मेरो दिमागलाई बडो धक्का लाग्यो, जब मैले ऋग्वेदको एउटा मन्त्र पढेँ। यसमा एक ऋषि आफूलाई जन्म दिएकामा छोरालाई धन्यवाद दिन्छन्। मलाई यस भनाइको मर्म बुझ्न अलि समय लाग्यो। जब छोरा जन्म्यो, अनि ‘बाबु’ जन्म भयो। अर्थात् छोरा नजन्मेको भए उनी ‘बाबु’ बन्ने थिएनन्। यस द्वैध परिचयलाई बुझ्न र स्वीकार गर्न हामी निःसंकोच भन्न सक्छौँ, ‘हामी छौँ किनभने अरूहरू छन्।’ यसको के अर्थ भयो ? के यसको अर्थ यो भयो कि हाम्रो कुनै स्वतन्त्र अस्तित्व वा परिचय छैन ? के यो नै प्राचीन उक्तिको उद्देश्य हो, ‘आफूलाई चिन!’ यो मूर्खतापूर्ण लाग्छ, हो कि होइन ?
भूतकालका केही बुद्धिमानले भनेका छन्, ‘हामी जे लाग्छौँ, त्यो होइनौँ।’ यी बुद्धिमान भारत, मेसोपोटामिया, मिश्र, ग्रिस र इटालीका थिए। भारतमा तिनीहरूलाई ‘ऋषि’ भन्थे। ग्रिस र बेबिलोनमा दार्शनिक, मिश्रमा दार्शनिकभन्दा पनि गणितज्ञ र अन्तरिक्ष विज्ञानी थिए। अरू पनि थिए- रहस्यवादी, सन्त, वैज्ञानिक, मनोवैज्ञानिक, जीवशास्त्री, आध्यात्मिक गुरु, नेता आदि।
यस्तो लाग्छ, हाम्रो मित्र अरू कोही छ, जसको भौतिक शरीर छैन तर त्यो हाम्रो असली रूप हो। तिब्बती लामा गुरुहरू यसलाई ‘दिव्य स्वरूप’ भन्छन्। यो कसरी हुन सक्छ कि एउटा भौतिक वस्तु, जसलाई महसुस गर्न सकिन्छ, हेर्न सकिन्छ ‘असत्य’ हुन्छ र कुनै अदृश्य वस्तु, जसलाई हेर्न र देखाउन सकिँदैन, त्यो ‘सत्य’ ? हाम्रो भौतिक अस्तित्वमा अवास्तविक के हो ?
भूतकालका सिद्धान्तवादीले अनेक मनोरञ्जक उदाहरण दिएका छन्। यसबाट मानव मस्तिष्कका बारेमा केही मात्रामा थाहा पाइन्छ। तर आफ्नोबारेमा अर्थात् शरीरको बारेमा केही भन्दैनन्। कुरा मनोरञ्जक छ।
इसापूर्व ६२४–५२६ मा थेल्स नै भने कि प्रत्येक वस्तु, हामी पनि पानीले निर्मित हौँ। इसापूर्व ५८५–५२८ मा एनाक्सिमेनसले अकाट्य रूपबाट भने कि प्रत्येक वस्तु र हामी पानीले होइन, हावाले बनेका हौँ। इसापूर्व ६१०–५४६ मा एनाक्सिमेन्डरले भने- कुनै यस्तो मौलिक वस्तु होला, जसबाट हामी सबै निर्मित भएको हो र अन्तमा त्यसैमा विलीन हुन्छौँ।
इसापूर्व ५७१–४९६ मा पाइथागोरसले भने– प्रत्येक वस्तुको गणितीय आधार हुन्छ। १ जोड २ जोड ३ जोड ४ बराबर १०। १ बराबर पृथ्वी, २ बराबर आकाश, ३ बराबर अन्तरिक्ष, ४ बराबर अन्य सबै पदार्थ। यस प्रकार १० को जोड बनेपछि सृष्टि बन्यो।
इसापूर्व ५०० मा हेराक्लिटसले भने– सबै वस्तु परिवर्तित हुन्छन्। इसापूर्व ४९०–४३० मा जेनोले अन्तरिक्ष र समयको बारेमा विरोधाभाषी सिद्धान्तको सिर्जना गरे। उनले भने– पृथ्वी, वायु, अग्नि र जनले यो संसार निर्मित भएको हो। उनले स्वयंलाई ज्वालामुखीमा आफूलाई होमे।
धेरैले यो विश्वास गर्छन् कि हामी जे खान्छौँ, त्यही बन्छौँ। यो सिद्धान्त इपू ५००–४२८ मा एनाक्सागोरसद्वारा प्रतिपादित भएको थियो। प्लेटोले भने कि हामी सबै ज्ञानको पूर्वनियोजित कार्यक्रमको अन्तर्गत उत्पन्न हुन्छौँ। आधुनिक वैज्ञानिक यसलाई डिएनएको रूपमा लिन्छन्।
‘कुनै वस्तुको क्षुद्रतम अंश, जसलाई अरू विभाजित गर्न सकिँदैन’को सिद्धान्तलाई इपू ४६०–३७० मा डेमोक्रिट्सले प्रतिपादन गरेका थिए। यो आधुनिक आणविक सिद्धान्तजस्तै हो। कुनै अणु एक एकाइ होइन, अपितु यसमा अनेक अंश हुन्छन्। इपू ४७०–३९९ मा सुकरातले भने– उनलाई केही थाहा छैन, आत्मा अमर हुन्छ। यसै अज्ञात आत्माको व्याख्या आजकल यो भनेर गरिन्छ, आत्मा नै जीव हो। उनका शिष्य प्लेटोले ‘छायाको गुफा’को कथा भने, अर्थात् ‘अन्धकारको सिद्धान्त’ तथा ‘अज्ञात मन’। यो दार्शनिक बहसको मुद्दा भयो। के उनले ‘ब्ल्याक होल’का बारेमा संकेत दिएका थिए ?
आधुनिक बुद्धिमानहरू भन्छन्, ‘हामी जे देखिन्छौँ, त्यो होइनौँ।’ हामी के हौँ त ? अदृश्य छ, सुनिँदैन, अस्पृश्य छ, अघ्राणीय छ, चाख्न सकिँदैन, त्यस असत्य लाग्ने चिजलाई सत्य मानिन्छ ? मनुष्य, जो यस ब्रह्माण्डको ‘सबभन्दा बुद्धिमान प्राणी’ भनिन्छ, किन यति भ्रमित छ ?
किनभने हामी आफैँ सिद्धान्त बनाउँछौँ र त्यसको वरिपरि मात्र सोच्छौँ, त्यसको बाहिर सोच्दैनौँ। आफ्नो तर्कलाई मात्र आफ्नो मान्य सिद्धान्तभित्र सीमित राख्नु भनेको अधुरो वैज्ञानिक सोच हो। आफ्नो तर्कलाई आफूसम्म मात्र सीमित राख्नाले यस्तो भएको हो। हाम्रो अभ्यास के छ भने सांसारिक, ब्रह्माण्डीय तथा यस सिद्धान्तको अन्य आयामिक सम्बन्ध अर्थात् यसको वरिपरिका बारेमा सोच्दैनौँ। प्रत्येक सिद्धान्तलाई ‘यस्तो पनि हुन सम्भव छ’ भनी विश्लेषण गर्नुपर्छ, त्यो हाम्रो ‘कल्पनाबाहिर’को किन नलागोस्। इपू ४९०–४२० मा प्रोटागोरसले यस झूटको अध्ययन गरेर भने, ‘मानव सबै वस्तुको मापदण्ड’ हो। हाम्रो निष्कर्ष गलत हुन सक्छ। सुकरातले भनेका थिए, ‘प्रत्येक वस्तुको बारेमा प्रश्न गर।’ उनको यस कुरालाई सहन नसकेर शासकले उनलाई जहर खुवाएर मारे।
इपू ५६३ मा बुद्धले यी सबै कुरालाई अस्वीकार गरिदिए। उनको विचारमा मनुष्य एउटा ‘मिश्रित जीव’ जो आफ्नो शरीर, पाँच ज्ञानेन्द्रिय र व्यक्तित्व (नाम–रूप) ले निर्मित हो। दुइटा कुरा मात्र महत्वपूर्ण छन् - दुःख र सुख। उनले वृद्धावस्था, रोग, मृत्यु, निराशाको र ज्ञान प्राप्त गरेपछि प्रशन्नता वा सुखको अनुभव गरे। त्यस्तै, आत्मा, ईश्वर तथा त्यस समय प्रचलित धार्मिक रीतिरिवाजबारे ज्ञान प्राप्त गरे। उनको समयमा धर्म, जसलाई कर्मकाण्ड भनिन्थ्यो, अत्यन्त भ्रष्ट अवस्थामा थियो। अज्ञानी अनुयायीलाई ‘सनातन धर्म’ भनेर पालन गराइन्थ्यो। बुद्धले यी सबको विरोध गरेको हुनाले उनलाई परम्परावादीले ‘नास्तिक’ भने।
बुद्धले ‘अनन्त’ (अर्थात् आत्मारहित) सिद्धान्तको प्रतिपादन गरे। उनले जातक कथाहरूद्वारा मौखिक शिक्षा दिए, जसलाई उनको मृत्युको चार सय वर्षपछि लिपिबद्ध गरियो। उनका शिक्षाको तीन स्तम्भ अर्थात् मानवलाई प्रशन्नता प्राप्त गर्ने तीन मन्त्र हुन्- ‘बुद्धम् शरणं गच्छामि’, ‘संघम् शरणं गच्छामि’ र ‘धम्मम् शरणं गच्छामि’। अर्थात् यसको शाब्दिक अनुवाद यस्तो हुन्छ, ‘म ज्ञानको शरणमा जान चाहन्छु, म संघको शरणमा जान चाहन्छु, म कर्तव्यको शरणमा जान चाहन्छु।’ अर्थात्, ज्ञान प्राप्तिको कोसिस गर, जे तिमीसँग छ त्यसलाई बाँड र कर्तव्यनिष्ठ बन। उनको प्रयाणपछि सम्भवतः उनका शिष्य त्यस बेला प्रचलित विभिन्न धार्मिक नियम र सम्प्रदायको दबाबमा आए। प्रथमतः बुद्धलाई भगवानकाे अवतार भनियो। बुद्धले प्रदान गरेका उपदेशलाई धर्म भनियो। संघम् अन्तर्गत मठ, विहार आदि निर्मित भए। अन्य प्रचलित धर्ममा जस्तै मठाधीश अर्थात् लामाले व्यक्तिगत सम्प्रभुताका लागि प्रयत्न गरे। (जनताले अनुशरण गर्न थालेपछि यो विभिन्न मतमा विभाजित भयो, जस्तो कि महायान, बज्रयान र हीनयान। यिनै विभिन्न रूपमा एसियाका विभिन्न भागमा फैलिए।)
लगभग ४००० वर्षपूर्व हामी आफूलाई आर्यहरूको अति प्राचीन समाजतिर लैजान सक्छौँ। त्यसबेला समाजको विकास तथा ऋषि मुनिको सोचको विषयमा ऋग्वेदमा विशद वर्णन छ।
उनीहरूले ‘आफूलाई चिन’ भन्ने सिद्धान्तको प्रतिपादन गरेनन्। सात महर्षि, जसलाई ‘सप्तर्षि’ भनिन्छ, उनीहरूले समाजको अवधारणाको स्थापना गरे। उनीहरूले ‘पुरुष’को अस्तित्वको कुरा गरे, जो (ऋग्वेद, १८–९०) नौ ग्रहसहित ब्रह्माण्डका स्रोत थिए, यी प्रत्येकमा सबै प्रकारको जीवन चिह्न र आन्तरिक पदार्थ थिए। उनीहरूले स्वीकार गर– प्रत्येक वस्तुभित्र सूक्ष्म रचनात्मक स्रोत सूक्ष्म रूपमा विद्यमान हुन्छ, जसलाई ‘आत्मा’ भनिन्छ।
उनीहरूले यो पनि स्वीकार गरे– ‘जीव’ दुइटा अंशमा रहन्छन्, एक भौतिक र एक अभौतिक। एकको बिना अर्काको अस्तित्व रहन सक्तैन। यस धारणाप्रति आफ्नो सोचलाई बल दिनका लागि हामी मस्तिष्क र बुद्धिलाई लिन सक्छौँ। मस्तिष्क भौतिक पदार्थ हो, तर बुद्धि होइन। यी दुवैलाई साथ नराखे दुवैको अस्तित्व समाप्त हुन्छ र दुवै अर्थहीन भइहाल्छन्।
आर्यहरूले समाजको विकासका लागि चारवटा विशिष्ट आवश्यकताको पहिचान गरे। उनीहरूले एक ज्ञानी मानव मनुलाई ‘राज्यपाल’का रूपमा नियुक्त गरे। त्यसबेला धर्मको कुनै नाम थिएन, आफ्नो कर्तव्यपालनलाई नै ‘धर्म’ मान्थे। त्यसबेला कुनै मान्ने योग्य सर्वोच्च अथवा विशेष दैवी शक्ति थिएन, जसलाई अन्य धर्ममा ‘भगवान्’ भन्छन्। अग्नि (सबै प्रकारका ऊर्जाको स्रोत) लाई भगवान्को सबभन्दा नजिक मानिन्थ्यो। जस्तो कि ऋग्वेदको प्रथम मन्त्रमा उल्लेख छ। अग्निको पूजा सबै सामाजिक तथा व्यक्तिगत समारोहमा सर्वोच्च शक्तिलाई धन्यवाद दिनका लागि गरिन्थ्यो। समस्त सृष्टिकालमा अग्निको उपस्थिति रहन्थ्यो, त्यस सर्वोच्च शक्तिलाई विभिन्न नाउँले पुकारिन्थ्यो, जतिवटा सृष्टि त्यतिवटा नाम !
सुव्यवस्थित संगठन र प्रणालीले गर्दा समाज द्रूत गतिले विकसित भयो। समाजमा उच्च र सफल आर्थिक व्यवस्था र समग्र विकासको प्रमाण पाइन्छ। विकासका साथै व्यक्तिगत लोभ लालच र महत्वकांक्षा पनि बढ्दै गए, फलस्वरूप नेतृत्व शक्तिमा भ्रष्टाचार घृणित रूपले बढ्न लाग्यो। यसले आम जनतालाई नोक्सान भयो।
तैपनि आगामी केही शताब्दीमा ज्ञानी ऋषिले ‘जीवनको उद्देश्य’ पत्ता लगाए, जसलाई उनीहरू ‘कल्याण’ वा ‘आनन्द’को स्थिति भन्थे। उनीहरूले मनुष्यको भौतिक शरीर र अभौतिक (मानसिक) शरीरलाई जोड्ने तकनिक आविष्कार गरे, जसलाई ‘योग’ भनियो। योग अर्थात् मिश्रण। योग प्रणालीमा यो मानिन्छ कि हाम्रो अस्तित्व सात ‘चक्र’मै अवस्थित हुन्छ- तीन शारीरिक र चार अभौतिक- समय, संवेदना, मन र ज्ञान। यी सातैवटा असम्बद्ध तत्वलाई आपसमा मिलाउँदा एउटा शक्ति (जुन अन्तिम सत्य हो) उत्पन्न हुन्छ। ऋषि मुनिले यसलाई ब्रह्म’ भने। यस अवस्थालाई प्राप्त गर्ने ज्ञान केहीलाई मात्र प्राप्त थियो। यस्तो अवस्था प्राप्त गर्न अत्यन्त पवित्र अभ्यास र तालिमको आवश्यकता हुन्थ्यो। अधिकांश मानिसलाई यसको लाभ प्राप्त भएन। वर्तमान युगमा योग विद्यालय मात्र शारीरिक अभ्यास सिकाउ“छन्, जसलाई व्यायाम भनिन्छ। ‘हठ योग’को पनि अभ्यास गराइन्छ, जसमा शरीरलाई स्व–यातना आवश्यक पर्छ।
इसापूर्व सातौँ शताब्दीमा तिनीहरू एक भए, जसलाई योगको सच्चा ज्ञान थियो, जसलाई अधकल्चो ज्ञान थियो। आम जनतालाई आकृष्ट गर्न ‘आफूलाई चिन’को मन्त्र महत्वपूर्ण भयो। यो उक्ति उनीहरूलाई बढी चरितार्थ हुन्थ्यो, जसलाई कुनै ठोस ज्ञान हुँदैनथ्यो। उनीहरू भन्न लागे– ब्राह्मण (पुरोहितहरू), ऋषि, दार्शनिकलाई मात्र सत्यको ज्ञान हुन्छ। अतः उनीहरूको उपदेशको अनुशरण गर्नुपर्छ। ब्राह्मणलाई पनि आफ्नो अस्तित्व रक्षाका लागि र आफ्नो प्रभुत्व कायम राख्न राजाको छत्रछायामा जानुपर्यो। बडो चातुर्यपूर्ण ढंगले राजाहरूलाई भनियो– उनीहरूलाई दैवी अधिकार प्राप्त छ र उनीहरू विष्णुका अवतार हुन्। यस प्रकार राजा र पुरोहितबीच प्रजा पेलिएर लालच, धोकाबाजी र अन्यायको दलदलमा फस्न लागे। आमहत्या र अशान्तिलाई उचित मान्न लागे।
यसै बेला वैदिक मन्त्रहरूस“गै उपनिषद्हरूको पनि विकास हुन लाग्यो। स्थापित प्रणालीविरुद्ध विद्रोह पनि फैलिन लाग्यो। ईश्वर, आत्मा र ब्रह्मसम्बन्धी सिद्धान्तहरूको विषयमा बहस प्रारम्भ भए। ‘आफूलाई चिन’ अब पहिलेभन्दा धेरै प्रासंगिक र सम्मानित भयो। ‘आत्मा’ नै असली मानव भयो। यही ‘आत्मा’ गीतामा तीन श्लोकमा वर्णित मानवको सच्चास्वरूप हो भन्ने वर्णन छ।
‘महाभारत’ युद्धअगाडि श्रीकृष्णले अर्जुनलाई ‘आत्मा’ को व्याख्या गर्दै भन्छन्, ‘यसलाई न शस्त्रले काट्न सक्छ, न अग्निले पोल्न सक्छ, न जलले गलाउन सक्छ, न वायुले सुकाउन सक्छ। यसलाई प्रकट गर्न सकिँदैन, नष्ट गर्न सकिँदैन, यो अपरिवर्तनीय हुन्छ, तसर्थ तिमीले आफ्ना परिवारजनको मृत्युमा शोक नगर।’त्यसैले यस अवस्थालाई ब्रह्मभन्दा एक पाइला मात्र टाढा मानियो। ब्रह्माण्डको अन्तिम सत्य, अन्तिम स्रोत। जसले यस स्थितिलाई प्राप्त गर्छ, त्यसले स्वयंलाई ‘शवोऽहम्’ अर्थात् ‘म नै ब्रह्म हुँ भन्न सक्छ।
केही शताब्दीपछि बुद्ध प्रकट भए। उनले सफलतापूर्वक प्रचलित, संगठित धर्म, ब्रह्म तथा ईश्वर र धार्मिक संस्कारको खण्डन गरे।
पाँच शताब्दीपछि जिससले फेरि मनुष्य (आत्मा वा ईश्वरपुत्र), पिता (ब्रह्म वा ईश्वर) तथा ‘पवित्र आत्मा’को सन्देश दिए। उनका अनुसार यही तीन नै विश्वका आवश्यक तत्व हुन्।
सन् ६०० मा मोहम्मद साहबले मात्र दुई अस्तित्व ‘मानव’ र ‘अल्लाह’को सिद्धान्त दिए। ‘मानवता’को यो तेस्रो आयाम थियो।
‘आफूलाई चिन’ दर्शनको अझै ठीकस“ग व्याख्या गर्न सकिएको छैन। यसलाई अब ‘आन्तरिक चेतना’सँग जोड्न थालिएको छ। यो स्वयं स्पष्ट छैन। ‘आनन्दमार्गी’हरू एक शताब्दीदेखि हरेक वस्तुमा ‘आत्मचेतना’ देख्न लागेका छन्। वास्तवमा यो कुनै नयाँ सिद्धान्त होइन, ‘श्वेतस्वरा’ उपनिषद्मा यसलाई ‘ब्रह्मचेतना’को रूपमा बताइएको छ। ‘सर्वोच्च चेतना’ वा ‘ब्रह्मचेतना’को सिद्धान्त कैयौँ शताब्दीदेखि प्रचलित छ। यसबारे ऋग्वेदमा उल्लिखित ‘पुरुष’ तथा तन्त्रको ‘शक्ति’, तथा ‘विशाल विस्फोट’ (बिग ब्याङ) सम्बन्धी कथा विश्वभरि व्याप्त छ। ‘चेतना’का बारेमा असंख्य शोध गरिएको छ। तर, यसको व्याख्या गर्न सकिएको छैन - यो के हो ? अनि हामी कसरी यसमा विशेषण जोड्न सक्छौँ ? अर्थात् ‘सर्वोच्च चेतना’ आदि।
एपिजे अब्दुल कलामको भनाइअनुसार हाम्रो चेतना ऊध्र्वगामी हुन्छ। जब हामी चेतनाको चौथो स्तरमा पुग्छौँ, जसलाई ‘ब्रह्म चैतन्य’ भन्छन्। चेतनाको प्रथम तीन स्तरमा सरीसृप, वानर र मानव चैतन्य हुन्छन्।
मिचिको काकू र प्रोफेसर वुड (१९१४) ले पतञ्जलीको योगसूत्रको अनुवाद गर्दा के पाए भने ‘चेतनाको धाराको ज्ञान असम्भव छ, यो स्थायी प्रकारको छैन।’
जब चतुर गुरुहरूले यो चाल पाए, स्थापित र परम्परावादी धर्महरूले मानव जातिलाई राम्ररी र ठीकसँग ज्ञान दिएनन्, उनीहरूले ‘आन्तरिक विश्वासको आन्दोलन’ प्रारम्भ गरिदिए। जुन सिकागोमा सन् १८१३ मा आयोजित प्रथम धर्म सम्मेलनमा मुखरित भयो। परम्परागत धर्मको स्थानमा ‘मानव धर्म’ र ‘मानवता’को शिक्षा दिन लागियो। धर्मलाई अध्यात्मबाट अलग गरियो। जुन राम्रै कुरा थियो।
‘ईश्वरीय अणु’, ‘हिग्स बोसोन’को आविष्कार, अणु विभाजन र अणु सम्मिश्रणको अध्ययन गम्भीर वादविवादको विषय बन्यो। उप अणुकण शक्तिको लहर हुन् वा पदार्थ ? वैज्ञानिकले अणुकणलाई विभिन्न अणुखण्ड (इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन)मा विभाजित गरिदिए। उनीहरू विश्वास गर्छन्– बोसोन टा“सिने लस्सादार पदार्थ हो। अणु खण्डलाई अणुकणहरू फोटोन, ग्रामिटोन र ग्लुकोणमा विभाजित गरे। वैज्ञानिकहरू विश्वास गर्छन्– बोसोनले पदार्थलाई आपसमा जोड्छन्। यस वेभ/पदार्थको द्वैधतालाई ‘क्वान्टम सिद्धान्त’का भौतिकशास्त्रीद्वारा आविष्कृत गरिएको हो।
हामी पदार्थबाट निर्मित हौँ र पदार्थ शक्ति लहरद्वारा बनेको हो भने के हामी पनि विशेष प्रकारका शक्ति हौँ ? अनश्वर आत्मा ? आधुनिक वैज्ञानिक ज्ञान (जार्गन) अनुसार के हामी एउटा परिष्कृत र अतिविकसित ‘होलोग्राम’ हौँ ?
के प्राचीन वैदिक दार्शनिक ऋषिलाई पहिले नै यो तथ्य थाहा थियो, जब उनीहरूले यो विश्वास दिलाउन कोसिस गरे कि यो मिथ्या हो, अर्थात् असत्य हो र यो सब माया हो, एउटा भ्रम!
स्वामी प्रभुपादले भनेका छन्, ‘वैदिक ज्ञानको लक्ष्य यस भ्रमलाई नष्ट गर्नका लागि हो र भ्रमबाट मुक्ति दिने प्रयास हो।’ तब नयाँ के हो ?
अब अन्तिम प्रश्न आउ“छ— यदि हामी असली होइनौँ भने हाम्रो मस्तिष्क के सत्य हुन सक्छ ? हामी आफूलाई कसरी चिन्न सक्छौँ ?
(व्यवसायले चिकित्सक डा. गौतम संस्कृत वैदिक साहित्यका अध्येता हुन्। स्कटल्यान्ड निवासी उनले ऋग्वेदको अंग्रेजी भाषामा अनुवाद गरेका छन्। यसको प्रकाशन ‘भारती विद्या भवन’ मुम्बईबाट भएको छ। प्रस्तुत निबन्ध उनको अंग्रेजी पुस्तक, जसमा धर्म, अन्धविश्वास, रूढीवादी परम्परा आदिको विषयमा लेखिएको छ, बाट लिइएको हो, (अनुवाद : दुर्गाप्रसाद श्रेष्ठ)। उनले आफ्ना पितामह कुलचन्द्र गौतमको स्मृतिमा त्रिभुवन विश्वविद्यालयमा ‘कुलचन्द्र गौतम स्मृति सदन’ तथा ‘प्राचीन संस्कृत साहित्य केन्द्र’को स्थापना गरेका छन्।)
प्रकाशित: ९ श्रावण २०७८ ०५:०५ शनिबार