कला

गठबन्धन

लघुकथा

प्रकाश खड्का “अभियान”

 

जितेनको साथमा लगभग सत्ताइस सांसद थिए। उनको साथ पाए  विपक्षी नेता किसनले विश्वासको मत लिएर सरकार गठन गर्न सक्थे तर जितेन भने इमानदारी र बफादारिताको ज्वलन्त उदाहरण थिए। पार्टी र उनका अध्यक्ष साथी भनेपछि मरिहत्ते गर्थे। सत्तामा रहेको पार्टी टुक्रयाउन नेता किसनले आफ्नो खुबी लगाए।

“तपाइँ पार्टीका लागि कतिपटक जेल जानुभयो, जितेनजी ?”

“पाँच पटक!”

“कति पटक मन्त्री हुनुभयो ?”

“एक पटक।”

“तपाइँसंगै राजनीति सुरु गर्ने, तपाईको साथी भनौदो कति पटक प्रधानमन्त्री हुनुभयो?”

“पाँच पटक।”

हेर्नुस, जितेनजी। पाँच पटक जेल जाने तपाईं तर पाँचै पटक प्रधानमन्त्री हुने ऊ। तपाईको त्याग र बलिदानको कदर गरेर एकपटक भए नि पालो दियो ? उसले आफ्नै आसेपासेलाई मात्र ठाउँमा पुरायो। होस गर्नुस है , अहिले ज–जसले तपाईको साथ दिएका छन् उनीहरूले पनि तपाईलाई नछोड्लान् भन्न सकिदैन?

नाताले तपाईं मेरो भान्जा पर्नुहुन्छ। तपाइको आमा र म एउटै गाउँका। हाम्रो परिवारबीच राम्रो भाइचारा थियो। हुन त यो सबथोक थाहा नहोला। राजनीतिले गर्दा म भूमिगत भएथे।

जाने बेलामा नेताजीले भन्नुभयो, “आउनुस् मामा भान्जा मिलेर सरकार चलाऊ। अहिले गृहमन्त्रीपछि प्रधानमन्त्री नै दिऊला, के भन्नुहुन्छ ?”

जितेनले किसनतर्फ विश्वासको हात बढाउँदै आमाले सानो छँदा भन्नुहुन्थ्यो, “गुनको भरपाई गुनले नै गर्नु भनेर।

                           – भक्तपुर, बोस्टन,अमेरिका।

प्रकाशित: २२ श्रावण २०७८ ०३:३६ शुक्रबार

अक्षर