कला

बजाउँदै काखी हिंड्छ यो दुनियाँ सारा

मुक्तक

तिला लेकाली

     १)

अहो ! फूलपाती चढायो  कसैले,

सिँढी चढ्न खोजेँ लडायो कसैले।

थरीथरीका यी मेरा  मित्र  बन्धु,

बनी  बाटो अघि  बढायो  कसैले।

            २)

कुसंस्कारलाई धर्म भनिस् अनि झुकिस् मान्छे,

मानवताको महासागर अहिले  सुकिस् मान्छे।

काट्ने, मार्ने, धराप  पार्ने, उक्लेकालाई  झार्ने,

यस्तैयस्तै  कर्म  गरिस्  अनि  चुकिस्  मान्छे।

            ३)

जति छेउ  पार्छौ  भिर  टाकुरामा,

उति  म  पलाउँछु  नयाँ आँकुरामा।

यो धर्ती  छउन्जेल छ,मन छ मलाई,

मेरो  देश सजाउँछु यिनै पाखुरामा।

         ४)

के लेखूँ अहो खै कथा जिन्दगीको,

नलेखूँ भयो भो व्यथा जिन्दगीको।

जसै आफू दुख्छु अनि देश दुख्छ  

दुखैको छ गीत सर्वथा जिन्दगीको।

         ५)

रमाउनुपर्छ  सँगै छिटो आऊ है प्यारा,

सम्झिएर कति बगाऊँ यी आसुका धारा।

कारणवश बिग्रियो  भने  तिम्रो  मेरो घरजम,

बजाउँदै काखी हिंड्छ यो दुनियाँ सारा।

प्रकाशित: ९ श्रावण २०७८ ०६:२५ शनिबार

अक्षर