कला

गजुर

लघुकथा

गोमा सिटौला

 

गजुर  पेशाले व्यापारी थिए। व्यापारको सिलसिलामा हिँडेका गजुरको गाडीमै हृदयघात भयो तर चिकित्सकहरूले केही गरी पनि बचाउन सकेनन् । शरीर जलेर खरानी भइसक्यो तर उनको आत्मा वैकुण्ठ धामको यात्रामा संघर्ष गर्दै थियो।  आत्माले जति नै पखेटा हल्लाएर माथिमाथि उडे पनि स्वर्गको ढोका भने भेट्दै भेटेन।  

अदालतबाट लिन पठाएका बादल पन्छाएर अजङ्गको छाया बोल्यो– मरेपछि पनि अदालत जानुपर्छ र? मृत्यु सजाय हो र? बरु स्वर्ग द्वारमा पुरयाइदिनुस् । सकीनसकी थकित गजुरले बिन्ती चढायो।

‘जन्म र मृत्युु दुवै सृष्टिको उत्कृष्ट उपहार हो। पृथ्वी घुम्ने क्रममा तिमी कर्मले चोखो छौ या बिटुलो। अब मापन गर्नलाई अदालतमा हाजिर हुनुपर्छ।’ जंगिदै छाया बोल्यो।

गजुरले गरेको पाप र पुण्यको ठेली पल्टाउन क्म्प्युटर लिएर वकिलहरू आए। पृथ्वीमा गरेका क्रियाकलापको भिडियो देखिन थाल्यो। गजुरले राम नाम जप्दै सुरु गरेका बिहानदेखि घुस खुवाउँदै कालो धन्दा चलाएका, दुखीलाई ठगेर बनाएका धनको गजुर , लोकप्रियताका लागि गरेका समाजसेवादेखि आधा रातमा कलिला युवतीहरूसँगको रासलीलाका दृश्य देख्दा अत्तालिएर वकिललाई ती दृश्य बन्द गर्न इशारा गरे। शरीर छामछुम गरे

–अहो! म नाङ्गै रहेछु! खै मेरो गोजी ? खै मेरो ?  

‘नाङ्गै गएका थियौ, नाङ्गै आयौ। अब गोजीका घुसले हामीलाई  प्रभाव पर्दैन तर हामी तिम्रो बासस्थान तय गर्छौ।’ नरकतिर वकिलले गजुरलाई धकालिदिएर निसाफ दिए।

गजुर गर्लम्म भासियो  जहाँ दुर्गन्ध नै दुर्गन्ध, कोलाहल र अन्धकार थियो।

‘मलाई केले पुर्यो?’ गजुरले मनोसंवाद गरिरहेको बेलामा ठूलो कराहीमा तेल तताउँदै गरेका यमराजले मुसुमुसु हाँस्दै भने– ‘गजुर तिमीलाई कुकर्मको गजुरले पुर्यो।’

‘यमराज, अब म यो नरकबाट कसरी मुक्त हुन्छु?’ गजुरले सोध्यो ‘भकभक उम्लेको तातो तेलमा सयौं वर्ष उम्लिनुनैपर्छ अनि पाप डढेर भस्म हुन्छ। त्यसपछि मुक्त हुन्छौं।’ यमराजले भने

तातो तेलमा उम्लिएका गजुरले  नरकबाट आफ्नो परिवारका मोजमस्ती सधैं देख्थे र निकै दुखी हुन्थे। आफूजस्तै अरू पनि तातो तेलको पीडाले चिच्चाइरहेकालाई  सुनाए, दुनियाँलाई मारेर कमायो। आखिर छोड्नुपर्ने रहेछ। चैन जति अरूलाई, पाप जति आफैले भोग्नुपर्ने रहेछ।’

प्रकाशित: २१ श्रावण २०७८ ०५:४० बिहीबार

अक्षर