कला

सभ्य र शिष्ट भाषाका प्रयोगकर्ता भानु

मातासरी सुख दिन्या कुन चीज छ जान्नू ?

विद्यै छ त्यस्तो अरू कौन खोज्न।

कुन् हो जति–जति दियो उति बढ्न जान्या ?

विद्यै रहेछ बुझि निश्चय तेहि मान्या।।

भानुभक्तका यी पंक्तिले तत्कालीन समयको भाषालाई संकेत गर्छन्। भानुभक्तलाई नेपाली साहित्यमा मोतीराम भट्टले चिनाएका हुुन्। उनी आफैँ नेपाली साहित्यमा चिनिएका होइनन्। मोतीरामले भानुभक्तलाई जसरी चिनाए, त्यसले नेपाली साहित्यको फूलबारी मगमगायो। आजको अवस्थामा भानुभक्तको मूल्यांकन कसरी गरिन्छ, त्यो आफ्नो ठाउँको कुरा हो। तर, तत्कालीन समयका भानुभक्तको भाषाले नेपाली जनजीवनको भाषिक मान्यतालाई गतिशील तुल्याएको थियो।  

हजुरबुबा श्रीकृष्ण आचार्यबाट अनौपचारिक शिक्षा पाएका उनको भाषामा जे देखियो, त्यो तत्कालीन समाजको प्रतिविम्ब थियो। भानुले अध्यात्म रामायण अनुवाद गरे। अनुवाद भावका माध्यमबाट अघि आयो। बालकाण्डको अनुवाद वि.सं. १९९८ मा सकेका उनले अरू रामायणको अनुवाद काठमाडौंमै गरे भन्ने जनश्रुति रहेको छ। तत्कालीन बोलीचालीमा सीमित रहेको नेपाली भाषालाई लयबद्ध तरिकाले आफ्नो कृतिमा राख्ने काम भानुभक्तले गरे। उनको काव्यमा प्रवाह भएको भाषा र त्यस भाषामा देखिएका शब्दको संयोजन पक्कै पनि तत्कालीन समयको गहिरो भाव हो। उनले काव्यमा सम्भ्रान्त पारिवारिक भाषा प्रयोग गरेका छन्। श्लिष्ट भाषाको प्रयोगले भानुभक्तको साहित्य सम्पन्न बनेको छ।

पृथ्वीनारायण शाहले टुक्रिएको नेपाललाई एकताबद्ध गरे भने भानुभक्तले बोलीमा रहेको नेपाली भाषालाई लेख्य परम्परामा स्थापित गरे। सम्पन्न परिवारमा जन्मेका र बुबा जागिरे भएको परिवारमा हुर्केका उनको भाषाको भाव सौन्दर्य परिष्कृत खालको छ। काठमाडौंमा आउँदा उनलाई तत्कालीन सेनापति कृष्णबहादुर राणाको सान्निध्य प्राप्त भएको थियो। त्यो निकटताले उनको भाषामा दरबारिया स्वरूप पाइन्छ। उनले काव्य रचनामा उच्च आदरार्थी शब्दको प्रयोग गरेका छन्। आफू सम्पन्न कुलमा जन्मेका हुुन्। उनको पारिवारिक भाषामा सम्भ्रान्तपन पक्कै थिएन। तर, उनले आफ्ना रचनामा सभ्य भाषाको प्रयोग गरेका छन्।

भानुभक्तलाई मोतीरामले सहज कविका रूपमा माने। कविको भाषामा देखिएको सहजपन नै उनको मूल्यांकनको आधार मानिएको छ। उनले रामायणमा मात्र नभएर फुटकर रचनामा पनि उच्च आदरार्थी भाषाको प्रयोग गरेका छन्। कृष्णबहादुर राणालाई चढाएको बिन्ती पत्रमा पनि उनको भाषामा उच्च आदर देखिएको छ। रामायण रामको गुणानुवाद भएकाले त्यहाँ उच्च आदरको प्रयोग पाइनु स्वाभाविक हो। रामायणमा ईश्वरप्रति आस्था र विश्वास भएका कारण उनले राजा आदिलाई सम्बोधन गर्दा उच्च आदरार्थीले सम्बोधन गरेका छन्। रामायण मात्र पढेर उनको कवित्वको भाषिक मूल्यांकन सम्भव हुँदैन। उनका मौलिक रचनाको भाषा पनि आदर सम्पन्न छन्। उनका फुटकर रचनामा समेत देखिएको उच्च आदरले भानुभक्तको भावनाको गहिराइलाई चुनेको छ।

ख्वामित आज हजर्हरू पृथ्वीका मालिक  छँदामा पनि। जाहीरात गर्‍याँ प्रभुहजुरमा यो मर्जी होला भनी। यहाँ पनि ख्वामित र प्रभुजस्ता शब्दको प्रयोगले उनी सम्भ्रान्त खालका देखापरेका छन्। उनको भाषामा देखापरेको सबैभन्दा ठूलो विशेषता मौलिकपन हो। मौलिक लेखनमा भानुुको भाषा साहित्यिक छ र अनुवाद परम्परामा उनको भाषा सम्भ्रान्त खालको छ। त्यसैले भानुभक्तको जीवनका सबै पक्ष र उनका कविता काव्यको भाषाले नेपाली साहित्यमा नवीन भित्ती दिएको छ।

भानुभक्तले कवितामा प्रयोग गरेको शैलीले उनलाई अझ परिष्कृत बनाएको छ। उनको शैली पनि आफ्नैपनको छ। भानुभक्तको शैलीमा नेपालीपन छ। नेपाली भाव छ। नेपालको सौन्दर्य र त्यसले बोक्ने अभिभारा छ। त्यो बेलाको संस्कृतिको पहिचान छ। आर्य सभ्यताको छनक छ। त्यो अभिभारा भानुले जीवन्त बनाएर राखेका छन्। भानुभक्तको समयमा नेपाली भाषा बोलचालको भाषा थियो। संस्कृतको बोलबाला रहेको समयमा भानुआए। उनले पनि ब्राह्मण परिवारको भूमिकालाई संस्कृतका ग्रन्थ कण्ठ गरेर स्थापना गरे। त्यतिबेला नेपाली परम्परामा रहेको लोकभाषालाई हेयका दृष्टिले हेर्ने गरिन्थ्यो। तर भानुले त्यही भाषाको सम्बन्धलाई कवितामा सहज तरिकाले उतारे। यो नै उनको काव्यगत सन्दर्भमा देखिएको मूल पहिचान पनि हो।

शैलीमा निखारिएका उनका कविताले जीवनको महत्वलाई गाउने गरेका छन्। भाषा विचार बाँड्ने शैली हो। मन गाँस्ने माध्यम हो। सभ्यता सिर्जनाको पहिलो मुहान हो। भाषाका यी सर्तलाई भानुभक्तको काव्य रचनाले गतिलो तरिकाले निर्वाह गरेका छन्। भानुभक्तीय शैलीको निखारमा उनका काव्य र फुटकर रचना बाहिर आएका छन्। उनका फुटकर रचनामा समेत तत्कालीन समयको भाषिक मान्यता र शैली अभिव्यक्त भएको छ। उनका फुटकर रचनाले पनि उच्च आदरार्थी भाषिक भावलाई बाहिर ल्याएको छ।

काठमाडौंको मखनटोलका खनाल पण्डित भानुभक्तका मित्र थिए। उनको देहान्त भएपछि भानुभक्त उनका छोरालाई भेट्न गए। भानुभक्तलाई आदर नदिएको र कुनै खेलमा व्यस्त रहेकाले भानुले तत्काल कविता सिर्जना गरेर उनकी पत्नीलाई दिए। त्यस श्लोकको भाषा र शैलीमा नेपालीपन झल्केको देखिन्छ।

न पोथी पत्रा छन् न कलम मस्यानी छ सङमा

सधैँ हुक्का नारी थरकी फिजि खेल्छौ चयनमा।

कती बिर्ता तिम्रो कति धन दौलथ् यस घरी

उडाउँछौ यस् रीत्ले अनि पछि रहौला त कसरी।।।

यहाँ प्रयोग भएको भाषामा भानुको रामायणकालीन भाषाको आभास आउँदैन। भानुभक्तको शैली आफ्नै हो, कतैबाट आयातीत होइन। आफ्नै किसिमको शैलीलाई कविता जीवन्त बनाउने उनको भाषिक कला साँच्ची विचित्रको देखिएको छ। उनी आशुकवि थिए। उपाधि आदिकविको पाए। उनी कुरा गराइलाई पनि कविताका माध्यमबाट व्यक्त गर्न सक्थे। त्यसैले भानुभक्तको भाषामा देखिएको साहित्यिक मान्यता र भाषालाई सहज तरिकाको मान्ने आधार रहेका छन्।

उनले बालकाण्ड १८९८ मा २७ वर्षको उमेरमा अनुवाद गरेका हुुन्। अन्य काण्डको अनुवाद उनले काठमाडौं आएर गरे। बालकाण्ड मोतीरामको सक्रियतामा बनारसबाट प्रकाशित भएको थियो। पहिलो प्रति बालकाण्ड मात्र दुई हजार १९४१ मा छापिएको र सम्पूर्ण रामायण १९४४ मा दुई हजारप्रति छापिएको थियो। लगातार तीन संस्करणमा दुई हजार प्रतिका दरले छापिएको रामायण हातोहात बिक्री भएको उल्लेख मोतीरामले गरेका छन्। यसबाट उनको रामायणको लोकप्रियताको कसी स्पष्ट रूपमा पाइन्छ।

सुगौली सन्धिले नेपाली कविताको वीरधारालाई तिलाञ्जली दियो। नेपाली कविहरू भक्तिधारामा प्रवेश गरे। भक्तिधाराको अजस्र प्रवाहमा भानुभक्त आएका हुुन्। उनको रामायणको भाषा तत्कालीन साक्षर व्यक्तिका लागि पनि बोधगम्य थियो। उक्त बोधगम्यका कारण उनको रामायणले नेपालीका घरघरमा ठाउँ पायो। त्यो भानुभक्तको रामायणको लोकप्रियता हो। भाषामा सहजता र सरलतालाई भानुुले जसरी काव्यमा समाहित गरे, त्यो नै लोकप्रियताको आधारबीज हो। यही आधारको प्रतिविम्ब भानुको रामायणलाई लिन सकिन्छ।

भानुभक्त पूर्वको साहित्य वीरधाराको प्रवाहमा थियो। भानुभक्त पूूर्व इन्दिरस, विद्यारण्य केशरी, यदुनाथ पोखर्‍याल जस्ता कविले भक्ति धारालाई गति दिएका थिए। केही काव्य आए पनि। तर, भानुभक्तको भाषाशैलीलाई ती कविले काव्यको प्रवाहमा गतिशील बनाउन सकेनन्। भानु र उनको रामायणले लोकप्रियताको शिखर चुम्न सफल भयो। यो रामायणप्रतिको श्रद्धा वा भानुभक्तप्रतिको आस्था थिएन। थियो नेपालीपनको भाषा, उनको समय, नेपालीले भोगेको सुगौली सन्धिको पीडा। यही पीडामा रुमलिएका नेपालीले भानुभक्त र उनको रामायणलाई उच्च श्रद्धाका साथ हेरे, घरघरमा राखे।  

ख्वामित, प्रभु, हजुर, मर्जी, दयानिधान जस्ता शब्द उनका काव्य र फुटकर रचनामा देखिएका छन्। यी शब्दका कारण भानुभक्तलाई भाट कविका रूपमा मान्न मिल्दैन। उनी दरबार पसेनन्। मुद्दा–मामिला खेपे। मुद्दा–मामिलाबाट बच्न उनले प्रयोग गरेका शब्दले कविको तत्कालीन अवस्थाको गति नाप्न सकिँदैन। गिरीधारी भाटसित जग्गाका सम्दर्भमा उनको झगडा परेको थियो। झगडाको टुगो लगाइदिने उद्देश्यले उनले लमजुुङको (तार्कु) अदालतमा यसरी बिन्ती बिसाएका छन्।  

ख्वामित यस गिरीधारीले अति पिर्‍यो व्यर्थै 

गर्‍यो झेल पनी।

यसका झेल उर्तानलाई सजिलो यो हो व्यहोरा भनी

ख्वामित्लाई चढाउनाकन यहाँ क्यै श्लोक  

कविता गर्‍याँ

मेरो श्लोक सुनिबक्सियोस् त झगडा छिनिन्छ  

पाउ पर्‍याँ।

यो एउटा पद्यमा भानुले जुन किसिमका आदरार्थी शब्द प्रयोग गरेका छन्, त्यसले उनी भाट कवि हुुन् कि ? भन्ने संकेत पाइन्छ। तर उनले अड्डाको हाकिमलाई जुन सम्मानका शब्द चढाए त्यो पक्कै पनि तत्कालीन समयको भाषा मान्न सकिने आधार हुुन्। पाउमा परेँ जस्ता शब्दलाई चाकरीका शब्द मानिन्छन्। तर उनका सबै रचनाको भाषामा एकरूपता छैन। यो उनीभित्र विद्यमान प्रतिभाको पहिचान हो।

मोतीराम भट्टले भानुभक्तको जीवनी लेखे। उनले भानु बराबरका कवि पहिले पनि थिएनन्, पछि पनि हुुने छैनन् भनेर ठोकुवा नै गरे। त्यो उनले भानुप्रति देखाएको श्रद्धा हो। त्यसैले भानुभक्त नेपाली साहित्यका तत्कालीन समयका अद्वितीय कवि उनले माने। आजको समाज र आजको साहित्यलाई हेरेर भानुभक्तको लेखाजोखा गर्न मिल्दैन। किनभने भानु आजका होइनन्। नेपाली भाषामा व्याकरण थिएन। सर्वत्र संस्कृत भाषाको हालिमुहाली थियो। त्यो अवस्थामा नेपाली भाषामा रामायण अनुवाद गरेर नेपाली साहित्यमा जुन गुन लगाए, त्यो अविस्मरणीय छ।  

आज पनि भारतको पश्चिम बंगालमा भानु जयन्ती असार २९ गते सार्वजनिक बिदा दिने चलन छ, त्यो नेपाल होइन। तर नेपाली भाषालाई जुन तरिकाले भानुभक्तले माथि उठाएर लोकप्रिय बनाए, त्यसको पहिचान हो। भानुभक्तले नेपाली भाषालाई सरल तरिकाबाट सहज ढंगबाट जसरी पहिचानमा ल्याए, त्यो पुरस्कार हो उनको। उनले नेपाली भाषा साहित्यको विकासमा पुर्‍याएको योगदानको कदरस्वरूप पश्चिम बंगालले उनलाई उच्च सम्मान दिएर बिदा दिइएको होला ? नेपाली भाषाको विकासमा भानुभक्तले दिएको योगदान र उनको भाषाशैलीमा देखिएको नेपालीपनलाई उच्च सम्मान।

प्रकाशित: ९ श्रावण २०७८ ०६:२९ शनिबार

अक्षर सभ्य र शिष्ट भाषा भानुभक्त