्त देखिएका थिए। पुर्सुनेले सम्झाउँदै भने, ‘ए, किङ्के। के नाटक गरिराखेको ? खुरुक्क घरमा गएर बस। दुनियाँलाई नहँसाउ यसरी।’

‘लालुपाते नुह्यो भैँतिर...।’

अहिले भने लर्बरिएको स्वरलहरीबीच झनै मच्चीमच्ची, खुट्टा समेत उचालेर गाउन व्यस्त देखिए किङ्के। कसैका सुझाव, आग्रहलाई सहर्ष स्विकार्ने मुडमा रतिभर देखिँदैनथे उनी, आफ्नै संसारमा मस्त देखिन्थे। किङ्केको नाटक–मञ्चनमा अर्को दृश्यको पर्दा खुल्यो।  

उनले बलजफ्ती समातेको सुँगुरको पाठो आफ्नो प्रयत्नमा भाग्न सफल भयो। उम्कियो किङ्केको बाहुपासबाट। र, उम्किनेबित्तिकै बाटैबाटो दगुर्न थाल्यो। किङ्के पनि किन पराजय स्वीकार गर्न चाहन्थे र ? उनी पनि सुँगुरको बच्चालाई पक्रने योजनामा बाटैबाटो दगुर्न थाले। तर, उनी आँगनको डिलमा आइपुग्दा सुँगुरको बच्चा आँगनमा पुगिसकेको थियो। किङ्केले भने आँगनमा पाइला टेक्ने हिम्मत साँचेनन्। हातमा कुचो लिएर रणचन्डीझैँ उभिइरहेकी पत्नीको मुहारमा क्वाक्र्वार्ती हेर्दै उनी उही चौतारातिरै फर्किए। र, चौतारानिर च्युँडोलाई हत्केलाले अड्याएर बसे, चुपचाप।  

वातावरण पनि मौनताको सँघारमा उभियो।  

सदाझैँ ब्युँझियो त्यो बिहान। पुर्सुने दाउरा बेच्न बजारतिर झरे। तर, त्यो बिहान उनका निम्ति अरू दिनको बिहानभन्दा नितान्त पृथक् रह्यो।  

उनले बजारको जुन पसलको जुन बिन्दुमा दाउराको भारी बिसाएका थिए, दुई अपरिचित अनुहारबीच गम्किएको संवादले उनको ध्यान खिच्यो।

‘अब त गज्जबै हुने भो।’ त्यो चिया पसलको बाहिरी भागमा बाफ उडिरहेको चियाको गिलास समात्दै एकजनाले भने।

‘के गज्जब ?’ अर्कोले सोधे।

‘तिम्ले हिजो हाम्रो प्रधानमन्त्रीको भाषण सुनेनौ?’

‘अहँ, सुनिनँ त, के भने र ?’

चियाको गिलास ओठमा पुर्‍याउन खोज्दै उनले भने, ‘अब हरेक जनताको घर–घरमा ग्यासको पाइप बिछ्याइदिने रे।’

‘ग्यासको पाइप ? के त्यस्तो पनि हुन्छ ?’

‘खै, प्रधानमन्त्रीले नै भनेपछि होला नि। मैले पनि नौलो र अचम्मको कुरा सुनेँ। ग्यास सिलिन्डर आउने कुरा त थाहा थियो। तर ग्यासको पाइप बिछ्याउने भन्ने कुरा पहिलोपटक सुनेको हुँ,’ ती मानिसले भने।

पुर्सुने भने उनीहरूबीचको संवाद झन् चाखपूर्वक सुन्न व्यग्र देखिए।

‘घर–घरमा ग्यासको पाइप बिछ्याएपछि त अब दाउरा बाल्नुपर्ने झन्झट नहोला, हैन ?’

‘हो नि, अब दाउरा बाल्नु पर्दैन,’ ती मानिसले अनुहारमा खुसीको भाव उमार्दै भने, ‘अब जंगल पनि जोगिने भो। धेरै राम्रो हुने भो।’

पुर्सुने उठे। उनको अनुहारलाई कताकता दुश्चिन्ताको बादलले छोपेको थियो। फाँटको मध्य भागबाट खनिएको नयाँ बाटोमा पाइला घिसार्न थाले, अनिच्छापूर्वक। त्यो बाटोमा हिँड्दै गर्दा उनी कल्पिए, ‘घर–घरमा ग्यासको पाइप बिछ्याउँछन् होला त ? त्यस्तो भयो भने त के गर्ने होला हामीले ? हाम्रो दाउरा कसले किन्ला ? त्यै त अचेल बजारका मान्छेहरूले ग्यास राख्न थालेपछि दाउरा कम किन्न थाल्या छन्। झन् घर–घरमै ग्यासको लाइन पुग्यो भने त...।’

कल्पना र दुश्चिन्ताको अथाह तलाउमा डुब्दाडुब्दै पुर्सुने गाउँको पुछारमा पुगिसकेका थिए। अरू दिन गाउँको उकालो चढ्न उनलाई कुनै अप्ठेरो लाग्दैनथ्यो। त्यो दिन भने उकालीमा पाइला नाप्ने उत्साह र उमंग पटक्कै थिएन, उनमा।  

उनको त्यो दिन उदासीको जस्केलोमै उभिएर बित्यो। कुनै पनि उत्साहले अँगालो मारेन। आगामी दिनहरू सम्झेर आफूभित्र भय, त्रास र द्विविधाहरू उमारिरहे। दिमागको कुनाकाप्चामा त्यही प्रश्न दौडिरहेको थियो, ‘कतै घर–घरमा ग्यासको पाइप बिछ्याइयो भने के गर्ने होला ?’

प्रधानमन्त्रीले साँच्चै त्यस्तो भनेका हुन् कि होइनन् ? कि ठट्टा मात्र गरेका हुन् ? उनलाई थप बुझ्ने चाख नबढेको होइन। तर, त्यो सिंगो गाउँ आधुनिक सूचना र सञ्चार क्रान्तिको पहुँचबाट बीसौं कोस टाढा थियो। न कसैको घरमा टेलिभिजन थियो, न त रेडियो नै। मोबाइल हुने कुरै भएन। कुनै निर्जन गुफाभन्दा एक बित्ता पनि फरक थिएन, त्यो गाउँ।

‘मासु पका’को आज ?’

‘अँ।’

‘कस्काँ के काट्या’थ्यो ?’

‘मुदेलको घरमा सुँगुर ढाल्या रै’छ। आठ पोल पठाइदिएका रहेछन्। त्यही पकाको।’ आइतीले भनिन्।  पुर्सुनेलाई भने खानमा कुनै उत्साह थिएन। त्यो दिन भान्सा गम्किएको थियो। पाकेको थियो मासु। तर, उनी उत्साहपूर्वक जुटन् चाहेनन्, भोजन कर्ममा। कताकता द्विविधा, दुश्चिन्ता र अनेक दुःस्वप्नका ऐँजेरुले लपेटिरहेको थियो, उनलाई।

रात छिप्पिँदै गइरहेको थियो। घर बाहिर केरा र मेवाका पातहरू हावाको चापले बजिरहेका थिए। पुर्सुनेलाई भने निद्राले आत्मीय स्पर्श गरिरहेको थिएन। रात छिप्पिँदै जाँदा उनी कति बेला निदाए, थाहै भएन।

राति भने उनले एक थान अनपेक्षित सपनालाई स्विकार्नुपर्‍यो। सपनाको विषयवस्तु सामान्य थियो। तर, भयावह। अत्यासलाग्दो।

उनी दाउराको भारी उचाल्न तम्तयार थिए। उही दाउराको भारी। सदैव बोकिहिँड्ने दाउराको भारी। बाँधिएको दाउराको भारी बोक्ने प्रयोजनस्वरूप उनले नाम्लो लगाए। थाप्लोमा नाम्लो लगाएर त्यो भारीलाई उनले उचाल्न खोजे।  एकपटक उचाल्न खोजे, उचालिएन।

दोस्रोपटक प्रयत्न गरे, उचालिएन।  

तेस्रोपटक प्रयत्न गरे, अहँ उचालिएन।  

चौथो, पाँचौँ, छैंटौँ, सातौँ ...अनगिन्तीपटक उनले दाउराको भारी उचाल्न खोजे तर प्रत्येक पटकको प्रयत्न निरर्थक साबित हुँदै गयो। हलचल भएन दाउराको भारी, यथास्थानमै रह्यो। लामो समयको अथक प्रयत्न व्यर्थै खेर गइरहेको थियो र उनी असिनपसिन र थकित देखिन थाले। लामो र अनवरत निःश्वास पनि छाडिरहेका थिए।  

दाउराको भारी उठाउन खोज्दाखोज्दै उनी पुक्लुक्क भुइँमा ढले। भुइँका मसिना ढुंगाहरूमा ठोक्कियो, टाउको। उनी माटामा लुट्पुटिए। र, जहाँको त्यहीँ बसेको बस्यै भए...।’

सपनामा आफू बसेको स्थानबाट उठ्न खोज्दा उनी हठात् ब्युँझिए। ब्युँझिदा भने सिंगो घर नै थर्किने गरी, आवाजको उत्पत्तिसहित ब्युँझिए उनी। उनको ब्युँझाइसँगै जन्मिएको तिखो आवाजले पत्नीको गाढा निद्रा पनि भंग हुन पुग्यो।  

‘के भो ? किन कहालिनुभएको ?’ आइतीले तत्क्षण सोधिन्।

‘नराम्रो सपना देखेँ।’

‘अ‍ैँठन (ऐँठन) भा’जस्तो छ,’ अँध्यारैमा पुर्सुनेको धुमिल अनुहार नियाल्ने प्रयत्न गर्दै आइतीले भनिन्, ‘तपैँलाई बेला–बेला यस्तै अ‍ैँठन हुन्छ । सुत्ने बेला मनमा के–के कुरा खेलाएर सुत्नु हुन्छ। मनमा कुरा खेलाएर सुत्दा अ‍ैठन हुन्छ रे।’

पुर्सुने चुपचाप बसे। पत्नीसँग संवादमा भाग लिन कुनै रुचि देखाएनन्। केही क्षण ओछ्यानमै बसे र फेरि ढल्किए, ओछ्यानमै।अब भने उनी घुर्न थालेका थिए। 

प्रकाशित: २३ श्रावण २०७८ ०१:५१ शनिबार