टुकादेवी पौडेल
हरिहरकी पत्नी धर्मकर्ममा रुचि राख्थिन्। श्रावण लाग्नै नहुने शिवजीका मन्दिर, भाद्र लाग्यो कि कृष्ण मन्दिर धाउँथिन्। हप्ताका करीव पचास प्रतिशत दिन त व्रत नै बस्थिन्। उनका पति स्वतन्त्र स्वभावका थिए। पत्नीको करकरले मन्दिर त कहिलेकाहीँ जान्थे तर मन्दिरभित्र पसेर कहिल्यै पूजाआराधना गरेनन्। पत्नीले पूजासामग्री मिलाइन्जेल लाइन पनि कुरिदिन्थे। नपुगेका सामग्री पनि किनेर ल्याइदिन्थे। मन्दिरको प्रवेश– द्वार छिर्ने पालो कुरेका ज्येष्ठ नागरिकलाई पनि यथाशक्य सहयोग गर्थे।
ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग बांँड्न घरबाट निस्केका हरिहर घरै अगाडि ठूलो सवारी दुर्घटनामा परे। मोटरसाइकल सवार उनी ठूलो मालबाहक ट्रकमुनि छिरे। वरपर कोलाहल मच्चियो। सबैले आशै मारेका थिए हरिहरको।
मान्छेहरुको ठूलो भिड लाग्यो। घटनास्थल वरपर रहेका प्रहरी घटनास्थलमा पुगे।
भिडकै एउटी महिला प्याच्च बोलिन्, “बुढी मन्दिर– मन्दिर धाए पनि बुढालाई धर्मको चेष्टा थिएन। अकालमा मर्न रहेछ र पो!”
प्रहरीले घटनाको प्रकृति हेरी गाडी चालकलाई गाडी अगाडि बढाउन भने। चालकले गाडी अलि अगाडि लगे।
घोप्टो परेको अवस्थामा रहेका हरिहर जुरुक्क उठेर सबैलाई नमन टक्रयाए । सबै जना अचम्म पर्दै थिए।
मुसुक्क मुस्कुराउँदै हरिहर बोले, “उपकारीलाई नि ईश्वरले हेर्दा रहेछन्। सबैको भलो गर्दा पो यस्तो अवस्थामा पनि काललाई जित्न सकिँदो रहेछ। पालो मिचेर मन्दिर नपसेको बाँच्नलाई पो रहेछ।”
प्रकाशित: २२ श्रावण २०७८ ०३:४७ शुक्रबार