कला

हड्ताल

लघुकथा

तुलसीराम खरेल

 

अब त  मधेसका सानाठूला सबै शहरमा धेरथोर सुविधाहरू पुगेकै छन् भनेर पहाड छोडेर तराई झरेको पनि दुई वर्ष भैसकेछ। पहाडको ग्रामीण बस्ती छोडेर तराइका हरिया फाँटिला खेतहरूमा काम गर्दाको मजा नै बेग्लै अनुभव गरिन् मंजुले। आफ्नो सात कठ्ठा र साहुको सत्र कठ्ठामा खेती गरेर खानलाउन पुगेकै थियो। बस कुद्ने बाटो, बिजुली पुगेकै थियो। एक घण्टा जति बसको यात्रापछि ठूलै शहरमा पुगिन्थ्यो।

श्रीमान् विदेश गएको नौ महिना लागेछ। परिवारलाई तराईमा घरबारीको बन्दोबस्त गरी थान्को लगाएर केही कमाइ पनि गरौं भनी खाडी मुलुकमा गएको पनि नौ महिना बितिसकेछन्। काखको छोरो पनि चार वर्षको भैसकेको पत्तै भएन। उसका बालसुलभ कृयाकलापले तनावहरूलाई बिर्साइदिन्थ्यो। एकदिन एक्कासि झाडाबान्ताले छोरो इन्तु न चिन्तु भयो। अटो रिक्सालाइ बोलाएर अस्पताल पुग्दा रातको नौं बजेको थियो। इमर्जेन्सीमा सामान्य हेरचाह भयो। ठूला डाक्टर नभएको जानकारी गराइयो। छोराको पेटमा घाउ हुनसक्छ। इन्डोडोस्कोपी, एक्स – रे, ब्लड टेस्ट भएन भने एमआरआई केके हो केके। मञ्जुको टाउको घुम्यो।

भोलिपल्ट छोरो आँखासम्म पनि हेर्न नसक्ने भयो। पेट फुलेर टम्म छ। गगनचुम्बी अस्पतालले उनको पहाड घरनजिकैको नीलो पहाडलाई बिर्साउन सकेन। त्यो नीलो पहाड र अस्पतालमा केही फरकै देखिनन् मंजुले दुवैले ठिङ्ग उभिनेदेखिके गर्न सके र ? हेर्दाहेर्दै छोराले आँखा फर्काउन थाल्यो। मंजु र उनकी ठूली छोरी डाँको छोडेर रुन थाले। अस्पतालको कर्मचारीले चिकित्सकको हड्ताल छ, केही हुन सक्दैन भनिदिए। बाहिर मानिसको ठूलो जुलुसले ‘गरीवले उपचार पाउनैपर्छ,! हाम्रो माग पूरा गर!’ जस्ता नारा घन्काइरहेका थिए। मंजुलाई केही थाहा थिएन। एकैछिनमा प्रहरीहरू अस्पतालमै प्रवेश गरेर लाठीचार्ज गरे। केही हताहती भए। मंजुकी छोरी भागेर कहाँ पुगिन् पत्तै भएन। उता सानो छोराले सधैंका लागि संसार छोडिसकेका थिए।

प्रकाशित: २१ श्रावण २०७८ ०७:०७ बिहीबार

अक्षर