कला

सर्वहारा भन्दै यहाँ दुनो सोझ्याउने

कविता

कमला केसी 

 

सर्वहारा भन्दै यहाँ दुनो सोझ्याउने,

सत्तामा पुगेपछि महल ठड्याउने।

बाचा–कसम सबै भुलेपछि यहाँ,

विचारशून्य जमातको नेता बने त्यँहा।

 

श्रमजीवी श्रमिकले भोट मात्र दिए,

चाकडी र चाप्लुसीले फाइदा जति लिए।

सर्वहारा भन्न पनि सुहाउँदैन अब,

पुँजीपतिभन्दा छैनन् नेता कम।

झुपडीमा परिवर्तन गर्छौं भन्थे हिजो,

देशभित्र सुशासनको बाल्छौं भन्थे दियो,

तर, आज सत्तासँगै सबै बिर्सिदिए।

 

आज हेर कस्ले सुन्ने झुपडीका कथा?

कस्ले देख्ने भन अब गरिबका व्यथा?

 

पसीनाले भिजेको ती आमाको गुन्यू ,

फेर्ने रहर अधुरै छ, छैनन् कोही सुन्ने।

उदाउँदो सूर्य हौं भनी आशा जगाइदियौं,

गरीबको सपनाको हुर्मत पनि लियौं।

 

नयाँ नौलो एजेण्डामा अब हामी जानुपर्छ

गल्ती आफ्नो सच्याउदै नेतृत्वले माफी माग्नुपर्छ।  

प्रकाशित: १० श्रावण २०७८ ०२:५२ आइतबार

अक्षर